काठमाडौँ लगायत देशका विभिन्न भू–भागमा रङ्गबाट रङ्ग मंगिएकाहरु आराम गरिरहेका होलान् । अझ भनौ, नेपालको पहाडी, भित्री मधेश अनि मध्यपहाडी भेगमा रङ्गमा रमाउनेहरुले हिजो रङ्ग अनि उमङ्ग साटासाट गरिसके । अब पालो तराईको, अझ भनौ मधेशको ।
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराईमा सुन्दर भू–भागहरु छन् । ठूला–ठूला घरदेखि स–साना झुपडीसम्म, सूर्र्ति फलेका खेतदेखि धानका बालासम्म अनि विभिन्न भाषा अनि संस्कृतिबीच तराई नेपालमा शोभायमान छ । खोलानाला अनि उब्जाऊ माटोले सिंचित यो भूभाग नेपालको अन्न भण्डार अनि पौरखीहरुको थलो हो, जहाँ मानो खाएर मुरी उब्जाइन्छ ।
जोगिरा सररररर........
कुन तालमे ढोलक नाचे कुन ताल मजीरा
कुन तालमे नटुवा नाचे कुन ताल नजारा
के बोलो सारारारारारारारारारारा
के बोलो सारारारारारारारारारारारा
जोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्यांशले तराईको जीवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात् चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराईबासीले कुनै पनि शुभकार्य या चाडवाड या समारोहको जनाउ गर्छन् । अनि यो होली या फागुमा जोगीराको चर्चा चल्छ ।
ठ्याक्कै यकिन गरेर जोगीराको अर्थ निकाल्न गाह्रो छ, तथापि जोगीरा त्यो हो जो रङ्ग र भाङ्गको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, एक आफन्तकोबाट अर्कोमा अनि एउटा साथीकोबाट अर्को साथीको घरमा पुगी मालपूवा, नरीवल तथा अन्य सुख्खा बदाम, छोकडा खाएर एक आपसमा रङ्ग दलेर खुसियाली साटासाट गरिन्छ ।
जोगी अर्थात् केही लिन÷दिनसँग वास्ता नभएको, सुख र दुःखको झेलमा नअल्झिएको अनि सम्पूर्ण रुपमा साधु जस्तो सांसारिक बन्धनबाट टाढिएको मानिस । जोगीरा, अर्थात् बिन्दास अनि निस्फिक्रीको मानिस । मजीरा अर्थात् आफूलाई जनाएको हो, फरक तालको नचाई तथापि एउटै समानता सरररररररररर भन्नाले मीठो नशाको रिङ्गटालाई ब्यक्त गरिएको छ ।
जोगीरा हुन आज केही मात्रामा भाँगको घोटा पिइन्छ । भाँगको नशाले सबैलाई जोगीरा बनाउँछ कि बनाउँदैन त्यो त दैव जानून् । तर भाङ्ग लगायत अन्य नशालु पदार्थको प्रयोग र चाडवाडको सन्दर्भलाई फरक रुपमा देख्न जरुरी छ ।
झण्डै कुरा अन्तै मोडिएको । आउनुहोस् तराईकै ढोलकको तालमा गफिऔं, पूर्वी तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विविध जातजातीहरु लगायत पश्चिमी भेगका नेपाली तराईबासीहरुसम्म आज यो रङ्गिन चाड मनाउँदैछन् ।
अब हामी यस विशेष दिन तराईमा पारम्परिक नृत्यको जग सम्हाल्दै आएका नटुवा समुदायको प्रसङ्ग उल्लेख गर्न चाहन्छौं । डोरीको खाटमा बसेका धोती कुर्ता लगाउनुभएको हजुरबुबाले सुनाउनुहुन्थ्यो । त्यो म आज याद गर्दै लेख्दैछु । उहिले तराईमा अचेलजस्तो मनोरञ्जनका साधन थिएनन् । रमाइलो गर्न सिमापारीबाट आर्केष्ट्रा ल्याइन्थ्यो अनि विभिन्न गीतहरुमा नाच्दै अर्केष्ट्राका सदस्यले मनोरञ्जन गराउँथे ।
वारीपारी गाउँ थर्किने गरी तेर्सो पारिएको बडेमानको एम्पलीफायरमा आवाज अनि गीतहरु बजिरहन्थ्यो । यस्ता कार्यक्रमहरु नवरात्रि या अन्य चाडहरु जस्तै होलीताका ल्याइने चलन अझै छ । यसरी आएका आर्केष्ट्राका सदस्यहरुमा नाच्ने सदस्यहरुलाई नटुवा भनिन्छ । गाउँ–गाउँमा यस्ता नटुवाहरु हुन्छन्, जसले पुरुष भएतापनि महिलाको झैं देखिने पैतलासम्मको फराक जस्तो पहिरन लगाएर घुमी–घुमी नाच्दै नृत्य प्रस्तुत गर्ने गर्छन् ।
आज होलीमा पनि तराईका धेरै ठाउँहरूमा पारम्परिक नटुवा नृत्यका साथ नटुवाहरु नाच्छन् । तराईको पारम्परिक यी कलाकार समुदाय फागुको रङ्गमा नृत्य प्रस्तुत गर्दै एउटा गाँउबाट अर्को गाँउमा पुग्ने गर्छन् । साइकलका घण्टहरु अनि पाइडलका कुँई कुँई आवाज, खेतका आली आली कुदेका होलीका खेलाडी, घर पछाडिका परालको टाली अनि आँगन छेउको धानको भकारी । थालमा पस्किएको मालपुवा लगायत तरुवा, बगरुवा, माछा मासु अचार अनि तिल या आलसको अदुवा हालेर बनाएको छोपको अचार अनि विभिन्न मिठाईहरु आज विशेष महत्वसहित खाइन्छ । अब हाम्रो पात्रो मोबाइल एप्स, सम्पूर्ण नेपालीजनलाई प्रविधिको एउटै सूत्रमा बाँध्ने सूत्रधार हो र यो सूत्रधारले के पडाड, के तराई नि के हिमाल ?
वास्तवमा अचेलको जस्तो कृत्रिम रङ्गहरू नभइकन होलीको वास्तविक खेलिने रङ्गहरुमा, पँहेलोका लागि केशर, रातोका लागि अबिर या लालगुलाल पनि भनिन्छ । चामलको पिठोे, चन्दन लगायत अन्य प्राकृतिक रङ्गहरुको चलन थियो । सुस्तरी यी कुराहरुलाई बजारमा सहज उपलब्ध रङ्गहरुले विस्थापन गर्दै गएको हो । ल है लगाएको रङ्ग त भोलीसम्ममा उत्रेला, तर होलीको यो भाईचारा र उत्साहका साथै सकारात्मक सोच कहिल्यै नघटोस् । तराई, पहाड र हिमाललाई यसले जोडिरहोस् ।
अझ होलीमा भक्त प्रल्हादलाई आगोमा जलाउन खोज्ने राक्षसनी होलीकालाई दहन गर्ने चलन छ । तराईमा गाई–गोरुको गोबरलाई सुकाएर आगोको दाउराका रुपमा प्रयोग गर्न गुईठा बनाउने चलन छ । यस्ता गुइँठाहरुलाई खुल्ला ठाँउमा जम्मा गरेर अनि त्यसमा होलीकाको पुत्ला राखेर आगो बाली होलीका दहन गर्दै अन्यायमाथि न्यायको विजयको रूपमा विजय उत्सव मनाउने चलन पनि छ ।
सुस्तरी यस्ता चलन घट्दो क्रममा भने रहेकै छन् । मिथिला भूमिमा भने धनुषाधामको कचुरीबाट डोला उठाएर जटही लगायत महोत्तरीको मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ । यस्तो डोलीको तिर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ । कन्चनवनमा सकिएको परिक्रमा यात्रीहरु जनकपुरमा आएर अन्तगृह घुमेपछि होलीको समापन गरिन्छ । यस्ता पदयात्रामा राम अनि सीताका कथा अनि भजन गाइन्छ ।
फागु पूर्णेको दिन यसरी परिक्रमा सकिएर तिर्थालुहरु जनकपुरमा आइपुग्छन् । त्यसै दिन होली खेल्न नभ्याउने भएकाले अनि परिक्रमाका कारणले तिर्थालुहरु थाक्ने र शहरबासीहरु तिर्थालुहरुको सत्कारमा लाग्नुपर्ने भएकाले तराई होली फागु पूर्णेको भोलिपल्ट परेको हो ।
कन्चन वन राम खेले होली भन्दै गीत गाइन्छ, अस अर्थमा भगवान राम पनि कन्चन वनमा होली खेल्न आएको जनविश्वास र किंवदन्ती छ । होलीको छनक यस दिनमा अभुतपूर्व रहन्छ ।
पश्चिम नेपाली तराईहरुमा भने माटोले होली खेल्ने चलन पनि छ । बहुतै सद्भावका साथ सुखा या भिजेको माटोको सुस्त लेप एकअर्कामा लगाएर होली प्रारम्भ गरिन्छ ।
आज तराई होली विशेषलाई बिट मारौं । अर्को वर्ष फेरि तराईका परिवेश लिएर आउनेछौ । आज समस्त तराईले एउटै गीत गाँउछ होली हेञ्ञ्ञ्ञ्
तेल लगाउने र आँपको मुजुरा खाने दिन
होलीको कुरा गर्दा रङ्गहरुको कुरा अनि उमङ्गहरुको कुरा नआउने बातै छैन । यसरी रङ्गले छालाहरुमा असर गर्ने र रङ्गको प्रभाव केही दिन या हप्तासम्म रहिरहन्छ । यसैकारणले नै होलीको दिनमा विशेषतः तराईमा तेल लगाउने चलन छ । यसो गर्दा छालाको सतहमा तेल रहने र रङ्गहरु सजिलै निस्कने र नटाँसिने हुन्छ । सनातन सभ्यताको वैज्ञानिक स्वरुप र प्रयोगात्मक कोण यहाँबाट स्पष्ट हुन्छ । आजका दिन, होली खेल्नुपूर्व नै घरमा मान्यजनहरुले तेल लगाइदिने र होलीको औपचारिक शुरुवात गरिन्छ ।
यो बसन्त क्रृतुको उल्लासमा घर–घरमा मुस्कान अनि आँपका बोटहरुमा आँपका मजुराहरु पनि फुलेका छन् । आजको दिन आँपको रुखमा फुलेका मजुराहरु टिपेर खाने चलन पनि छ । यसरी औपचारिकताका लागि आँपका मजुराहरु टिपेर खाने चलन छ । यसो गर्नाले आँउदा दिनहरुमा आँप सप्रने अनि सबै मजुराहरु टिकुला बन्ने सम्भावना बलियो रहन्छ ।
होलीमा मजुरन खाएका आँपहरु नयाँ वर्ष अर्थात् जुट सित्तल या सिरुवामा टिकुला हुने र त्यसको अचार खाने परम्परागत चलन छ ।
गणगौर पूजा प्रारम्भ
भगवान शिवकी प्यारी माता पार्वतीको गौरी स्वरुपको पूजालाई गणगौर पूजा भनिन्छ । यस पूजामा बिबाहिता नारीहरुले आफ्ना पति र सन्तानको चिरन्जीवी र नैरोग्यताको कामना गर्दै व्रत र पूजा गर्छन् । अबिबाहिताहरुले कुशल र योग्य पतिका लागि कामनासहित व्रत बस्ने चलन छ ।
माता पार्वती एकपटक आफ्नो माइतीबाट घर फर्कने क्रममा भगवान शिव स्वयं माता पार्वतीलाई लिन पुग्नु भएको कथा छ । यसरी भगवान शिवको आगमनपश्चात् माइती पक्ष खुशी भएर माता पार्वतीलाई गरेको उल्लासपूर्ण विदाई र पूजालाई ‘गणगौर पूजा’ले प्रतिनिधित्व गर्छ ।
अर्को कथनअनुसार एकपटक नारदमुनी, भगवान शिव र माता पार्वती पृथ्वीलोकमा विचरण गर्न आउनुभयो । यसरी पृथ्वीलोकमा आउँदा एउटी समाजले घृणा गरेर अछुत मानेर भेदभाव गरेको महिलाकोमा उहाँहरु बास बस्नुभयो । राति पाहुनाहरुलाई ती महिलाले विभिन्न परिकारहरु पकाएर स्वागत गरेको र भगवान शिव प्रसन्न भएर ती महिलालाई सदा सुहागन हुनु भनी आशिष दिएको उल्लेख छ । आजको दिन जातीय भेदभाव उन्मुलनका लागि पनि तथ्यपरक कथा बोकेर आएको दिनका रुपमा मानिनु जरुरी छ । भगवानको घरमा कसैलाई भेदभाव छैन, यो स्पष्ट छ ।
गणगौर पूजा त तराई क्षेत्र अनि भारतका विभिन्न शहरहरुमा निकै उल्लासका साथ मनाइन्छ । कतिपय ठाउँमा त यो पूजा चैत महिनाको शुरुबाट मनाइन्छ । शिव र पार्वतीको एकरुपताको पैरवी गर्दै नारी शक्तिको उपासना गर्ने यस पूजाले सबैलाई खुशी दिओस् । जयहोस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: