Matsya Puranma Ke Chha | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

मत्स्य पुराणमा के छ ? मलमास विशेष





ॐ मत्स्याय मनुपालकाय नमः॥

वेद विज्ञान हो, गीता दर्शन हो अनि सनातन हिन्दु सभ्यता धर्म भन्दा माथि एउटा जीवन बाँच्ने आधार हो । मलमासको समयमा मत्स्य नारायणको दर्शन गर्नेको लर्को छ , आउनुहोस् आज यिनै मत्स्य अवतारको वरिपरि रहेर केही कुराहरू चर्चा गरौँ ।

थियोरी अफ इभोल्यूसन
चाल्र्स डार्विनले थियोरी अफ इभोल्यूसनमा तथ्य पस्कन भन्दा हजारौँ वर्ष अघि हाम्रा वेद पुराणहरूमा सृष्टिका चरणहरूलाई विष्णुका अवतारले व्याख्या गरिसकेको छ । उनले यूनिसेल्यूलर एक्वेटिक क्रिचर भनेँ हामीले मत्स्य अवतारका रूपमा यसलाई आत्मसाथ गरेका छौँ ।

मत्स्य पुराणमा के छ ?
पुराणमा १४ हजार श्लोक र २९१ अध्याय छन् । संसारबाट दुष्टता हटाउन भगवान् विष्णुले धेरै अवतार लिए, जसमा मत्स्य अवतार पनि एक हो। यो अवतारलाई भगवान् विष्णुको पहिलो अवतार मानिन्छ। जानौँ मत्स्य पुराणको कथा र यसको महत्वको बारेमा ।

एपोक्याप्स अर्थात् प्रलय अगाडिको वर्णन
पृथ्वीको प्रलय हुन ७ दिन मात्र बाँकी रहँदा भगवान् विष्णुको पहिलो अवतारका रूपमा मत्स्य अवतारको वर्णन गरिएको छ । आजसम्म कति वटा प्रलय र पूर्न सृष्टि भए भन्ने यकिन छैन तर सृष्टि चmक्रमा प्रलय र सृजना अनवरत चलिनै रहेको बताइएको छ ।

त्यसवेला जब पृथ्वी पानीमा डुबिरहेको थियो, माछाको रूपमा भगवानले ऋषिको डुङ्गाको रक्षा गर्नुभयो। यसपछि ब्रह्माले फेरि जीवन सृष्टि गर्नुभयो भन्ने वर्णन छ । यसरी मत्स्य अवतारले रक्षा गर्दा सम्पूर्ण जीवहरू र बिऊविजनहरु र साथै वेदहरू रक्षा गरेको वर्णन छ । त्यसपछि प्रलय सकियो र फेरि सृष्टि भयो भन्ने शास्त्रीय मान्यता छ ।

अर्को मान्यता अनुसार राक्षसले वेद चोरेर समुन्द्रको अथाह गहिराई मा लुकाएपछि भगवान् विष्णुले माछाको रूप धारण गरी वेदहरू प्राप्त गरी पुनर्स्थापित गर्नुभएको थियो भन्ने पनि छ ।

प्रलयको दिन
त्यस दिन भगवानको निर्देशन अनुसार एउटा ठुलो डुङ्गा तयार गरी त्यसमा बीउ र औषधी राखियो । उनलाई सात ऋषिको सहयोगले समुन्द्रमा लगियो । ब्रह्माण्डमा प्रलय सुरु भयो र बिस्तारै चारैतिर पानी पानी भयो। मनु महाराजले भगवानको माछा रूपको ध्यान गर्न थाले र भगवान् विष्णु माछाको रूपमा प्रकट भए । उनको टाउकोमा दुई वटा सिङहरू थिए। राजाले डुङ्गालाई सिङमा डोरीले बाँधे। प्रलयको समयमा डुङ्गा बोक्ने क्रममा भगवान् विष्णुले माछाको रूपमा मनु महाराजको रक्षा गर्नुका साथै राजा सत्यव्रत र सप्त ऋषिहरूलाई धार्मिक कथा सुनाए। यसरी प्रलयको समयमा दिइएको ज्ञान र भनिएको कथालाई नै मत्स्य पुराण भनिन्छ।

मत्स्य अवतारको कथा
भगवान् विष्णुको यो अवतार सृष्टिको अन्त्यमा भएको थियो जब प्रलयको लागि केही समय बाँकी थियो। सत्यव्रत मनु, जसबाट मानिसको उत्पत्ति भएको थियो, एक पवित्र आत्मा र भगवान् विष्णुका भक्त थिए। एक दिन सत्यव्रत मनु नदीको किनारमा पूजा गरी तर्पण गरिरहेका बेला एउटा सानो सुनको माछा खोलामा बगेर उनको कमण्डलुमा आयो ।
त्यो सानो माछा लिएर मनु आफ्नो दरबारमा फर्किए । भोलिपल्ट त्यो माछा यति ठुलो भयो कि ठुलो पोखरीमा राख्नु पर्‍यो। भोलिपल्ट पोखरीमा पनि माछा बस्न नसकेपछि खोलामा फालियो । त्यतिखेर मनुले माछालाई सोधे– तिमी असाधारण माछा हौ, आफ्नो परिचय देऊ ?

भगवान् विष्णु माछाबाट प्रकट भएर आजबाट ७ दिनपछि प्रलय आउन लागेको बताउनुभयो ।
मैले ब्रह्माण्डको रक्षाका लागि यो अवतार लिएको छु । ठुलो डुङ्गा बनाउँछौ र यसमा सबै प्रकारको औषधि र बीउ राख्छौ ताकि प्रलय पछि फेरि सृष्टिको काम पूरा होस् भनेर वहाँले आज्ञा गर्नुभयो ।
प्रलयको दिन भन्दा पहिले, सत्यव्रत परिवारसहित सबै प्रकारका बीउ र औषधी बोकेर डुङ्गामा चढे र प्रलयको अन्त्यसम्म भगवान् विष्णुको माछा अवतारको सहारा लिएर समुन्द्रमा तैरिए ।
मत्स्य अवतारमा भगवानले चार वेदको रक्षा गरेर पुन सृष्टि भएपछि वेदहरू ब्रह्मालाई सुम्पिनुभयो। यस प्रकार भगवान् विष्णुले माछाको अवतार ग्रहण गरी प्रलयबाट ब्रह्माण्डको पुन सृष्टिको कार्य पूरा गर्नुभयो।
यो पनि किंवदन्ती छ कि ब्रह्माण्डको सृष्टि हुँदा चारैतिर पानी मात्रै थियो, तब पृथ्वीको स्थापनाका लागि मत्स्य अवतारले समुद्रको तल्लो भागमा गएर आफ्नो मुखमा माटो ल्याइदिनुभएको थियो । यो पृथ्वी पानीको माथि सृष्टि गरिएको हो भन्ने शास्त्रीय मान्यता पनि छ ।

सृष्टि अजर छैन, यो एउटा चक्र हो । एउटा स्लेटमा चकले लेखिएका अक्षर र चित्रहरू पानीले सर्लक्क पखालेर फेरि स्लेटलाई खाली सपाटै बनाउँदछ । त्यस्तै सृष्टिमा यी सबैकुराहरु प्रलय पश्चात् खाली हुनेछन् र फेरि सिर्जना हुनेछ भनेर मत्स्य पुराणमा उल्लेख छ । अहिलेको सृष्टि चक्रमा पनि त जलको चलायमानता बढेर गएको छ, समुन्द्री सतहहरू बढ्ने, हिमसतह हरु पग्लने र अन्य विनाशका श्रृखलाहरु बढ्दा छन् । ज्ञान नै मुक्तिको एक मात्र माध्यम हो, सृष्टिको यस क्षणभङ्गुरताको ज्ञान राखौँ ।

धर्मको जय होस्
अधर्मको नाश होस्
प्राणीमा प्राण होस्
विश्वको कल्याण होस्

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.