धनिलाई सुख आराम, तकिया जस्तै जिन्दगी ।
गरीबको त धारिलो त्यो, हँसिया जस्तै जिन्दगी ।
न्यून आय परिश्रम त, परिचय भो निमुखाको ।
संधैभरी भारी बोक्ने, भरिया जस्तै जिन्दगी ।
फुर्सद छैन एकैछिन, जिउनै पर्ने बाध्यतामा ।
जोतिएर साँझ बिहान, हलिया जस्तै जिन्दगी ।
बाँचेकाछन परजिबी, हाँसी हाँसी समाजमा ।
कतिपय मान्छेहरुको, उपिया जस्तै जिन्दगी ।
त्यसै त्यसै टुक्रि टुक्रि, जान्छकी त ह्रास भएर ।
काम नलाग्ने फलामको, खिँया जस्तै जिन्दगी ।
केलाएरै जिन्दगानी, न त हजुर छान्न सक्छु ।
भकारीको घुन पुतला, बिँया जस्तै जिन्दगी ।
जिउनै पर्ने बाध्यता छ, पसिनाको मुल्य छैन ।
धेरै गर्छु थोरै आउछ, अधिँया जस्तै जिन्दगी ।
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: