खगोलमा रहेका ग्रह, तारा र नक्षत्र आदिले सम्पूर्ण ब्रह्माण्डमा नै पञ्चतत्त्व (पृथ्वी (Matter), जल (Force), तेज (Energy), वायु (Quark) र आकाश (Space)हरूको ऊर्जा रहेको हुन्छ । आआफ्नो गुण र विशेषताले गर्दा पञ्चतत्त्वहरूकै माध्यमबाट हाम्रो शरीरले ग्रह तथा नक्षत्रहरूको ऊर्जा ग्रहण गरिरहेका हुन्छौं, तिनै ग्रह तथा नक्षत्रहरूको नकारात्मक ऊर्जा (positive energy) या फललाई हामीले वैदिक विधि अनुसार नकारात्मक ऊर्जा (negativity energy)लाई शुभ या सकारात्मक ऊर्जा (positive energy)मा परिणत गर्ने विधिलाई शास्त्रमा ग्रहशान्ति भन्ने गरिन्छ ।
हाम्रो ग्रह दशा भनेकै ग्रहको प्रभाव हो अत: हामीहरू जुनसुकै ठाउँमा भएपनि पञ्चतत्त्वकै माध्यमले सबै भन्दा बढी जुन ग्रहले प्रभावित बनाइरहेको हुन्छ हाम्रो ग्रहदशा भनेको त्यही हो । वैदिक या तान्त्रिक मन्त्रको ध्वनि, हवन, पाठ स्तोत्र आदिको माध्यमबाट सम्बन्धित ग्रह तथा नक्षत्र आदिको ऊर्जा (energy)ले हाम्रो यो पञ्चतत्त्व द्वारा निर्मित पार्थिव शरीरसँग जोडिने (connection) काम गर्दछ त्यसैले शुभ फल र सकारात्मक ऊर्जा (positive energy) पाउन सकिन्छ जसले आँटेको, ताकेको, रोजेको, खोजेको फल दिनुका साथै मानलाई स्थिरता प्रदान गर्दछ ।
सामान्यत हामिहरूले ग्रह शान्ति गर्नुको मुख्य चार वटा मुख्य कारण हुन्छन्, जसमध्ये पहिलो हाल चलिरहेको ग्रहदशा या गोचर दशाहरूको शान्ति हो । दोस्रो हाम्रो जन्म समयको मूल आदि नक्षत्र (अश्लेषा, मूल, विशाखा, जेष्ठा) हो जसले गर्दा पिरने या दुख दिने हुन्छ । तेस्रो हो तिथि (औंशी, चतुर्दशी आदि) शान्ति । चौथो जन्मकुण्डलीमा नवग्रहले बनाएका बिभिन्न नराम्रा योग जस्तै कि माङ्गलिक योग, अङ्गारक योग, सर्प योग, गुरुचाण्डाल योग, विष योग, पितृदोष योग, निसन्तान योग, बहुविवाह योग, सूर्य ग्रहण योग, चन्द्र ग्रहण योग, जडत्त्व योग, अल्पायु योग, ऋण योग, प्रेम विवाह असफल योग, कारागार योग, मुद्दामामिला योग आदिको शान्ति तथा विशेष पूजा (अनुष्ठान) विधिपूर्वक गर्न र गराउन सके अवश्य दोष कम र निवारण हुन्छ ।
उपरोक्त दोष शान्ति या निवारण गर्नु भनेको पानी पर्न लागेको अनुमान लगाएर घर बाहिर निस्कँदा छाता या वर्षादी लिएर निस्कनु जस्तै हो त्यस कारणले आफ्नो जन्म कुण्डलीको अवस्था के कस्तो छ भनेर ज्ञान लिएर पानीमा छाताको महत्त्व जस्तै नक्षत्र, ग्रहदशा र योगको पहिचान गरेर ग्रह शान्ति गर्नु या गराउनु उपयुक्त हुनेछ । अस्तु ॥
-ज्यो. प. नारायणप्रसाद दुलाल
Liked by: