श्री स्वस्थानी व्रत कथा समाप्ती
पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवत् समापन हुँदै छ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिन कालागि विसर्जन गरिन्छ । परमेश्वरीको कृपाले उक्त पुस्तक अर्को वर्ष पुनः नखोलुन्जेल हरेक नेपालीका दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरू छेलोखेलो होस्, हाम्रो शुभकामना !
श्री स्वस्थानी व्रत कथाको संक्षिप्त साङ्गे विधि
हिउँदको जाडोमा न्यानो भएर परिवारका सदस्यहरू एक ठाउँमा भेला भई बडो श्रद्धापूर्वक यी कथाका अध्यायहरू वाचन गरिन्छ, पौष शुक्ल पूर्णिमामा सुरु भएको यो व्रत कथाका ३१ अध्यायहरू अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । 'उपनयतु सकल जगनमङ्गलाय'बाट सुरु हुने यो कथा 'यं व्रह्मा वरूणेरूद्रमरूत' मन्त्रका साथै समापन हुन्छ ।
यसरी स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एक छाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरूले आज विशेष पूजा अर्चना अनि समारोह आफ्नो दक्षअनुसार आयोजना गरेर औपचारिक रूपमा स्वस्थानीको समापन या साङ्गे गर्ने चलन छ । यस्ता साङ्गेहरूमा छरछिमेक अनि आफन्त बोलाएर शाकाहारी भोजन गराउने अनि कन्या केटीहरुलाई टीका लगाएर दक्षिणा दिने पनि चलन रहेको छ ।
समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ, जसमा यस स्वस्थानी महिमा कथाको मूल तथा विशेष क्षण अथार्त् काठ्माण्डाैको साँखुस्थित शाली नदीमा एकाविहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत बस्ने चलन रही आएको छ । सबै उमेर समूहको उपस्थिति धेरै रहने यस्ता जाग्राममा भजन कीर्तन गाउने, नृत्य देखाउने र अन्य रमाइला सामाजिक क्रियाकलापहरू पनि हुन्छ । यसरी सामूहिक रूपमै स्वस्थानी परमेश्वरीको व्रत कथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समुदायलाई फाइदा हुने जनविश्वास छ ।
परमेश्वरीको कथा भन्ने सुन्ने अनि आत्मसाथ गर्ने सबैको जय होस्, श्लेष्मान्तक वन, सुमेरु पर्वत, कैलाश पर्वत, गुह्येश्वरी अनि शालिनदी लगायत विभिन्न क्षेत्रहरूको वर्णन गरिएको यो कथाका अधिकांश ठाउँहरू नेपालमै पर्दछन्, यस अर्थमा स्वस्थानी परमेश्वरीको प्रिय भू-भाग नेपाल अनि समग्र नेपालीहरूको कल्याण होस् ।
हामी पुनः अर्को वर्ष यी नै पौराणिक कथा र यिनका विशेष पात्रहरूका साथ पुनः आउने नै छौँ । नमस्कार !
"सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
यी कथाहरू वैकुण्ठ जाला
फेरि अर्को वर्ष सुरु सुरु आई जाला"
श्री स्वस्थानी परमेश्वरीको जय!
माघ स्नान समाप्ती
प्रकृतिमा रम्ने अनि प्राकृतिक तवरमा बस्ने महिना हो माघ, केवल माघ महिनामा गरेका दान पुण्य, तप, व्रत र सङ्कल्पले बाँकी ११ महिनाभरि गरेका सबै पुण्यहरूको तुलनामा धेरै फल दिन्छ । माघ देवत्वको महिना हो, सकारात्मक सोच अनि सङ्कल्पको महिना माघका विशेषताहरूमा श्री स्वस्थानी व्रत कथाका अलावा अर्को विशेष सकंल्प स्नान पनि पर्दछ जसलाई माघ स्नान भन्दछौँ ।
महान् कवि तुलसीदासले रामचरितदास मानसको वाल खण्डमा माघ महिनाको महिना वर्णन गर्दै लेखेका छन्
‘माघ मकर गति रवि जब होई, तीरथपतिहि आव सब कोई।’
माघ कमरमा क्रमशः सूर्यको गति तेज हुँदै जान्छ र एवं रितले तीर्थ र पर्वहरू क्रमशः आउँदै गर्दछन् । अब माघ महिनाको महिमासँग जोडेर माघ स्नानको बयान गर्न चाहन्छौँ, पौष शुक्ल पूर्णिमाका दिन यो स्नान सुरु हुन्छ । माघ महिनामा गरिएको तपले मानव जीवनमा ठुलो सार्थकता राख्दछ । माघ महिनामा मानव जीवन र पञ्चतत्वको विशेष समन्वय अनि निकटता रहने गर्दछ, हाम्रो शरीर पृथ्वी, जल, अग्नि, आकाश र वायुले बनेको हुन्छ ।
असली तपद्वारा हामी पञ्चतत्वको प्रभावलाई हामी उपर सकारात्मक बनाउन सक्दछौँ, माघ स्नान यिनै तपहरू मध्य एक हो ।
गंगे यमुने चैव गोदावरि सरस्वती।
कावेरी नर्मदे सिन्धोर्जलअस्मिन्सन्निधिं कुरु॥
माथिको मन्त्र उच्चारण गर्दै पवित्र नदिहरुमा स्नान गर्दा शरीरमा पवित्रताको सञ्चार हुने गर्दछ, हाम्रो शरीरमा ७० प्रतिशत पानी हुन्छ र नदिहरु लगायत जल कुण्डमा स्नान गर्दा शरीरको अधिकतम दोष र रोगहरू नाश हुने हुन्छ । माघ स्नानमा शाली नदी, पवित्र बागद्धार, धनुषाको दुधकुण्ड, जनकपुरका पोखरीहरू, देवघाट लगायतका तीर्थस्थलहरूमा त्रितालुहरूको विशेष घुँईचो रहन्छ । पौष पूर्णिमाबाट सुरु भएको माघ स्नान माघ शुक्ल पूर्णिमा सम्म चल्दछ, आज यस स्नानको विधिवत् अन्त्य हुँदै छ । माघ महिनाको तेज अनि प्रताप सबैमा फलिफाप हुने होस्, सबैको जय होस् ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: