महाअष्टमी | विश्व गरिबी निवारण दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

महाअष्टमी | विश्व गरिबी निवारण दिवस



लिङ्गे पीङको मच्चाई अनि पारिवारीक जमघटका समयमा दशैंको निलो स्वच्छ आकाश अनि माधुर्यता बिचमा बर्षभरिको थकानलाई बिट मार्दै दशैंमग्न हुनुभएको छ कि छैन ?

नौरथाको मेला अनि दुर्गा भावानीका शक्तिपीठहरूमा भिडभाड, कसैलाई मिठाई किन्नको हतारो हुन सक्छ त कसैलाई मासु ? कसैलाई पलेंटी कसेर तास खेल्नको तिर्सना होला त कसैलाई साथीभाईसंग भेटघाटको तिर्सना, जे होस् यस वर्षको दशैंको अष्टमीको शुभ दिन अनि शुभ साईतको शुभकामना ।

आज महा-अष्टमी अर्थात नवरात्रिको आठौं दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाको दिन वैद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्तिपीठ, दशैंघर अनि विभिन्न मन्दिरमा विशेष घुँईचो रहन्छ । आज मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान हुने गर्दछ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरुको पूजाअर्चना समेत विधिविधान अनुसार गरिन्छ ।

आजको दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ, सतिदेवीले आफ्नो पती महादेवको आफ्नै पिता दक्षप्रजापतीको मुखबाट गरीएको निन्दा सुन्न नसकेर अग्नीकुण्डमा हामफालेर आत्मदाह गर्दछिन् । त्यसै बखत यो कुरा थाहा पाएर रिसले चुरचुर भएका महादेवबाट महाकालीको रुपमा भद्रकाली यसै दिन प्रकट भइन् । शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन वलिदिने चलन छ । यसरी वलि दिंदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र वलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लठ्ठी हालेर जनावरको स्वरुपमा वलि दिने गर्दछन् ।

आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दशैं घरमा ५४ वटा राँगा र ५४ वटानै बोकाको वलि दिइन्छ । काठमाण्डौ उपत्यका वरिपरिका शक्तिपीठहरु जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भग्वती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आराधना गरी बलि चढाउनेहरुको घुइँचो लाग्ने गर्छ । त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर लगायत सप्तरीकै छिन्नमस्ता मन्दिर, बारा जिल्लाको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगञ्जस्थित विर्ता मार्इ, गहवा मार्इ, केहुनियास्थित विन्दवासिनी मार्इ, अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर, मोरङ्ग जिल्लाको विराटनगरमा रहेको काली मन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्तिपीठहरुमा हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई वलि चढाइन्छ । काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजा अर्चना गर्दै दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । 

वलि दिने कुराको आजभोली चौतर्फी रुपमा विरोध हुन थालेको छ, जनावर अधिकारसंग सम्बन्धित संघ-सस्थाहरुले अनि अन्तराष्ट्रिय नागरीक समाजहरुले यस्ता कार्यहरुलाई निन्दनीय भनेर ब्याख्या गरेको छ । अहिंसा पक्कै पनि राम्रो कुरा हो तथापि सभ्यतासंगै मासु खान जनावरहरुलाई प्रयोग गरिआएको चलनको मांशाहारीले पनि आ-आफ्नै तवरले ब्याख्या गरेका छन् । चाहे हिन्दुहरुको दशैं होस् या क्रिस्टियनहरुको क्रिसमस अनि थ्याङक्स गिभिङ्गमा खाइने टर्की चराहरु या मुसलमानहरुको इद बकरइदमा काटिने खसी बोकाहरु, कहिंकतै धर्म र संस्कारहरुबाटै मानव सभ्यताले मांशाहारी चलन बोकेर ल्याएको कुरा पनि हामीले पछ्याइ आएका छौं । अहिले आएर वलि दिने कुरामा धेरै कमी आएको पाइएको छ । विशेषतः दशैंमा खसी काट्नैपर्ने, ज्वाँइपाहुनालाई मासु खुवाउनैपर्ने चलनलाई सम्मान र प्रतिष्ठाका रुपमा हेरिन्थ्यो । बिहानैबाट खसि काट्ने घरमा विशेष चहलपहल रहन्छ, पानी तताउने अनि काट्ने मान्छे वोलाउने लगायत कस्को घरको खसी कति किलोको भयो ? कस्को घरको खसी कुन रङ्गको ? आदिजस्ता जिज्ञासा र उत्सुक्ता विशेषगरि केटाकेटीहरुमा रहने गर्दछ । 

पहिले पहिले बजारमा मासु किनेर खाने चलन नभएकाले र बजारमा सहज मासुको उपलब्धता नहुने अनि कृषिप्रधान समाज भएकाले घरमै पालिएको खसी बोकाहरुको सहज उपलब्धता भएकाले पनि वलि दिने चलन धेरै थियो तर आजभोली बजारमा सहज उपलब्ध मासु अनि मासु सेवनप्रतिको घट्दो आशक्तिले पनि हुनसक्छ घरैपिच्छे बलि दिने चलन घटेर गइरहेको छ । 

अर्कोतर्फ मासुहरु राख्नकालागि चाहिने चिस्यान यन्त्र अर्थात फ्रिजहरुको उपलब्धता धेरै नेपाली घरहरुमा नभएको कारणले पनि मासुहरु स्वस्थ्यवर्धक रहिरहन पाउँदैनन अनि धेरै चिल्लो गरेर पक्कु मासुहरु धेरै दिनसम्म राखेर खाने चलनले स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको हुनसक्दछ । यस विषयमा मासु सेवनगर्दा सचेत रहन जरुरी छ । 

संस्कृतमा वलिको अर्थ कुनैपनि कुरा त्यागिदिनु भन्ने बुझिन्छ, आजको दिन हामीपनि आफ्नो रिसराग, मोह, इर्श्या अनि घमन्डको वलि चढाएर एउटा असल मानव बन्ने प्रण गर्न सकौँ, सबैलाई महाअष्ठमीको शुभकामना । 

विश्व गरिबी निवारण दिवस
आज विश्व समूदायले २६ सौं गरिबी निवारण दिवस भव्यता का साथ मनाउँदैछ । हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने चलन छ । 

परमाणु शक्तिमा लाखौं अरबौं डलर खर्च गर्न सक्ने देशहरु ले नागरीकका भोका नागां समस्याहरु लाई समेत सम्बोधन गर्न सकेका छैनन् । २१ सौं शताव्दीको यो पहिलो अर्धदशक भित्र पनि संसारमा गरिबीले बिदा मागेर गाँस वाँस र कपासको आधारभूत प्रत्याभूति पनि हुन नसक्ने छेकछन्द देखिएको छ । 

हरेक सरकार अनि संसदको प्रथम प्रार्थमिकता भनेकै गरिबी उन्मुलन हुन पर्ने रहेको छ यो गरिबीको उन्मुलन शान्ति, स्थाहित्व र आर्थिक बिकासकालागि अत्यन्त महत्वपूर्ण छ । 

त्यसै कुराहरुलाई बुझेर यस बर्षको गरिबी निवारण दिवसको नारा नै 'A path toward peaceful and inclusive societies' अर्थात गरिबी निवारण्का लागि शान्तिपूर्ण र समावेशी समाजहरु तर्फ भन्ने अर्थ लाग्दछ । 

विश्व बैंकको तथ्याकं्लारई साभार गर्न चाहयौं, सन् २०११ को २५ दशमलव २ प्रतिशत गरिबी रहेको नेपालमा सन् २०१५ सम्म घटेर २१ दशमलव ६ प्रतिशत भएको देखिन्छ । बैदेशिक रोजगारीको बिप्रेषणबाट आएको रकम मार्फत बढेको आय लाई दिर्घकालीन अवश्य मान्न सकिन्न, देशमै रोजगार अनि सिपको उजागर गर्दै बजार अनि बित्त व्यबस्थापन जरुरी छ । अर्कोतर्फ कृषीकार्यमा क्रान्ती ल्याएर निर्वाहमुखी भन्दा व्यवसाहीक कृषी गरिन जरुरी छ । 

स्मरण रहोस् दश बर्षे द्धन्द र त्यसपछिका अन्योलले नेपालमा गरिबीको तह बढेको अनि मान्छेहरु मा जीवनयापन गर्ने अवसरहरुको कमी देखिएको छ । 

अर्कोतर्फ सरकारी प्रयास स्वरुप गरिबी निवारण कोष मार्फत नेपालभरिका ५९ जिल्लामा ३० हजार सामूदायीक संस्थाहरु मार्फत बिभिन्न आय आम्दानीका कार्यक्रमहरु गरिरहिएको छ, गैर सरकारी संस्थाहरु पनि यस स्वरोजगार र सामुदायिक आयआर्जनको मार्गमा लागि परेका छन् ।

गरिब र धनीको अव्यक्त खाल्डो बिश्वभरि नै मौन लडाईका रुपमा रहेको छ, यस अर्थतन्त्रमा ज्ञान अनि अवसरको आधारमा अगाडि बढ्न सबैलाई स्वतन्त्रता छ, हैन र ? गरीब र धनीको यो खाडल पुरिँदै जाओस्, समाज अनि समाजका बिपन्न समुदाय प्रति राज्य अनि हामी सबैको ध्यान हुन जरुरी छ । 

आर्थिक बिकास बिनाको र गरिबीले पिल्सिएको प्रजातन्त्र लङ्गडो हुन्छ । गरिबी उन्मुलन भएको नेपाल र विश्व हामी सबैले यहि जूनीमा देख्न पाइयोस् । 

सबैको घरमा छाना होस्
मानामा चामलका दाना होस्
कोदो होस् या पीठो होस्
जीवन सबैको मिठो होस्

जय होस् 

-----
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.