यसकारण तन्नेरीमै गुम्दैछन् मिर्गाैला | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

यसकारण तन्नेरीमै गुम्दैछन् मिर्गाैला




नेपालमा मिर्गाैला रोगको अवस्था कस्तो छ भनेर यकिन तथ्यांक नभए पनि समग्रमै रोगी बढ्दो मात्रामा छन् । वीर अस्पतालका मिर्गाैला रोग विशेषज्ञ डा. अनिल बराल भन्छन्, ‘मिर्गाैलाको उपचार गर्ने ठाउँ र डायोलोसिस सेन्टर बढ्दा पनि हामीकहाँ आउने बिरामी घटेका छैनन् ।’



भीडभाड धेरै हुने राजधानीको सुन्धारादेखि न्युरोडगेटसम्मका आवाजहरु त्यो बाटो ओहोरदोहोर गरेकाले सुनेको हुनुपर्छ । ध्यान दिएर सुन्नेलाई थाहा होला, त्यहाँ सुनिने प्रायः स्पिकरमा मिर्गाैला फेल भएर सहयोगको याचना गरिएको हुन्छ । रत्नपार्क, रानीपोखरी, स्वयम्भू, पशुपतिनाथ मन्दिर लगायत धेरै मान्छेको आवतजावत हुने ठाउँमा पनि मिर्गाैला रोगी सोही अवस्थामा भेटिन्छन् । सडकपेटीमा जीवनका केही दिन लम्ब्याउन गुहार माग्नेमध्ये धेरैको उमेर ३५ कटेको सुनिँदैन । धेरै राष्ट्रिय दैनिकमा ‘मलाई बचाउनुहोस्’ शीर्षकका पाठकपत्र पढ्ने हो भने पनि युवा उमेरमा मिर्गाैला गुमाएर उपचार अभाव खेपिरहेको दारुणिक कथासहितको याचना देखिन्छ ।

डाक्टहरु भन्छन्– रोगले उमेर, वर्ग र जात छुट्याउँदैन । तर, मिर्गाैला रोगले नेपालमा उमेर छुट्याउन थालेको छ । शिक्षण अस्पतालमा एकतिहाइ बेड मिर्गाैला रोगीले ओगटेका छन् र तीमध्ये अधिकांश युवा उमेरका छन् । शिक्षण अस्पतालका मिर्गाैला रोग विशेषज्ञ डा. महेश सिग्देलका अनुसार मिर्गाैला रोगबाट युवा अवस्थामै ग्रसित हुनेको संख्या विश्वको तुलनामा नेपालमा बढी छ । उनी भन्छन्, ‘विश्वका अरु देशमा पाको उमेरमा मिर्गाैलाको समस्या लिएर अस्पताल धाउने धेरै हुन्छन् भने नेपालमा युवावस्थामै मिर्गाैला फेल भएर अस्पताल आउनेको संख्या धेरै छ ।’

नेपालमा मिर्गाैला रोगको अवस्था कस्तो छ भनेर यकिन तथ्यांक नभए पनि समग्रमै रोगी बढ्दो मात्रामा छन् । वीर अस्पतालका मिर्गाैला रोग विशेषज्ञ डा. अनिल बराल भन्छन्, ‘मिर्गाैलाको उपचार गर्ने ठाउँ र डायोलोसिस सेन्टर बढ्दा पनि हामीकहाँ आउने बिरामी घटेका छैनन् ।’

मिर्गाैला गुमाउने अर्थात् चरण ५ को अवस्था अस्पताल आइपुग्नेमध्ये धेरै वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा काम गर्न गएका युवा देखिन्छन् ।

सिन्धुपाल्चोकका कुमार तामाङ दुबईको एक प्लास्टिक कारखानामा काम गर्थे । शिक्षण अस्पतालमा डायोलोसिसका लागि आएका उनले मिर्गाैला फेल भइसकेपछि मात्रै आफूले चाल पाएको बताए । आफ्नो साथी सर्कलमै सबभन्दा स्वस्थ आफू रहेको बताउने उनको केही महिनाअघि खुट्टा सुनिन थाल्यो । ‘केही दिन ठीक होला भन्दै काममै जोतिएँ । पछि कम्पनीले हस्पिटल लग्यो । अस्पतालले मिर्गाैला समस्या आएको बताएपछि कम्पनीले छुट्टी र नेपाल आउने टिकट दिएर पठायो । यहाँ चेक गरेको त मिर्गाैला फेल भइसकेछन्,’ उनले भने ।

वैदेशिक रोजगारीमा रहेकै समयमा मिर्गाैला फेल भएर आएका ८ जना अहिले पनि शिक्षण अस्पतालको बेडमा छन् । वीर अस्पतालमा पनि वैदेशिक रोजगारीमा गएकाहरु मिर्गाैलाको उपचार र परीक्षणका लागि आउनेको संख्या धेरै रहेको डा. बराल बताउँछन् । ‘केमिकल र रबर उद्योगमा काम गरेकाहरुमा मिर्गाैलाको समस्या देखिएको छ । तर, यही कारणले उनीहरुको मिर्गाैला बिग्रेको भन्न मिल्दैन,’ बराल भन्छन्, ‘पानीको मात्रा कम वा केमिकलको असर हुन सक्ने अनुमान गर्न भने सकिन्छ ।’

मिर्गाैला बिग्रिने मुख्य कारण मधुमेह र उच्च रक्तचाप हो । मधुमेह र उच्च रक्तचापका रोगी बढिरहेकाले मिर्गाैला रोगी पनि बढेको वीर अस्पतालका नेफ्रोलोजिस्ट डा. बराल बताउँछन् । ‘यी दुई रोगका कारण किड्नी फेल हुने सम्भावना धेरै हुन्छ,’ उनी भन्छन् । डायबिटिज र उच्च रक्तचापजस्ता रोग कम हुने ग्रामीण भेगका बासिन्दामा पनि एन्टिबायोटिक, पेन किलरजस्ता डाक्टरको सिफारिसबेगर पाइने औषधिको अत्यधिक प्रयोगले पनि किड्नी फेल हुन सक्ने उनले बताए ।

सामान्यतया जाँड, रक्सी, चुरोट, मासु आदि बढी खाने, तनाव लिने र व्यायाम नगर्ने व्यक्तिलाई मिर्गाैलाको समस्या देखा पर्न सक्ने डा बराल बताउँछन् ।

पहिले धेरै जना मिर्गौलाको जटिल समस्या आएपछि मात्रै अस्पताल पुग्ने गरेका थिए । मिर्गौलाको अवस्था थाहा पाउन गाह्रो नभए पनि बेला बेलामा स्वास्थ्य जाँच गर्ने बानी नभएकाले गम्भीर समस्या भएपछि मात्रै हस्पिटलमा पाइला टेक्ने धेरैको साझा बानी छ । तर, पछिल्लो समय भने आफ्नो मिर्गौलाको हालखबर जानिराख्न डाक्टरकहाँ आउने पनि बढेका छन् । ‘विश्व मिर्गाैला दिवस जस्ता सचेतनात्मक कार्यक्रम र आमसञ्चारले दिएको महत्वका कारण मिर्गाैलाको परीक्षण गर्ने बढेका हुन्,’ डा बराल भन्छन् । विशेषगरी कलेज पढ्ने विद्यार्थी दैनिक एक वा दुई जनाका दरले मिर्गाैला चेक गराउन आउने उनले जानकारी दिए ।

के हुन् लक्षण, के हो कारण ?
मिर्गाैला रोगका अनेक लक्षण छन् । तीमध्ये केही स्पष्ट जानकारी दिन लक्षण डाक्टरहरुले पहिल्याएका छन् । थकाइ र कमजोरीको महसुस हुनु, काममा कम ध्यान जानु, खानामा अरुचि, निदाउन कठिनाइ, राति खुट्टाको मासु गल्नु र फर्किनु, गोडा सुन्निनु, बिहान आँखा वरिपरि सुन्निनु, छाला सुख्खा हुनु र चिलाउनु, राति बढी पिसाब लाग्नु, रक्तअल्पता र महिनावारीमा अनियमितता यसका लक्षण हुन् । उसो त अरु समस्या देखिए पनि मिर्गाैलामा क्षति पुगेको वा नपुगेको परीक्षण गराउने बढेको डाक्टरहरु बताउँछन् । डा सिग्देल भन्छन्, ‘वर्षमा एकचोटि मात्रै भए पनि पिसाबमा प्रोटिन र रगतमा क्रियाटिनिन जाँच गरे मिर्गौलाको स्थितिबारे थाहा पाइन्छ ।’

चिकित्सकहरूका अनुसार मिर्गौलामा समस्या देखिने मुख्यतः दुई कारण छन् । एउटा मृगौला आफैँभित्रको समस्या र अर्को शरीरका अन्य अंगमा लागेका रोगहरूका कारण । मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, बिग्रेको अवस्थामा पनि मिर्गाैलामा असर गर्न सक्ने सम्भावना रहन्छ । त्यस्तै मिर्गौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल समस्याले पनि मिर्गौला बिगार्न सक्छ । ग्लोमरुलोनेफ्राइटिस, पोलिसिस्टिक किड्नी डिजिज अर्थात् पानीको फोका देखिने रोगले पनि मिर्गौला खराब गर्छ ।

कसरी जोगाउने ?
डाक्टरहरूका अनुसार मिर्गौलालाई सुरक्षित राख्न धेरै सजगता अपनाउनुपर्छ । कम्तीमा वर्षमा एकपटक मिर्गौलाको चेकजाँच गर्नुपर्छ । तौल सन्तुलनमा राख्नु र रक्तचाप नियन्त्रण गर्नु मिर्गौला बचाउने उपाय हुन्् । औषधि प्रयोगमा सावधानी नअपनाउँदा पनि मिर्गौला खराब हुन सक्छ । सामान्य बिरामी हुँदा पनि औषधि प्रयोग गरिहाल्ने बानीले यो रोगको जोखिम बढेको डाक्टरको आशंका छ । स्वच्छ पानी प्रशस्त पिउन, नियमित व्यायाम गर्न, जाँडरक्सी तथा चुरोट, बिँडीबाट टाढा रहने, सन्तुलित आहार गर्ने बानी बसाल्न चिकित्सकहरू सुझाव दिन्छन् । परिवारका कुनै सदस्यलाई पत्थरी, मधुमेहजस्ता रोगको संक्रमण भएमा विशेष सजगता अपनाउनुपर्छ । डा. बरालका अनुसार शरीरको सञ्चालन प्रक्रिया मिर्गाैलाबिना सम्भव नै नहुने भएकाले समस्या देखिनासाथ उपचार खोजिहाल्नुपर्छ ।

फेल भएपछिका उपाय
मिर्गाैलाले दिनभरिमा करिब १ सय ८० लिटर रगत फिल्टर गर्नुपर्छ । तिनमा भएको डेढदेखि दुई लिटर पानी मिर्गाैलाले मूत्रनलीमा पठाउँछ भने बाँकी रगत र पानी शरीरभरि फैलाउँछ । मिर्गाैलाले यसो गर्न नसकेको खण्डमा त्यो बिग्रिएको वा फेल भएको भन्ने बुझिन्छ । मिर्गाैला फेल भइसकेपछि बिरामीसँग तीनवटा विकल्प हुने वीर अस्पतालका डा. बरालले बताए । एउटा विकल्प हेमोडायलाइसिस हो । दोस्रो पेरिटोनियल डायलाइसिस र तेस्रो विकल्पचाहिँ प्रत्यारोपण हो । हेमोडायलाइसिस भनेको मिर्गाैलाले गर्ने सारा काम मेसिनद्वारा गराइनु हो । पेरिटोनियल डायलाइसिस बिरामी आफैँले गर्न सक्छन् । तर, यो विधि नेपालमा खासै प्रयोगमा आउन सकेको छैन । प्रत्यारोपण भनेको चाहिँ मान्छेको शरीरमा नयाँ मिर्गौला राख्ने विधि हो । प्रत्यारोपण गर्दा शल्यक्रियामार्फत स्वस्थ मानिसका दुइटामध्ये एउटा मिर्गौला झिकेर बिरामीको शरीरमा हालिन्छ । सरकारी अस्पतालमा त्रिभुवन शिक्षण अस्पताल, वीर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र निजी अस्पतालमा कलेज अफ मेडिकल साइन्सेस भरपुरमा मिर्गौला प्रत्यारोपण गरिन्छ ।

----
स्रोतः स्वास्थ्य खबर पत्रिका



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.