बच्चा जन्माउने योजना बनाउनुअघि ध्यान दिनुपर्ने कुराहरु | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

बच्चा जन्माउने योजना बनाउनुअघि ध्यान दिनुपर्ने कुराहरु




   डा. अमृता गिरी - Jul 10 2017

विवाहित दम्पत्तीले सन्तानको तयारी गर्नुअघि योजना बनाउनुपर्छ । हाम्रो समाजमा गर्भवती भएपछि एकैपटक डाक्टरकोमा जँचाउन जाने चलन छ । तर, सन्तानको योजना बनाउनुअघि नै दम्पतीहरु चिकित्सकको परामर्शमा आउनु राम्रो हो । सहरी क्षेत्रकै जनमानसमा पनि यसबारे त्यत्ति सचेतना देखिँदैन । बिनातयारी गर्भवती हुँदा आमा र शिशुको स्वास्थ्यमा कतिपय अवस्थामा जटिलता देखिन सक्छ । स्वास्थ्य परीक्षणपछि आधारभूत प्रक्रिया पुर्याएर गर्भवती हुँदा यस्ता जटिलता कम गर्न सकिन्छ।

यो पनि हेर्नुहोस् : क्यान्सर हुनबाट बच्न खाने गर्नुहोस्, यी खानेकुराहरु

सन्तानको योजना बनाउनुअघि आएका दम्पतीहरुलाई हामीले केही महत्वपूर्ण सुझाव दिने गरेका छौंँ । शुरुमा हामीले दुवैको ‘हेल्थ हिस्ट्री’बाट उनीहरु र परिवारका सदस्यमा केही समस्या भएरनभएको सोधीखोजी गर्छौं । गर्भवती हुनुअघि महिलाको शरीरमा कुनै समस्या रहेछ भने परीक्षणबाटै थाह हुन्छ । परीक्षणका क्रममा महिलामा केही ‘क्रोनिक इल्नेस’ देखिन सक्छ । उदाहरणका लागि उच्च रक्तचाप, मधुमेह, मिर्गौला या मुटुसम्बन्धी कुनै रोग भए/नभएको पत्ता लगाउन सकिन्छ । तर, यस्ता रोग देखिएका महिलाहरु गर्भवती हुनु हुँदैन भन्ने कुरा होइन । यस्ता समस्या भए सतर्कता अपनाउन सकिनेतर्फ चिकित्सकहरुले सुझाव दिनेछन्।

सर्वप्रथम गर्भवती हुन चाहने महिलाको स्वास्थ्य परीक्षण गरिन्छ । मोटोपन भएकाहरुले तौल घटाएर मात्रै गर्भवती हुन उपयुक्त हुन्छ । किनभने मोटो अवस्थामा गर्भवती हुँदा गर्भ खेर गइरहने सम्भावना रहेकाले तौल घटाउन सल्लाह दिइन्छ । ज्यादा दुब्लो महिलाहरुमा ‘एनिमिया’ हुन सक्छ । आवश्यक सन्तुलित आहार नपुगेको भए त्यसतर्फ ध्यान दिनुपर्छ । त्यस्ता महिलाहरु गर्भवती भएमा बच्चाको तौल कम हुने, महिना नपुगी व्यथा लाग्ने हुन सक्छ । एनिमिया भएका महिलालाई तत्काल गर्भवती हुने योजना नबनाउन चिकित्सकको सल्लाह रहन्छ । तीन–पाँच महिनामा तौल सन्तुलनमा राख्न र त्यसपछि मात्रै गर्भवती बन्न भनिन्छ।


नियमित परीक्षणहरु
थाइराइड, डाइबिटिज भएका महिलाहरुले पनि बच्चा जन्माउन सक्छन् । त्यसका लागि उपचारबाट रोगको अवस्था घटाएपछि मात्र गर्भवती बन्नुपर्छ । कुनै व्यक्तिको परिवारमा वंशाणुगत कारणले शारीरिक अपांगता वा विकलांगता भए÷नभएको सोधखोज गरी भविष्यमा त्यसले कत्तिको समस्या ल्याउने सम्भावना छ भनी हेरिन्छ । कतिपय महिलाको तत्काल गर्भवती हुनै नसक्ने स्थिति आउँछ । हामीले जाँच गरेर उनीहरु कुन स्थितिमा छन् भने पत्ता लगाउने कोसिस गर्छौं।

डाइबिटिजको परीक्षण
हरेक महिना डाक्टरहरुलाई भेटेर कुनै जटिलता नआओस् भनेर ध्यान दिइन्छ । २४ देखि २८ हप्ताको बीचमा ग्लुकोजको टेस्ट गरिन्छ । रगतमा सुगरको मात्रा परीक्षण गर्न उत्तिकै आवश्यक छ । कतिपय महिलामा डाइबिटिजको सम्भावना रहन्छ । कुनै महिलाको बाबुआमामा डाइबिटिज छ भने गर्भवती बन्नुअघि सुगर परीक्षण गर्दा राम्रो हुन्छ । गर्भवती डाइबिटिजको रोगी नभए पनि गर्भवती भएकै कारण डाइबिटिजको समस्या हुन सक्छ, जसलाई ‘जेस्टेस्नल डाइबिटिज’ भनिन्छ । बच्चा जन्मिएपछि डाइबिटिज हटेर जान्छ । सामान्यतया ६ महिनाको अवधिमा ग्लुकोज परीक्षणपछि डाइबिटिज देखिएमा डाइबिटिज विशेषज्ञको परामर्शमा औषधिहरु दिने गरिन्छ।

ब्लड ग्रुपबारे जानौँ
गर्भवती हुन चाहनेको स्वास्थ्य परीक्षणका क्रममा रगतमा हेमोग्लोविनको परीक्षण आवश्यक छ । कथंकदाचित एनिमिया देखिएमा त्यसको उपचार गरेर मात्रै गर्भवती बन्नुपर्छ । रगत परीक्षण गरेर श्रीमान्–श्रीमतीकै ‘ब्लड ग्रुप पोजेटिभ’ छ भने समस्या हुँदैन तर आमाको ‘नेगेटिभ’ र बाबुको ‘पोजेटिभ’ छ भने कहिलेकाहीँ समस्या आउन सक्छ ।

यस्तोमा पहिलोपटक गर्भवती हुँदा खासै फरक पर्दैन, तर पहिलोमा केहीगरी पोजेटिभ ब्लड गु्रप भएको बच्चा जन्मिएको छ भने अरु बच्चाहरु खेर गइरहने समस्या आउन सक्छ । त्यसका लागि एउटा इन्जेक्सन दिनुपर्ने हुन्छ । बाबुको नेगेटिभ तर आमाको पोजेटिभ ब्लड ग्रुप छ भने फरक पर्दैन । किनकि आमाले नै बच्चा जन्माउने भएकाले नेगेटिभ ब्लड गु्रपको आमाले पोजेटिभ ब्लड ग्रुप भएको बच्चा जन्माएमा मात्र समस्याको सम्भावना रहने हो । गर्भवती भइसकेपछि डाक्टरकहाँ परीक्षणमा जाने क्रममा प्राय सबैले एउटै खालका परीक्षण गराएका हुन्छन् । जस्तैः एचआइभी, हेपाटाइटिस, थाइराइड, सुगर, हेमोग्लोविन आदि।

थाइराइडको परीक्षण
अहिलेको अवस्थामा महिलालाई थाइराइड परीक्षण गराउनुपर्छ । आजभोलि कतिपय महिला शुरुमा गर्भवती भइसकेपछि मात्रै आफूलाई थाइराइड देखिएको भन्दै उपचारका लागि आउने गर्छन् । बच्चाको मस्तिष्कको विकासमा आमाको थाइराइडको महत्वपूर्ण भूमिका हुन्छ । ‘हाइपो–थाइराइडिज्म’ अर्थात् सामान्य अवस्थाको भन्दा कम थाइराइड उत्पादन भएका महिलाहरुको बालबालिकामा मस्तिष्कको पर्याप्त विकास नहुन सक्छ । तर, गर्भवती हुनुअघि नै त्यस्तो देखिएमा औषधि दिएर उनीहरुलाई सामान्य अवस्थामा ल्याउने कोसिस गरिन्छ र त्यसपछि मात्रै गर्भवती बन्न सल्लाह दिइन्छ।

सप्लिमेन्टहरु
गर्भवती हुने योजना बनाएका महिलालाई केही ‘सप्लिमेन्ट’ दिने गरिन्छ । अनिवार्य रुपमा फोलिक एसिड दिइन्छ । गर्भवती हुनुभन्दा एक महिना अघिदेखि नै यसको सिफारिस गर्ने प्रचलन छ । फोलिक एसिडले बालबालिकामा ‘न्युरेटिक डिफेक्ट’ हुन नदिन महत्वपूर्ण भूमिका खेल्छ । बच्चाको टाउको, स्पाइनल कर्ड नबन्ने, कर्डको पछाडी ट्युमरजस्तो देखिने समस्या हुन दिँदैन । साथै विभिन्न खालका भिटामिनहरु दिन आवश्यक छ । सबै खालका भिटामिनहरु सन्तुलिन रुपमा दिन सकियो भने बच्चा विकलांग हुने सम्भावनालाई घटाउँछ । पहिलो तीन महिनापछि आइनर र क्याल्सियमको सप्लिमेन्ट पनि दिइन्छ । यी दुवै ९ महिनासम्मै दिइन्छ।

जीवनशैलीमा सुधार
गर्भवती हुनुअघि जीवनशैली सुधार पनि उत्तिकै आवश्यक छ । गर्भवती हुने महिलाको मदिरा पिउने, धूमपान गर्ने आदत छ भने त्यसलाई चटक्कै छाड्नु राम्रो। कम्तिमा पनि तीन महिनाअघि यस्ता कुलत त्यागेर ‘प्रेग्नेन्सी प्लान’ गर्नु उचित हुन्छ । कुलत नछाडेकै अवस्थामा गर्भवती भएमा बच्चामा खराबी देखिने सम्भावना रहन्छ । नियमित रुपमा मदिरा सेवन गर्ने महिला तत्काल गर्भवती भएमा उनको बच्चा विकलांग हुने सम्भावना उच्च हुन्छ।


परिवारका सदस्यहरु अत्यन्त धूमपान गर्छन् र गर्भवतीको नजिकै रहन्छन् भने पनि समस्या निम्तिन सक्छ । अरु विषयमा भने पुरुषको तुलनामा महिलाको आदतमै ज्यादा ध्यान दिनुपर्छ । गर्भवती महिलाहरु धुलो, धुवाबाट जोगिनु उत्तिकै आवश्यक छ । सहरी क्षेत्रका आधुनिक भान्साघरमा त त्यत्ति समस्या छैन, तर दाउरा बालेर खाना पकाउने परम्परागत चुल्होले भने गर्भवतीको हित गर्दैन।

हाम्रो समाजमा ‘कुन समयमा गर्भवती भए कस्तो खालको प्रभावरअसर हुन्छ’ भनेर टीकाटिप्पणी हुने गरेका छन् । तर, मेडिकल साइन्सले यी सबै अन्धविश्वासमा सत्यता नभएको प्रमाणित गरिसकेको छ । साथै, वर्षको जुनसुकै महिनामा गर्भवती भए पनि असर हुँदैन भन्ने प्रामाणिक कुरा हो । तर, गर्भवती भइसकेपछिका ९ महिनालाई कसरी अघि बढाउने र कस्तो योजना बनाउने भन्ने कुराले धेरै अर्थ राख्छ।

गर्भवती भइसकेपछि सन्तुलिन आहारमा ध्यान दिन एकदमै जरुरी छ । गर्भवती महिलालाई सामान्य अवस्थामा जस्तो आहारले पुग्दैन । वैज्ञानिक दरले नै हिसवाकिताव गर्दा नियमित दुई हजार किलो–क्यालोरीको आहार छ भने कम्तिमा ३५० किलो–क्यालोरी थप्नुपर्ने हुन्छ । त्यसैले पहिलो महिनादेखि नै नियमित आहारको करिव एक चौथाई हिस्सा थप्न सुझाव दिने गरिन्छ । सन्तुलित आहार पनि उत्तिकै आवश्यक छ । विशेषगरी गाउँघरतिर साग र भातमात्रै ज्यादा खाएर बस्ने तर अरु खाने कुरामा वास्ता नगर्ने चलन छ । यसले शरीरलाई आवश्यक पर्ने सबै खालका पोषणहरु पु¥याउन सक्दैन । कार्बोहाइड्रेट, प्रोटिन, फ्याटका साथै भिटामिनहरुको सन्तुलन हुनेगरी आहार दिनुपर्छ । गर्भवती महिलाहरुले फलफूल र सागसब्जी प्रसस्त खानुपर्छ । किनभने भिटामिनको मुख्य स्रोत हरियो सागपात नै हो।

गर्भवतीहरुले घरको सानोतिनो सामान उठाउँदा केही फरक पर्दैन । तर, गह्रौँ खालका सामान उठाउँदा र सार्दा भने शरीरमा असर पर्न सक्छ । गह्रौँ चिज उठाउँदा गर्भपतन हुने सम्भावना रहन्छ । कुनै मानिसको काम नै गह्राँै सामान उठाउने खालको छ भने त्यसले समस्या देखा पार्न सक्छ । ज्यादा शारीप्रिक परिश्रम गर्ने महिलालाई ६–७ महिनामै व्यथा लाग्ने हुन सक्छ । दिनभरमा ८ घन्टाभन्दा बढी उठेर काम गर्नु जोखिमपूर्ण मानिन्छ।

कामकाजी गर्भवतीहरुले राम्रो र सुरक्षित सडकमा स्कुटर चलाउँदा केही फरक पर्दैन । तर, नेपालमा खाल्डाखुल्डीयुक्त सडक ज्यादा भएकाले गर्भमा असर पर्न सक्छ । यस्तो अवस्थामा साल छुट्टिने, रक्तस्राब हुने र बच्चा खेर जाने सम्भावना एकदमै बढी हुन्छ । स्कुटर नै नचलाउनु भन्ने सुझाव कसरी दिनु? तर खाल्डाखुल्डी र भीडभाडयुक्त सडकमा नचलाएको राम्रो । दुईपाङ्ग्रे सवारीसाधनको पछाडपट्टि बसेर यात्रा गर्नेहरुका लागि पनि यही कुरा लागू हुन्छ । तुलनात्मक रुपमा सजिलो हुने भएकाले चारपाङग्रे सवारीसाधन सुरक्षित मानिन्छ । तर, लामो दूरी यात्राका लागि सिफारिस गरिँदैन ।
--------
स्रोतः स्वास्थ्य खबरपत्रिका



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.