नगरी नहुने र परिआएका अर्थात् जुन कर्मको अन्य कुनै उपाय हुन्न त्यस्ता नित्य, नैमित्तिक र काम्य कर्महरू अधिकमास या क्षय मासमा गर्नु हुन्छ, तर तत्काल नगरे पनि हुने खालका वा जुन कर्मलाई अरु बेला पनि गर्दा हुन्छ त्यस्ता कर्म नित्य, नैमित्तिक र काम्य कर्महरू भने अधिकमास या क्षय मासमा भने गर्नु हुँदैन ।
“मलेsनन्यगतिं कुर्यात् नित्यां नैमित्तिकीं क्रियाम्”- (काठकगृह्यसूत्र)
अनन्यगतिकं नित्यं नैमिन्तिकं काम्यं चाधिमासक्षयमासयो: कर्तव्यम् ।
सागतिकं नित्यं नैमित्तिकं काम्यं च वर्ज्यम् । - (धर्मसिन्धु:)
जस्तै माङ्गलिक शुभ कार्यहरू, शिलान्यास, गृहप्रवेश, सप्ताह, प्रतिष्ठा, चूडाकर्म, विशेष पूजाआजा, विशेष यज्ञ, अनुष्ठान, व्रत उद्यापन, व्रतबन्ध, विवाह जस्ता संस्कारहरू गर्नु हुँदैन, तर दैनिक रूपमा गरिने स्नान, सन्ध्योपासना, नित्यपूजा, गर्भाधान पछि देखि अन्नप्राशन सम्मका संस्कार गर्नुहुन्छ साथै पहिलेदेखि गरिआएको सबै नित्य र नैमित्तिक कार्य भने गर्नु हुन्छ । यो पुरुषोत्तम महिनामा मालपुवा आदि दान, धर्म, परोपकार र पुरुषोत्तम भगवानको उपासना गर्नुको पनि छुट्टै महत्त्व र परम्परा छ ।
-ज्योतिषाचार्य प. नारायणप्रसाद दुलाल
Liked by: