विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते
हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन्। भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ। यिनै भगवान गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पुजा आराधना गरेर मनाइने चलन रहेको छ। मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आजकै शुभ दिन बाट व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ।
भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन्, आजको दिन श्रद्धा पुर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान प्रशन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता रहेको छ। यदि यहाँहरुलाई पनि कुनै नयाँ कार्यको श्री गणेश गर्नुपर्नेछ भने आजको दिन अति शुभ मानिन्छ। विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक विशेष आजको दिन सबैको मङ्गलमय होस्।
मंगल चौथी पूजा विध
- ज्यो पं नारायणप्रसाद दुलाल
विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्धिताय
नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते
विघ्नेश्वर, वर दिनेवाला, देवताहरूकोपनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तिको समान मुख वाला र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ, हे गणनाथ , हजुरलाई नमस्कार छ
किलौ चण्डी विनायकौु उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पुज्य छन् अतस् माता दुर्गाभवानी र विघ्नहर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्नहर्ता गणेशजी भगवानलाई खुशी पार्नसके धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको प्राप्तिहुनेकुरा गणेश पुराणमा वर्णन गरिएकोछ । मंगलवारको दिन चौथी तिथी परो भने गणेशजीलाई प्रसन्न पार्न मंगलचौथी पर्व मनाइनुका साथै गणेशजीको पूजा, आराधना, ब्रत प्रारम्भ सहित उद्यापन यस दिन गर्ने गरिन्छ ।
जसले यसदिन ऋद्धि सिद्धि सहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आरधना गर्दछ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभफल र ममानसिक शान्ति पाउने र सबै प्रकारका दुख(कष्ट र विघ्नबाधाआदि सबै प्रकारका दुख हराउने हुनाले यसदिन बिहान नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ जसमध्ये धान, चामल, जऊ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अविर, केशरी, सिन्दुर, रातो अक्षता, शौभाग्य, शृङ्गार, नरिवल, फलफूल, पकवान्न, धूप, बत्ति, कपुर, रातोफूल, माला, लड्डु, दुबोआदि सरजाम तयार गरेर पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसी दिप प्रज्वलन गरी दियोको आवाहन गरेर त्यसपछि दाहिने हातमा जौ, तिल, पानि, फूल, कुश या दुबो र द्रब्यसहित लिएर संकल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धु बान्धबहरूको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले संकल्प लिनु पर्दछ । संकल्प पश्चात् अर्घ स्थापनागरी विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गं गणपतये नमस् भन्दै सबै उपचारले पूजा गरिसके पछि धुप, दिप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहनगरी कलशभित्र पञ्चरत्न। पञ्चपल्लव, सर्वोषधिआदि राखेर कलशमाथी पूर्णपात्र राख्ने र पूर्णपात्रमाथी नरिवल, सुपाडी वा सिन्गोफल राखेर सबै उपचारले पूजागर्दै धुप, दिप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ । पुनस् बिचमा गणेशजीको प्रतिमा वा मुर्ति राख्ने र गणेशजीको विशेष पूजनकोलागि हातमा रातोफूल रातो अक्षतालिएर ध्यान गर्दै
सकिन्छ भने यो मात्र पढेर ध्यान गर्ने
वक्रतुंड महाकाय कोटिसूर्यसमप्रभस् ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।
यो मात्र सहित गणेशजीलाई रातो फूल अक्षता सहितले आवाहनगर्ने र कुशको आसन राखिदिने, ॐ गं गणपतये नम : भन्दै पाद्य, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई गणेशजीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले जनै, चन्दन, टिका, रोली, सिन्दुर, अक्षता, वस्त्रआदि चढाउनु पर्दछ तत्पश्चात जौ, तिल, फूल, माला, दुबो, बेलपत्र सहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै गणेशजीलाई ॐ गं गणपतये नमस् भन्दै अङ्ग पूजनगरि धूप, दिप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिवल, द्रव्यदक्षिणा अर्पणगरि रातो फूल हातमालिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । तत्पश्चात् सम्पूर्ण उपस्थित भक्तहरुले गणेशजीको निराजन आरति सङ्ख, घण्ट सहित श्रद्धा एवं भक्तिले गर्नुपर्दछ पुनस् पुष्पाञ्जली गरेर आरतिलाई सितलगरि सबैजनाले आरतिलिनु पर्दछ र आफ्नो मनोकामना पूर्णहोस् भनि विघ्नेश्वर गणेशजीलाई साष्टाङ्ग प्रणामगरि आशिर्वाद लिई प्रसाद ग्रहण गर्नु पर्दछ । यसरी श्रद्धा र भक्तिले गरिएको पूजाबाट गणेशजी प्रसन्नभई भक्तहरूको मनोकामना अवस्यनै पुरा गर्नुहुनेछ । अस्तु ।।
विश्व पानी दिवसजल, पाईन, वाटर, नामपाओ, यी, येँ, कि, अयर लगायत यस्का धेरै नाम छन्, वैज्ञानिकले भने रसायन पद्धतिमा यसको कथन गरेका छन् H2O भनेर । आकाश वाट झर्छ बादलमार्फत, खोला खहरा मा बग्छ, मूलबाट निस्कन्छ, हिँउवाट पग्लिन्छ, पत्थरको कन्दराबाट रसाउँछ, कल अर्थात् हातेपम्पवाट निस्कन्छ, पोखरी अनि कुँवाहरुमा बसिदिन्छ अनि बगिदिन्छ अनि पानी घट्टमा सुसाउँछ, यो हो पानी । पृथ्वीको अधिकांश सतह यसैले बनेको छ, रुख विरुवा, बालीनाली, परेवा देखि अमिवासम्म अनि स्याउ देखि लेउसम्म यसैले बचाएको छ ।
पानी छैन त जिन्दगानी छैन, यस अद्भुत अनि जिवन पर्याय पानीको मानव जीवनसँगको अटुट नातालाई आत्मसाथ गर्दै आज मार्च २२ तारिखका दिन विश्व समुदायले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय पानी दिवस मनाउँदै छ । सन् १९९३ देखि यस दिवसको क्रम सुरु भएको हो । विश्वका सबै महादेश अनि देशहरूमा सुरक्षित र स्वच्छ पिउने पानीको उपलब्धता गराउने उद्देश्यका साथ यस दिवसको रूपरेखा तयार पारिएको हो ।
सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र सङ्घको भेलाले यस दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको जल दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ मा प्रथम विश्व जल दिवस मनाइयो ।
गलो लाग्दा देखि हलो लाउँदासम्म अपरिहार्य पानी चाहिने मानव समुदायले पानीको संरक्षण देखि सुरक्षा सम्मकालागी के के गरेको छ भन्ने कुराको वृतान्त वाग्मती लगायत अन्य धेरै नदीहरु अनि तिनैका तटले दिँदै आएका छन् । नदीका बगेका पानीहरू हाम्रो फोहोर बोकेर कुद्नका लागी हैनन्, प्लास्टिकले बेरिएको अनि जेलिएको वाग्मती अनि विष्णुमतीका किनारले काठमाडौँलाई दशकौँ देखि यही प्रश्न तेर्साई रहेका छन् । मेची देखि महाकालीसम्म, कोसी देखि रोशी सम्म, बबई देखि तिनाउसम्म, बुढी खोला देखि बुढी गण्डकी सम्म, थाक खोला देखि त्रिशूलीसम्म, एक फेर हेरौँ , हामी कत्तिको सक्षम छौँ त ? पानी जोगाउन् ।
पानी र इन्धन निकट रुपमा अन्तरसम्बन्ध छ , पानीघट्ट देखि ठूलाठूला जलविद्युतसम्म पानीको शक्तिले चलायमान छन् । अर्को तर्फ संसारको कुल इन्धनको ८ प्रतिशत इन्धन खपत भने उपभोक्तासमक्ष शुद्ध पिउने पानीलाई पम्प गर्दै विभिन्न पाइप र नलका माध्यम वाट पूर्याउन लाग्ने रहेछ । २१सौँ शताब्दीको सँघार सम्म आई पुग्दा पनि शुद्ध पिउने पानीको समान वितरण संसारको लागी ठुलो चुनौती नै रहेको छ । संसारको दोस्रो जलश्रोतको धनी देश भनी नाम कहलिएको नेपाल अनि जलश्रोतसँगै लुटपुटिएर हुर्केका नेपालीहरू आफ्ना जलका सिर्काहरू प्रति कत्तिका वफादार हुन सकेका छौ, जनता देखि सदनसम्मले पछाडि फर्केर हेर्न पनि जरुरी छ ।
कुरा नदीनाला अनि खहरेको हुँदै गर्दा मौसम अनि वनको पनि आउँछ, आखिर जल अनि मौसमका पहरेदार श्रोत तत्व यिनै वन, जगंल, पहाड अनि पहरा त हुन् । घट्दो क्रमका जगंली भूभागहरू, काटिँदा रुख अनि प्लटीगं गर्दै धमाधम बिक्री गर्न तैयार जग्गाहरू भित्र गुम्सिएको प्रकृतिको चित्कार सुन्न पनि आवश्यक छ ।
आज बढ्दो सहरीकरणका कारण काठमाडौँ जहाँका धाराहरू त छन् तर पानी बिलाई सके, सुनधारामा पानी थापेर खाएका अनि नुहाएका पुस्ताहरूका कथाका सुनधारा जस्ता लाखौँ धाराहरू त छन् तर पानी कथामा मात्रै छ । घर, शपिगं मल, जग्गा, ठुला बाटाहरूका साथै पानीका श्रोत पनि विकास अनि संरक्षण गर्न जरुरी छ भन्ने कुराको सन्देश आजको दिनले सबैले दिन जरुरी छ । अर्कोतर्फ विश्वव्यापी रूपमा बढ्दो तापक्रम अर्थात् ग्लोबल वार्मिगंको असरले गर्दा पग्लिएका हिमाल अनि बढ्दो समुन्द्री सतहले पानी प्रतिको मानव संवेदनशीलताको माग गरेको छ ।
विभिन्न नदीनाला र तिनैका पानी प्रयोगका असमान र अव्यवहारिक सन्धि गरेको नेपालको विभिन्न कालखण्डका नेतृत्वले जल कूटनीतिको सिद्धान्त अनि मान्यतालाई आत्मसाथ गर्न जरुरी पनि छ । अबको संसार सुस्तरी पानीमा अड्केको छ, पानी नै अबको विश्वको आवश्यकता हो र समुन्द्रको नुनिलो पानीलाई शुद्धीकरण गर्दै प्रयोगमा ल्याउनको साटो नदीनालाका कलकलाउँदा पानीहरूको समुचित प्रयोग नै किफायती र प्रयोगात्मक रहेको कुरा विकसित देशहरूले बुझिसकेका छन् । नेपाली जलश्रोतहरुनै आउँदा पुस्ताको सम्पत्ति हुन् तर त्यसकालागि हामीले यसको भौतिक, राजनैतिक र जैविक संरक्षण गर्न जरुरी देखिन्छ ।
हिन्दु संस्कारमा पनि त पञ्चतत्वको रूपमा जलतत्वको अत्यन्त महत्त्वपूर्ण र अद्भुत प्रस्तुति रहेको छ । मेलम्चीको पानीको वृत्तान्त सुन्दासुन्दै दुई वटा पुस्ता सुइँकिसकेपछि नाति पुस्तामा मेलम्चीको नालाहरू राख्न गरिएको कसरतले उडेका धुलोका बादल र खाल्डाका गहिराई ले सफा पानीको सहज उपलब्धताको कठिनाइ व्याख्या गरेको छ । फोहोर र दूषित पानीले ल्याउने रोगहरूजस्तै जन्डिस, टाईफोईड, झाडापखाला आदीहरू त हामीले भोगेकै हौ ।
सबै जीवित प्राणीहरूको उत्पत्ति जल मा भएको भन्ने तथ्य निर्विवाद छ । अब त वैज्ञानिकहरूले यस ग्रहमा मात्र नभई अन्य ग्रहहरूमा पनि पानीको खोजी गर्न थालेका छन् । पानी बिना जीवन सम्भव छैन, यसर्थ पानी भएको ग्रहमा जीवनको सम्भावना खोजी गरिएको हो । हाम्रो आफ्नै ग्रहमा पनि हरेक संस्कृति र सभ्यता खोला किनारमा नै विकास भएको हो।
यसरी संस्कृति र सभ्यताको रक्षा गर्ने अनि जीवनलाई सार्थक तुल्याउने पानीको सहज र सुलभ उपलब्धता अनि यसको सुरक्षित र मितव्ययी प्रयोगका कुराहरू जल दिवसमा गरिन्छ ।
हाम्रा कुवा, पँधेरो, पोखरीहरू आदि धेरै पानीका मुहानहरू आज घना बस्तीहरूमा परिणत भइसकेका छन् । बढ्दो सहरीकरणले पानीको श्रोत र शुद्धता दुवै कुराहरूलाई चुनौती गरिरहेका छन् । आजका दिन यी कुराहरू र तथ्यहरूलाई विश्लेषण गरिन्छ । विश्वमा हुने रोगहरु मध्य सर्वाधिक धेरै रोग सफा पिउने पानी उपलब्ध नहुनाले भएको पाइन्छ ।
सन् २०२२ को विश्व पानीदिवसको नारा नै "Groundwater: making the invisible visible” भन्ने रहेको छ । जमिनमुनिको पानीको महत्त्वलाई आत्मसाथ गर्दै यस वर्ष जमिनमुनिको पानीको श्रोत र स्वच्छताको पैरवी गरिनेछ ।
आउँदा पुस्तालाई पानीको किफायती प्रयोग, महत्त्व अनि संरक्षणका पाठहरू सिकाउन जरुरी छ । खुल्ला छाडिएका धारा बन्द गर्नु, चुहावट रोक्नु, असंरक्षीत सिमसारहरूको सुरक्षा गर्नु, वृक्षारोपण गर्नु, भूसंरक्षण गर्नु अनि खोलानालाको सबर्धन गर्नु हाम्रो कर्तव्य हो ।
पर्यावरण, कृषि, स्वास्थ्य र शिक्षा सबैतर्फ जल संरक्षणका आवाजहरू आउन्, जल वाट हुने प्राकृतिक विपत्तिहरू जस्तै बाढी, पहिरो लगायत अन्य कुराहरू घट्दै जाउन् । पानी हाम्रो जीवन हो र शुद्ध पिउने पानी हाम्रो अधिकार र कर्तव्य दुवै ।
जानौँ, बुझौँ र सचेत रहौँ । पानी दिवसको मूल मर्म अनुरूप हाम्रो व्यवहार होस् ।
हाम्रो पात्रोका लागी सुयोग ढकाल
Liked by: