जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन संसार भर रहेका सनातनीहरुले उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा रक्षासूत्र बाँधी मनाइन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन अनि विचलित नहोऊ भनी रक्षा बन्धन बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलितनै छ ।
रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा छ ।शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी ब्राह्मण, क्षेत्री, वैश्यले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे समाप्तिको दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्त्र द्वारा अभिमन्मत्रीत गरि त्यसलाई धारण गर्ने प्रचलन छ ।
यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको आभूषण (गहना )हो । मर्यादा पुरूषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रहृमाजी, महाराजा जनक, माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा, माता रूक्मिणी, माता सरस्वती, देवी कुन्ति सतिसाध्वी द्रौपदी त्यसैगरि लंकापति राक्षस रावण आदि सबै हामिले मान्ने भगवानले पनि धारण गर्ने गरेको पाइन्छ ।
विशिष्ट अभिप्राय,मर्यादा र एक पावन सन्देश छ . यसमा तीन दण्ड अर्थात् तीन डोरा, नौ सूक्ष्म तन्तु र पांच शिखा वा गांठा हुन्छन् जसलाई पञ्चशिखा भनिन्छ । एउटा जनैमा तीन धागा – डोरा वा सूत्र हुन्छन् । हामी कहां तीन संख्याको ठूलो महत्व छ । ब्रह्मा, विष्णु र महेस्वरसत्व, रज र तम तीनगुण, पृथ्वी-अन्तरिक्ष र द्यूलोक गरी तीन लोक गार्हपत्य, आहवनीय र दक्षिण तीन अग्नि ईश्वर, जीवात्मा र प्रकृति आदि सत्ता पनि तीन छन् अतः जनैमा तीन डोरा हुनु सुसंगत छ ।जनै ब्रहृमचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहंदामात्र धारण गरिन्छ । चतुर्थ आश्रम संन्यास आश्रममा पुगेपछि यसलाई उतारेर विसर्जन गरिन्छ । यस अभिप्रायले पनि जनैमा तीन धागा अथवा सूत्र हुन्छन् ।जनैका तीन दण्ड (डोरा, सूत्र) ले मन, बचन र कर्मको एकताको शिक्षा दिन्छन् । जे मनमा छ त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ भन्ने मान्यता छ । जब मन, वचन र कर्म एक हुन जान्छन् मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो दुरात्मा बन्दछ ।
यस दिनमा विषेश गरी जलासयमा गएर विधि पुर्वक माटो, गोवर,कुस भष्म आदि लेपन गरेर स्नान गर्ने परम्परा रहेको छ स्नान पछि मन्त्रको यज्ञोपवित (जनै) धारण गरि ऋषिहरु लाइ तर्पण पनि दिने परम्परा रहेको छ।
तीन धागामा एक अर्को रहस्य पनि लुकेको छ यो संसार त्रिगुणात्मक छ सत्व, रज र तम तीन पोयाले समस्त प्राणी बांधिएका छन् । जनैका तीन धागाले यसैको स्मरण गराउंदछन् कि हामीले यस संसारबाट निस्कनु छ र मुक्त हुनु छ । सन्यासि रुप धारण गर्दा संसारबाट माया,मोह र ममता त्यागिन्छ । तर आज भोली रक्षा बन्धन ओझेलमा पार्ने काम नभएको भने हैन रक्षा बन्धन आजभोलि राखि बाध्ने दिनको रुपमा विकसित हुदैछ। हाम्रो संस्कार संस्कृति हाम्रो सम्पत्ति हो । यसको संरक्षण गर्नु सम्पूर्ण सनातनी हरुको दायित्व हो । जनै पूर्णिमा अर्थात रक्षा बन्धन ओझेलमा परे हाम्रो संस्कृति मासिदै जानेछ । तसर्थ मौलिकता बाट विचलित नभई आफ्नै परम्परा अनुसार चार्ड पर्व मनाउनु हाम्रो दाइत्व हो।
-ज्यो. मुकुन्द नेपाल
Liked by: