सिथि नखः पर्व कहिले मनाइन्छ ?
ज्येष्ठ शुक्ल षष्ठीका दिनमा नेवा: सभ्यता र संस्कारअनुरूप हरेक वर्ष सिथि नखः पर्व मनाइन्छ । नेपाल संवत् ११४२ को यस चाडमा सबैलाई स्वागत छ ।
आकाश बादलले ढाकिएका छन् । अनि वातावरण घनिभूत हुँदै छ वर्षा यामको । वर्षा यामको कुरा गर्दा सबैभन्दा पहिले पानीको शुद्धता र मुहानको सरसफाइका कुरा आउँछ । वर्षयाममा प्रवेश अनि पानीको मुहान सरसफाइका लागि नेवा: सभ्यता र संस्कार अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिनमा सिथि नखः चाड मनाइने चलन छ । काठमाडौँ जसरी मन्दिरको सहरका रूपमा प्रचलित छ । त्यसरी नै काठमाडौँ पाटी–पौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो ।
सिथि नखः को व्यवहारिक पक्ष
पानीको श्रोतका लागि अत्यन्त महत्त्वपूर्ण यी कुराहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सिथि नखः मनाइने चलन भएको हो । आजको दिनमा काठमाडौँ अनि काठमाडौं बासीहरूलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ ।
यस चाडले पानीको मुहान संरक्षण र पानीको महत्त्वमाथि पनि प्रकाश पार्छ । आजको दिन इनार, कुवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि यसरी पूजा गर्नु पूर्व सरसफाइ गर्ने चलन छ । यसरी सबै जना भेला भएर पूजा गरिसकेपछि वर्षभरि त्यहाँ फोहोर नगर्न धार्मिक अनि सांस्कृतिक हिसाबले बाध्यकारी हुने दूरगामी संस्कार प्रशंसनीय छ ।
यसरी सिथि नखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्न । मुहान नचलाएपछि पानी स्थिर हुन्छ । अनि पानीको सतह राख्नुपर्छ भन्ने मान्यता छ । पानी सफा गर्दा इनारभित्र पसेर, पोखरी अनि कुवामा पसेर नै सफा गरिन्छ । यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ । ती कुराहरू तल्लो तहमा थिग्रिन पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दूध, घ्यू, मह, दही लगायतका कुराहरू हालिन्छ ।
उपत्यकामा पहिले जस्तो खुला र खालि जमिन कम हुँदै गएको छ । सहर घरै–घरले भरिँदै गएका छन् । खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदै छन् । वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि उपत्यकावासीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको तथ्य पनि जायज छ ।
सिथि नखः का दिन पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवा: खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ ।
सिथि नखः मा के के गरिन्छ ?
यसै दिन भक्तपुरको चास खेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाडांैको जैसी देवलको शिव–पार्वतीका ज्येष्ठ पुत्र कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर अनि विशेष पहिरन पहिराउँदै गहना र आभूषण लगाइदिएर खटमा राखी नगर परिक्रमा गराइने चलन छ । नेवा: समुदायले आफ्नो घरको प्रवेश द्वारमा राख्ने आठ वटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँछ ।
कुमार कार्तिकेय को प्रसङ्ग
कुमार कार्तिकेयबारे केही कुरा गर्न चाह्यौ, शिवजीका यी पुत्र अलौकिक सैनिक दस्ताका महासेनानीका रूपमा पुराणहरूमा व्याख्या गरिएको छ । तारकासुर जस्ता असुरहरूको वध गर्न सक्ने यी बलवान्लाई गङ्गाका पुत्रका रूपमा पनि व्याख्या गरिन्छ । यिनको ६ वटा शिर रहेको र जन्म भएका बखत गङ्गाको किनारमा रहेका थिए भन्ने पुराणमा लेखिएको छ ।
गङ्गा नदी स्वयं शिवजीको जटामार्फत बगेकी छिन् । यसर्थमा गङ्गाका स्वरूप यिनी कुमार कार्तिकेयको पानी र यिनको शुद्धतासँग अन्तरसम्बन्ध पाइन्छ । वातावरण, पर्यावरण अनि जीवन–शैलीको अनुपम सम्मिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको छ ।
हात धुनदेखि सफा पानी पिउन समेत विदेशी परियोजनामार्फत नेपाली समुदायमा जनचेतनाका कार्यक्रमहरू चलाइरहिएको छ । नियालेर हेर्ने हो भने हाम्रो पुराना संस्कारहरू नै आफैँमा वैज्ञानिक र परिवर्तनकारी छ ।
सिथि नखः को शुभकामना । अनि हाम्रा पानीका मुहान र चित्त दुवै सँधैभरि शुद्ध र सफा हुन् ।
विश्व वातावरण दिवस : केवल एउटा पृथ्वी
जुन महिनाको ५ तारिखमा विश्वव्यापी मनाइने रूपमा यो दिवसमा यसपालिको नारा भने'" Only one earth" अर्थात् केवल एउटा पृथ्वी भन्ने छ ।
यस नाराले प्रकृतिसँग मेलमिलापमा दिगो रूपमा बाँच्ने आवश्यकता र नीतिहरू र व्यक्तिगत छनोटहरू दुवै मार्फत हरियाली जीवनशैलीमा सर्ने हाम्रो सम्भावनाहरूमा केन्द्रित हुन पैरवी गर्दछ। केवल एक पृथ्वी सन् १९७२ को स्टक होम सम्मेलनको लागि आदर्श वाक्य र नारा थियो।
वातावरण दिवसको पृष्ठभूमि
१६ जुन, १९७२ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो ।
यो वर्ष स्वीडेनले विश्व वातावरण दिवस आयोजना गर्दैछ ।
त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो ।
नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु नै हो । आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाऔँ ।
काठ हैन रुखलाई माया गर्न सिकाऔँ । रुख रोप्न अनि पानीका श्रोतलाई माया गर्न सिकाऔँ ।
कागज र कम्प्युटर हैन वास्तविकतामै जनावर र जङ्गल देख्ने अवस्था रहोस् । मानिस लगायत अन्य जनावर अनि उनीहरूसँगको सहअस्तित्व सबैलाई ज्ञात होस् । घडेरी र खेत दुवै महत्त्वपूर्ण छन् । जीवन र प्रकृतिबिचको सम्बन्ध सबैले बुझौँ ।
विश्व वातावरण दिवसको शुभकामना
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: