Feri Dolakha Bhimsenma Pasina | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

"फेरि दोलखा भीमसेनमा पसिना" के थिए यसअघिका नराम्रा सङ्केतहरु ?





दोलखामा अवस्थित सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १९औं पटक वैशाख २५ गते शनिबारका दिन पसिना आएको छ । दिनदिनै देशमा राजनैतिक अस्थिरता अनि महामारीका खबरहरू आइरहँदा दोलखा भीमेश्वरमा फेरि पनि पसिना देखिएको छ र देशमा ठूलो सङ्कट नआओस् भनेर मन्दिरका पूजारी तथा गुठियारहरूले क्षमा पूजा गरेका छन् ।

गत २५ गते शनिबार मध्याह्न १२/१५ देखि पटक पटक १/३० बजेसम्म पसिना आएको जानकारी त्यहाँका मन्दिरका पूजारी तथा गुठियारहरूले जानकारी दिएका छन् र उक्त पसिना महाप्रसादको रूपमा राष्ट्रप्रमुखको कार्यालयमा पठाई र पुन: राष्ट्रप्रमुखले देशमा ठूलो सङ्कट नआओस् भनेर क्षमा पूजाको लागि राष्ट्रपति कार्यालयबाट मन्दिरका पूजारी तथा गुठियारहरू समक्ष पूजा सामग्री पठाएकाछन् र यो परम्परा पनि रहि आएको छ ।

भीमसेन शिलाको विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्दैगर्ने क्रमलाई ‘पसिना’ आएको विश्वास गरिन्छ । शीलाको दायाँबाट पसिना आउँदा राज्यका शासक वर्गमा अनिष्ट हुने र बायाँबाट पसिना आउँदा जनतामा अनिष्ट हुने विश्वास रही आएको छ, तर यसपटक दायाँ र बायाँ दुबै तर्फबाट नै पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा अशुभ हुने सामाजिक मान्यता रहँदै आएको छ र इतिहास पनि साक्षी रहेको देखिन्छ ।

यसअघि भीमसेनलाई १८औं पटक गत मंसिर ९ गते आएको पसिनाले देशमा ठूलो संकट तथा कोरोनाको उग्ररूप जस्तो महामारी फैलिएको जनविश्वास रहेको छ । २०७६ साल फागुन ८ गते भीमेश्वरलाई १७औं पटक पसिना आएको थियो । जसको कारणले देशमा कोरोना जस्तो महामारी भित्रिएको जनविश्वास रहेको छ । यो भन्दा अघि २०७४ साल असोजमा पनि भीमसेनलाई पसिना आएको थियो, त्यति बेला पनि एकै दिनमै दुईपटक पसिना आएपछि सङ्कट टरोस् भनेर राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्री सहित क्षमापूजा गरिएको थियो ।

दोलखा भीमेश्वरमा पसिना आउँदा त्यसले पार्ने प्रभावको इतिहासलाई हेर्दा पसिना आएको ६ महिनाभित्र देशमा अनिष्ट भएको देखिन्छ । २०७१ साल माघ १ र माघ १५ गते भीमेश्वरमा यसरी नै पसिना देखिएको थियो र ६ महिना पनि नबित्दै २०७२ साल बैशाख १२ गतेको बिनासकारी भूकम्पको घटना देशले बेहोर्नु परो । त्यस्तै २०६१ साल फागुनमा पनि भीमेश्वरमा पसिना आयो त्यसलगत्तै यो जनआन्दोलन सुरु भएको थियो । त्यसैगरी २०६३ सालमा पनि भीमसेनलाई पसिना आउँदा गणतन्त्र र लोकतान्त्रिक व्यवस्था स्थापनाको लागि हजारौं जनता सहिद भएका थिए । यस्तै २०५७ साल माघ १ र १५ गते पनि भीमेश्वरमा पसिना आयो र यसरी पसिना आएको ४ महिना पनि नबित्दै नारायणहिटी दरबार हत्या काण्डमा देशले ठूलै क्षति बेहोर्नु पर्यो, जसबाट राजा वीरेन्द्रको वंश नास भएको घटना हाम्रो मन मष्तिष्कमा रहिरहेको छ ।

त्यसैगरी २०४५ चैत्रमा पनि भीमेश्वरलाई पसिना आउँदा देशमा पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय प्रजातान्त्रिक व्यवस्था लागू भएको थियो । २०३५ साल फागुनमा भीमेश्वरमा पसिना आउँदा देशमा जनमतसङ्ग्रहको घोषणा गरिएको थियो । त्यसैगरी २०२८ साल माघमा भीमेश्वरमा पसिना आउँदा तत्कालीन राजा महेन्द्रको मृत्यु भएको थियो । २०१८ सालमा भीमसेनलाई पसिना आउँदा देशमा ठुलो बाढी पहिरो आएको थियो जसबाट ठुलै जनधनको क्षति भएको थियो साथै भोकमरीको अवस्था समेत सिर्जना भएको थियो । त्यस्तै २०११ सालमा भीमसेनलाई पसिना आउँदा देशले अर्को ठूलै क्षति बेहोर्नुपरेको थियो जसमा फागुन ३० गते तत्कालीन राजा त्रिभुवनको निधन भएको थियो ।

२००७ सालमा पनि भीमसेनलाई पसिना आएको थियो जसको प्रभाव हो १०४ वर्षे लामो निरङ्कुश जाहानिया राणाशासन अन्त्य हुनु र त्यस राणाशासनको अन्त्य हुनुमा कैयौं सहिदहरूले आफूलाई बलि चढाएका थिए । त्यसैगरी विसं १९९७ मा पनि भीमेश्वरलाई यसरिनै पसिना आएको थियो, उक्त समयमा तत्कालीन जाहानीय राणाशासकहरूले ४ जना वीर सपूत सहिदहरूलाई फाँसी दिएर हत्या गरेका थिए । यसरी सरसर हेर्दा दोलखा भीमसेन मन्दिरमा आउने पसिनाको इतिहास हेर्दा सबैभन्दा पहिले १९९० सालमा भीमसेनलाई पसिना आएको थियो, १९९० सालमा आएको भूकम्पले देशमा ठुलै नोक्सानी बेहोर्नु पर्यो जसबाट उक्त समयमा धेरै जनधनको ठूलै क्षति भएको थियो ।

यसरी दोलखा जिल्लाको दोलखा बजारमा अवस्थित श्री भीमेश्वर मन्दिरलाई हिन्दुहरूको ठूलो आस्थाको प्रतीकका रुपमा लिइन्छ, जहाँ त्रिभुज आकारको अद्भूत कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवका रुपमा पुजिने गरिन्छ, त्यसैले एक शीला तीन अवतारका रुपमा पनि मानिएको छ, कसै कसैले यही मूर्तिलाई नै देवी भगवतीका रुपमा पनि मानेकाछन् भने कसैले शिवको अर्को रूप भैरव पनि हो त्यसैले महादेवको रुपमा रुद्री पूजा गरिन्छ भने भीमसेन भैरवका रुपमा समेत पूजा गर्ने गरिन्छ । व्यापारी वर्गहरूले भीमसेनलाई सम्झेर पुकार गरेमा सङ्कटबाट मुक्त पाइने, नोक्सान नभई नाफा नै हुने भएकाले त्यसैले व्यापारीहरूले भीमसेनलाई इष्टदेवताका रुपमा पनि मान्ने गरेका छन् ।

यसरी भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १९ औं पटक पसिना आयो । प्रत्येक पटक पसिना आउँदा देशले केही न केही सङ्कट बेहोर्नु नै परेको छ । अब हेरौं यो पसिनाले के कस्तो प्रभाव पार्ने हो ? हुनत देशको राजनीति र सामाजिक अवस्था हेर्दा जनता खुसी हुने कुनै बाटो छैन, तरपनि भीमेश्वरमा यसरी पसिना आएपनि देश र जनताले ठूलो कष्ट बेहोर्नु नपरोस्, हे भीमेश्वर, हे भीमसेन हामी सबैको रक्षा गर । कल्याण गर । अहिले हाम्रो देशले सहन बाध्य भएको राजनैतिक अस्थिरता, प्राकृतिक विपद्, अनि सबै प्रकारका महामारीलाई चाँडै शान्त पारिदेऊ, कुनै अप्रिय घटनाको सामना कसैले पनि गर्न नपरोस्, हे दोलखा भीमेश्वर कोटी कोटी नमन ।

-ज्यो. प. नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.