आज ६३औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । कुष्ठरोगीसंग भेदभाव नगरौँ, कुष्ठरोगीलाई माया गरौँ, कुष्ठरोगी प्रति हुने भेदभाव अन्त्य गरौँ भन्ने जस्ता नारा लेखिएका प्लेकार्डहरु लिएर र्याली प्रदर्शन गरिंदैछ । कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले देशका ग्रामीण क्षेत्रमा पनि र्याली तथा अन्य कार्यक्रमहरु आयोजना गरिंदैछ । स्कुलहरुमा हाजिरीजवाफ, वक्तृत्वकला, निवन्धलेखन जस्ता प्रतियोगितात्मक क्रियाकलापहरु गरिन्छन् । कुष्ठरोग प्रभावितहरू प्रति जागरुकता देखाउने उदेश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोग विरुद्ध मनाउन थालिएको हो ।
कुष्ठरोग मानव जातीमा हजारौँ बर्ष पहिले नै संक्रमण भएको बैज्ञानिकहरुले विश्वास गरेकाछन् । यो रोगको अङ्ग्रेजी नाम ल्याटिन शब्द लेप्रा को विकसित रुप हो । त्यहि भएर यसलाई ल्याप्रोसी भनिन्छ । यसको नेपाली अर्थ "कत्लादार" हुन्छ । जेर्हार्ड अर्मउर हान्सेन (Gerhard Armauer Hansen) नाम गरेका बैज्ञानिकले पत्ता लगाएकाले यसलाई कतिपय मुलुकमा "हान्सेन्स् रोग" पनि भनिन्छ । यो अन्य रोग जस्तो खतरनाक सरुवा रोग नभए पनि यसबाट मानिसका शरिरमा उत्पन्न हुने असामान्य अवस्थाका कारण पराम्परागत रुपमा यस रोगलाई पुर्व जन्मको पापका रुपमा लिने गरिन्थ्यो । यो रोगप्रति नकारात्मक सोचाई रहेका कारण रोगीहरु सामाजिक बहिस्कारमा पर्ने गरेका थिए । पछिल्ला दिनमा कुष्ठरोगीहरु प्रति हुने गरेको भेदभावमा कमि आए पनि यस्तो भेदभाव पूर्णरुपमा अन्त्य हुन सकेको छैन । तर जनचेतनाकै विस्तारसंगै मानिसहरुमा विद्यमान त्यस्तो धारणा भने हट्दै जान थालेको पाइन्छ । त्यहि भएर समाजको दृष्टिकोण नफेरी यस रोगका विरुद्ध प्रभावकारी अभियान संचालन गर्न नसकिने बुझाई अनुसार कुष्ठरोग सम्बन्धि चेतनामूलक कार्यक्रमहरुलाई बढि प्राथमिकता दिंदै आइएको पाइन्छ ।
यो एक प्रकारको जीर्ण संक्रमण हो । यो रोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु (ब्याक्टेरिया) को संक्रमणको कारणले लाग्दछ । संक्रमणको शुरुवातमा कुनै लक्षण देखा नपर्न पनि सक्छ । कतिपय संक्रमित व्यक्तिहरुलाई पाँचदेखि २० वर्षसम्म पनि खासै प्रभाव देखिंदैन । कुष्ठरोग पौसिबेसिलरी र मल्टिबेसिलरी अथवा सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । त्यहि भएर कतिपय प्रभावित मानिसहरुले चेतनाको अभावमा उपचारमा हेलचेक्र्याँई गर्दा बिरामीको अवस्था नाजुक भई मृत्यू समेत हुने गरेको पाइन्छ । कुष्ठरोगका यी दुईवटा प्रकारलाई शरीरमा कतिवटा वास्तविक रङ गुमेको अथवा लाटो फुस्रो दाग छ भन्ने कुराको आधारमा छुट्याइन्छ । पौसिबेसिलरीमा पाँच वा सो भन्दा कम धब्बा दागहरु हुन्छन् भने मल्टिबेसिलरीमा पाँचवटाभन्दा बढी हुन्छ । कुष्ठरोग सास फेर्दा, बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्कने मसिना कणहरु वा थोपाहरूको माध्यमबाट सर्छ भन्ने विश्वास रहेको छ । तर यो रोग त्यति धेरै संक्रामक मानिंदैन ।नेपाल कुष्ठरोग मुक्त मुलुक घोषणा भईसके पनि यस प्रकारका रोगको लक्ष्यण देखिएका मानिसहरुले सामाजिक तथा पारिवारिक ग्लानी महसुस गरी उपचारको प्रकृयामा सहभागी नभएका उदाहरणहरु प्रसस्तै भेटिन्छन् । त्यहि भएर बेलाबेलामा कुष्ठरोग संक्रमित व्यक्तिहरु देखा पर्दै आईरहेको पाइन्छ । विशेषगरी तराईका १६ वटा जिल्लाहरुमा अझै पनि कुष्ठरोगीहरु भेटिन्छन् । देशभर अहिले सरदर दुई हजार जना कुष्ठरोगीहरु रहेको सरकारी तथ्यांक छ ।
मानिसमा उपचार गरे निको हुन्छ भन्ने विस्वास दिलाउन अझ प्रभावकारी अभियानहरु संचालन गर्नु आवश्यक देखिन्छ । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हातखुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् । कुष्ठरोगलाई पूर्णरुपमा निर्मुल पार्न सरकारले रोगीहरुको स्वास्थ्य उपचार केन्द्रसम्म पहुँच होस् भन्ने मनसायले भत्ताको समेत व्यवस्था गरेको छ ।
विश्वमा सन् २०१२ सम्म करीव २ लाख जना मानिस कुष्ठरोगबाट संक्रमितहरु रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो संख्या सन् १९८० को तुलनामा भने निकै कम हो । त्यतिबेला करीव ५२ लाख व्यक्तिहरु विश्वमा कुष्ठरोगबाट ग्रसित थिए । कुष्ठरोगका नयाँ बिरामीहरुको सवैभन्दा ठुलो हिस्सा भने भारतमा रहेको जनाईएको छ । विश्वमा विगत २० बर्षको उपचार तथ्यांक अनुसार एक करोड ६० लाख मानिसहरू उपचार पछि निको भएकाछन् ।
- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको
Liked by: