नेपाली जनहरूमा मुटुको जनचेतना अनि जीवनशैलीगत कुराहरू सञ्चार गर्न हाम्रो पात्रो आज स्वस्थ मुटुका ५ रहस्यहरू लिएर आएको छ । हाम्रो पात्रो एपमा "हाम्रो पात्रो हेल्थ" फिचर अन्तर्गत यहाँहरूले सजिलै विशेषज्ञ डाक्टरहरूसँग एउटा क्लिक मार्फत जोडिन सक्नुहुनेछ।
हुन त दैनिक व्यायाम र सन्तुलित भोजनले हाम्रो मुटुलाई स्वस्थ राख्दछ भन्ने कुरा हामीले विभिन्न श्रोतबाट थाहा पाएका नै छौँ। तथापि आज हामी व्यवहारगत पक्षमा स्वस्थ मुटुको पक्षहरू उजागर गर्दैछौँ । आउनुहोस् स्वस्थ मुटुको लागि जीवनशैलीमा यी कुराहरू लागू गर्ने प्रयास गरौँ ।
१. स्वस्थ फ्याट सेवन गरौँ, ट्रान्स फ्याट सेवन नगरौँ
फ्याट अर्थात् बोसो आफैँमा खराब कुरा हैन । हाम्रो शरीरलाई अघुलनशील, घुलनशील र अर्ध घुलनशील फ्याटहरू चाहिन्छ । तर, ट्रान्स फ्याट भने हाम्रो मुटुका लागि अत्यन्त हानिकारक छ । ट्रान्स फ्याटले हाम्रो धमनीहरूमा जमेर रक्तसञ्चारमा अवरोध पुर्याउने, कोलेस्ट्रोल बढाउने गर्दछ ।
ट्रान्स फ्याट कृत्रिम बोसो हो जुन कारखानामा हाइड्रोजनलाई तरल वनस्पति घ्यूसँग मिसाएर कडा बनाएर तयार गरिन्छ । डाल्डा घ्युहरू, प्याकेटका चिप्सहरू, चाउचाउ लगायत विभिन्न प्याकेटका खानेकुराहरूमा ट्रान्स फ्याट पाइन्छ । हामी रोएका बच्चाहरूलाई फकाउन यस्ता कुराहरू उपहार दिने गर्दछौँ, जुन सरासर गलत हो । यस्ता हानिकारक कुराहरू बालबालिकाहरूलाई दिएर उनीहरूको स्वास्थ्यसँग कति खेलिरहेका छौँ हामी, विचार गरौँ ।
प्याकेटका खानेकुराहरू खाँदा त्यो बनाउन लागेका तत्त्वहरू हेरेर खाने गरेको छौँ भने ट्रान्स फ्याट नखाएकै बेस । वनस्पति घ्यू लगायतका पदार्थ हालेर बनाएका कुराहरू पनि न्यूनतम सेवन गरौँ, ति खानेकुराहरू भन्दा त मुटु जरुरी छ, हैन र ?
२. मुख अनि दाँतको दैनिक सरसफाइ गर्ने गरौँ
दाँतको गिजाबाट रगत आउने मान्छेहरू हृदय रोगको बढी जोखिममा हुन्छन्। मुखमा र दाँतमा घाउ गराउने हानिकारक ब्याक्टेरियाहरू मुटु र रक्तसञ्चारका लागि हानिकारक छन् ।
३. पर्याप्त सुत्ने गरौँ
हामी मध्ये धेरै मानिसहरू राती नसुती काम गर्ने बानी भएका छौँ । तर, बिस्तारै यो बानीले हामीलाई मुटु रोगको जोखिमसँग नजिक लगिरहेको हुन्छ । ४५ वर्ष भन्दा कम उमेरका ३०० जना वयस्क व्यक्तिलाई लिएर एउटा सर्वेक्षण गर्दा दैनिक ४ घण्टा भन्दा कम सुत्नेहरूलाई अन्यको तुलनामा दुई गुणा मुटु रोगको जोखिम हुने गरेको पाइयो । थोरै सुत्नेहरूलाई ग्यास्ट्रिक, रक्तचाप जस्ता थुप्रै समस्याहरू लगायत मुटु रोगको जोखिम पनि शतप्रतिशत नै रहने गर्दछ ।
दैनिक ७ देखि ८ घण्टा सुत्ने बानी गरौँ ।
४. एकै ठाउँमा धेरै बेर बसिरहन हुँदैन
कमप्यूटरको बढ्दो प्रयोग अनि मोबाइलको प्रभावकारिता सँगसँगै मान्छेहरूले ग्याजेटको स्क्रिनबाट संसार नियाल्ने चलन बढेको छ । अहिले कुर्सी अनि टेबलमा संसार अटाएपछि एकै ठाउँमा बसेर कार्य गर्ने चलन बढेको र हिँडडुल निक्कै कम हुने गरेको छ। एकै ठाउँमा बसिरहने बानी मुटु रोगको दुष्टिले जोखिमपूर्ण छ । यसरी बसेर कार्य गर्ने मान्छेहरूमा शारीरिक अभ्यासको कमी अनि तनावको वृद्धि हुन्छ, एउटा अध्ययन अनुसार यस्ता व्यक्तिहरू मुटु रोगका हिसाबले अरूभन्दा करिब १४७ प्रतिशत बढी जोखिममा हुन्छन् ।
५. धूम्रपान सेवन नगरौँ र अझ सेकेन्ड ह्याण्ड धूम्रपान नगरौँ
धूम्रपान गर्ने मान्छेहरूको संसर्गमा धुवाँहरूका बीच बस्ने धूम्रपान नगर्ने मान्छे झन् जोखिममा हुन्छ । यस्ता व्यक्तिहरूलाई कोलेस्ट्रोल अनि मुटु रोगको अझ बढी सम्भावना हुन्छ । हामी नेपालीहरूमा चुरोट पनि साटेर सेवन गर्ने चलन छ, यो झन् नराम्रो हो । मुटु रोगबाट बच्न सकेसम्म धूम्रपान नगरौँ अनि अझ सेकेन्ड हयाण्ड धूम्रपानबाट पनि टाढै बसौं ।
शारीरिक रूपमा सक्रिय अनि सकारात्मक शैलीको जीवन अपनाऔँ ।
स्वास्थ्यसँग सम्बन्धित कुनैपनि समस्या वा जिज्ञासा भए ढिला नगरी आजै हाम्रो पात्रो हेल्थ मार्फत विज्ञ डाक्टरसँग परामर्श लिउँ ।
सुयोग ढकाल
Liked by: