२०६२ र ०६३ सालको आन्दोलनपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा नेपालले वैशाख ११ गते १९औँ लोकतन्त्र दिवस मनाइरहँदा हकिकतै लोकतन्त्रको गरिमा र त्यसप्रतिको विश्वासमा प्रश्न चिह्न खडा भएको पो हो कि भन्ने लाग्न थालेको त छैन ?
के साँच्चीकै लोकतन्त्रप्रतिको विश्वास र आस्था अझै उस्तै छ त ? लोकतन्त्रका नेतृत्वहरुले यसको महिमा कायम राख्न सके या अब फेरि अर्को विकल्पको अपेक्षा आजित भएर जनताहरूले गर्न थालिसकेका छन् त ?
वर्ष २०८२ सालको लोकतन्त्र दिवसमा यस्ता अनेक प्रश्नहरू उब्जी सकेको अवस्था छ ।
यस प्रश्न आज हामी सबैलाई राख्दै यस दिन बिशेष आलेख सुरु गर्न चाहे ।
राता झन्डा र परिवर्तनको नारा लागेको वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रूपमा स्मरण गर्छन् । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्त्वपूर्ण भूमिका रहेको छ । जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा आज १&औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
लोकतन्त्र भनेको के हो ?
जनताको प्रत्यक्ष शासन हुने व्यवस्थालाई नै लोकतन्त्र भनिन्छ । लोकतन्त्रमा जनतामा नै शक्ति केन्द्रित हुन्छ । जनताले छानेका नेतृत्वले नै शासन गर्ने गर्दछन् ।
नेपालमा लोकतन्त्र दिवसको पृष्ठभूमि
राजसंस्थाको पारिवारिक र जहानियाँ प्रत्यक्ष शासन अन्त्य र लोकतान्त्रिक गणतन्त्रको संस्थागत भएको दिन देशभर भव्यताका साथ मनाइँदै छ । २०६२ र ६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन पश्चात् वैशाख ११ गते निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो । त्यति बेला सशस्त्र युद्धरत तत्कालीन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरू बिच सम्पन्न १२ बुँदे सहमति पश्चात् १९ दिने ऐतिहासिक जनआन्दोलन भएको थियो ।
२०६३ जेठ ४ गते बसेको पुनः स्थापित संसद् बैठकले राजदरबार को अधिकार कटौती गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गर्यो । २०६३ मङ्सिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आयो ।
यसैको आधारमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत् अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गरेको थियो ।
जनआन्दोलनको सफलतासँगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो । आजैका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद् पुनः स्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भनी शासन सत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यही वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो ।
नेपालको पहिलो लोकतान्त्रिक संविधान
६२ अनि ६३ को आन्दोलनलाई नेपाली राजनीतिकै नयाँ मोड र अत्यन्त महत्त्वपूर्ण घडीका रूपमा लिइन्छ । देशलाई समृद्धिको बाटोमा हिँडाउन संविधानसभाको यात्रा यही आन्दोलनबाट सुरु भएको थियो । यसको फलस्वरूप सबै नेपालीको आकाङ्क्षा पूरा गर्न २०७२ असोज ३ गते "नेपालको संविधान(२०७२)" जारी हुन सफल भयो ।
प्रमुख सात राजनीतिक दलको शान्तिपूर्ण सडक सङ्घर्ष र तत्कालीन माओवादीको सशस्त्र सङ्घर्ष र बलिदानको कारणले नेपालका झन्डै २५० वर्षदेखि शासन गर्दै आएको राजतन्त्र अन्त्य भयो । शासन व्यवस्थाको परिवर्तन सँगै तत्कालीन राजा ज्ञानेन्द्र नागरिकको रूपमा रहन तयार भए
नेपाली जनताले आफ्नो राष्ट्रप्रमुख आफैँ छान्न पाउने गणतान्त्रिक व्यवस्था अवलम्बन गरेका छन् । दोस्रो जनआन्दोलनले सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता नेपालको मौलिक विशेषतासहितको प्रणालीलाई स्थापित गरेको छ ।
राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको छ । पिछडिएका र सिमात्तकृत वर्ग, क्षेत्र, तह तथा तप्कालाई राज्यको मूल प्रवाहमा ल्याउने कसरत जारी छ ।
जनआन्दोलनको म्यान्डेट अनुरूप नै सङ्घीय शासन प्रणाली आत्मसात् गरिएको छ । सात प्रदेश र अधिकार सम्पन्न ७५३ स्थानीय तहमार्फत जनताले गाउँमै सिंहदरबारबाट पाउने सेवा तथा सुविधा पाएका छन् । नयाँ प्रणाली अवलम्बन गर्दा आएका असजिला र कमजोरीलाई क्रमशः सुधार गरेर लैजाने दिशामा सरकार लागिपरेको छ ।
के नेपालमा हामी मध्य जो कोहीले पनि राष्ट्रपति हुने सम्भावना बोकेका छौँ ?
वर्षौसम्म राजसंस्था पद्धतिमा देशको मुख्य शासक राजा रहने व्यवस्था थियो । ४६ सालपछि संवैधानिक राजतन्त्रको स्थापना भएता पनि राजसंस्थाको वर्चस्व विभिन्न प्रकारमा शासन पद्धतिमा रहिनै रहेको थियो । देशको शासन पद्धतिमा मुख्य पदमा रहनकालागी राज परिवारमै जन्मिन पर्ने क्रमको अन्त्य गर्दै आज स्वतन्त्र लोकतान्त्रिक नेपालमा हामी मध्य जो कोहीले पनि राष्ट्रपति हुने सम्भावना बोकेका छौ । आजको मितिमा सङ्घीय गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपति, नेपाली जनताकै छोरी महामहिम राष्ट्रपति पदासीन हुनुहुन्छ । आजको दिन महामहिम राष्ट्रपतीले राष्ट्र र राष्ट्रवासीको नाममा सन्देश दिने चलन छ ।
नेपालमा लोकतन्त्र दिवस कसरी मनाइन्छ ?
नेपालमा लोकतन्त्र दिवसको अवसरमा चोक चौताराहरूमा दीप प्रज्वलन, नगर तथा टोल सरसफाइ, प्रभात फेरी र प्रवचन, जनआन्दोलनका शहीदहरूको सम्झना र घाइते तथा उनीहरूका परिवारलाई सम्मान गरिँदै आएको छ । आज मानवअधिकार र लोकतन्त्रका पक्षमा क्रियाशील दर्जनौँ सङ्घसंस्थाहरूले खबरदारी सभाहरू आयोजना गर्ने गरेका छन् । उनीहरूले ऐतिहासिक आन्दोलन पश्चात् गठन भएको संविधानसभाले जारी गरेको नेपालको संविधान(२०७२) को प्रभावकारी कार्यान्वयनका लागि सरकार समक्ष माग गर्ने गरेका छन् ।
यस दिवसको अर्थपूर्ण शुभकामना ।
वरुथिनी एकादशी व्रत
शाख कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ । शास्त्रअनुसार भूमि दान, हात्ती, घोडा दानलाई सबैभन्दा उत्तम दान मानिन्छ । यी दानहरू भन्दा पनि तिल दानलाई अझ महत्त्वपूर्ण मानिन्छ भने तिल दान भन्दा पनि सुन दानलाई महत्त्व दिइन्छ ।
श्री कृष्णको शब्दमा
युधिष्ठिरले श्रीकृष्णजीलाई वैशाख कृष्ण पक्षमा पर्ने एकादशीकोको महिमा बताउन अनुरोध गर्दा भगवान् श्री कृष्णको शब्दमा आएको उत्तर जस्ताको तस्तै यहाँ राख्न चाहेँ ।
यस लोकमा र परलोकमा पनि सुख(सौभाग्य दिने वरूथिनी एकादशी वैशाख कृष्ण पक्षमा हुन्छ । वरूथिनी एकादशीको व्रतको प्रभावले सर्वता वर्तीलाई सुख शान्ति हुने मात्र नभई समस्त पापको नाश भई नाना प्रकारको सौभाग्यको प्राप्त हुन्छ । विधवा स्त्रीले पनि वरूथिनी एकादशीको व्रत बस्नाले सुख शान्ति पाएर भाग्यमानी हुन्छिन् ।यस एकादशीको व्रत लिनाले मनुष्यहरूको सारा पापलाई नाश गरिदिन्छ र गर्भवासीको दुःखलाई छुटाई दिन्छ ।
सुन दान भन्दा अन्न दान र अन्न दान र कन्यादान भन्दा पनि अझ विशेष महत्त्व बोकेको यो वैशाख कृष्ण पक्षको एकादशी हो । वरुथिनी एकादशीको महत्त्व धेरै व्यापक हुने कथन छ । वरुथिनी एकादशीको महिमा स्वयं भगवान् श्री कृष्णले युधिष्ठिरको जिज्ञासा सुनेपछि बताउनु भएको हो ।
कुरुक्षेत्रमा सूर्य ग्रहणको बेला सुवर्ण दान गर्दा कमाउने पुण्य बराबर वरुथिनी एकादशीको व्रत बस्नाले कमाइन्छ भन्ने धार्मिक मान्यता छ ।
यस एकादशीको व्रत बस्न अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नुपर्छ भन्ने मान्यता छ । दशमीकै दिन काँसको थालमा एक पटक मात्र भोजन गर्नुपर्छ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नुपर्छ ।
एउटा विदेशी स्वास्थ्य केन्द्रको अध्ययन अनुसार समय–समयमा व्रत बस्नाले स्वास्थ्य राम्रो हुने र आध्यात्मिक शुद्धिसम्म हुने पुष्टि भएको छ । सनातन धर्म र रीतिहरू यस हिसाबले कति वैज्ञानिक छन् भन्ने पुष्टि पनि गर्छ । एकादशी व्रतमा खानाको मात्र नियन्त्रण हैन । नकारात्मक सोच र तनावको पनि नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी बताइन्छ ।
यसरी वरुथिनी एकादशीको व्रत लिएमा पुण्य प्राप्त हुने र मृत्युपछि सिँधै वैकुण्ठ लोक जान पाउने धार्मिक विश्वास छ ।
विश्व खोप सप्ताह
विश्व खोप सप्ताह
हरेक वर्ष, अप्रिल महिनाको अन्तिम हप्ता लाई विश्व खोप सप्ताहको विश्वव्यापीकरण खोप समुदायले मनाउने गर्दछ । खोपहरूको जीवन बचाउने शक्ति लाई उजागर गर्दै वर्ष २०२५ मा खोप समुदाय र विश्वव्यापी स्वास्थ्य सेवा प्रदायकहरूले विश्व स्वास्थ्य सङ्गठनको खोप प्रवर्धनको ५१औं वार्षिकोत्सवलाई पनि मनाउने छन् ।
सबै उमेरका मानिसहरूलाई रोगबाट जोगाउन भ्याक्सिनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य सँगै खोपको महत्त्व र आवश्यकतालाई आज विशेष चर्चा गरिन्छ । विश्व खोप सप्ताहको अन्तिम लक्ष्य भनेको धेरै मानिसहरू र तिनीहरूका समुदायहरूलाई खोपबाट रोक्न सकिने रोगहरूबाट सुरक्षित राख्नु हो।
वर्ष २०२५ को विश्व खोप सप्ताह २४ देखि ३० अप्रिलसम्म विश्वभरि विभिन्न कार्यक्रमहरू गरेर मनाइन्छ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: