एस.आर.एफ.का स्वामी श्री सरलानन्दद्वारा करिब ४५ मिनेट लामो निर्देशित-ध्यान-अभ्यास (Guided Meditation) गराएपश्चात शुरू भएको आफ्नो प्रवचनमा स्वामी चिदानन्द गिरिज्यूले आध्यात्मिक विषयमाथि प्रकाश पार्ने क्रममा हाम्रा गुरुदेव परमहंस योगानन्दजीले संसारका लागि के ल्याउनुभयो भनेर बुँदागत रूपमा निम्न कुराहरू माथि प्रकाश पार्नुभयोः
-पूर्व र पश्चिमका मुलुकहरूमा समानरूपमा लागू हुनसक्ने सत्यको विश्वव्यापी दृष्टिकोण,
-परमेश्वरको अवधारणाको युगान्तकारी पुनर्व्याख्याः ईश्वर हामी स्वयंभित्रै प्राप्त हुन सक्छन्,
-ईश्वर प्राप्तिका लागि क्रमिक तथा चरणबद्ध साधना सम्बन्धी निर्देशनहरू,
-मानवतासँग सबै धर्महरूको एकता - 'प्रत्येक मानिस मेरो आफ्नै बन्धु',
-'समग्र जीवन' का लागि कसरी बाँच्ने (How to Live) भन्ने सिद्धान्तहरूको परिपूर्ण कार्यक्रम,
-गुरु-शिष्य सम्बन्धको वास्तविक अर्थ-बोध,
-क्रियायोगको शरणमा गई मनुष्यले आफ्नो जीवनलाई आनन्दमय र सफल बनाउन सक्छ,
-योगीको आत्मकथाको निरन्तर अध्ययनद्वारा मनुष्यले आफ्नो जीवनको मूल उद्देश्य के हो भन्ने पहिचान गर्न सक्छ,
-विश्वको विभिन्न भागमा छरिएर रहेका क्रियायोगीहरू गुरुदेवको ठूलो परिवारका सदस्यहरु भएको र एकापसमा प्रेमभाव राख्दै आएको विषयलाई स्मरण गराउनुभयो।
साथै वहाँले (वाई.एस.एस./एस.आर.एफ.) संस्थाद्वारा स्थापित एवं सञ्चालित विश्वमा छरिएका ध्यान मन्दिरहरू, आश्रमहरू तथा ध्यान-केन्द्रहरूद्वारा गरिएका नियमित र अन्य रचनात्मक मानवतासम्बन्धी गतिविधिहरूबाट पुग्न गएको योगदानका विविध क्रियाकलापबारे प्रेरणादायी विवरणहरू प्रस्तुत गर्नुभयो।
वहाँले यस संस्थाद्वारा सनातन धर्मका प्राचीन ऋषिहरू तथा आधुनिक युगका महामानवहरूद्वारा अपनाइएको आध्यात्मिक साधना विशेषतः क्रियायोगको महत्व र वैज्ञानिकता वारे स्पष्ट पार्नुभयो। यसबाट हाम्रो जीवनमा आउने आध्यात्मिक र प्रेरणादायी परिवर्तन तथा अनुकरणीय व्यवहारहरूका विषयमा विश्लेषण गर्नुभयो।
श्री श्री चिदानन्दजीले नेपालमा भएको आफ्नो पहिलो पटकको भ्रमणबारे खुशी व्यक्त गर्दै वहाँले नेपाल सनातन धर्मको ज्ञान तथा साधनाको तपोभूमिका साथै आध्यात्मिकतामा अग्रणी भएको विषयमा जोड दिनुभयो र एस.आर.एफ./वाई.एस.एस.का तृतीय अध्यक्षा श्री श्री दयामाताले नेपाल र नेपालीहरुप्रति प्रेम र सद्भाव देखाउँदै सन् १९६२ र १९६८ मा गरी दुईपटक नेपाल भ्रमण गर्नुभएको कुरा स्मरण गर्नुभयो।
कार्यक्रमको अन्तयमा परमहंस ध्यान समाज नेपालका बरिष्ठ सदस्य डा. अशोक बाँस्कोटाज्यूले हाम्रो अनुरोध स्वीकार गरी पाल्नु भएका सबै स्वामीजीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो। आफ्नो भ्रमणको क्रममा नेपालमा गहिरो आध्यात्मिक स्पन्दन महशुस गरेको भन्दै उहाँले “हाम्रो जीवनलाई त्रिकोणीयरुपमा हेर्ने हो भने त्यसका दुई पक्ष शान्ति र माधुर्यता हुन् र त्रिकोणको अर्को आधार प्रसन्नता हो” भन्ने बताउँदै स्वामी श्री श्री चिदानन्द गिरीज्यूले परमहंस योगानन्दका अन्य शिक्षाहरूका साथै क्रियायोगको प्रचार-प्रसारमा संङ्गठनको प्रतिबद्धता प्रकट गर्नुभयो।
यो आध्यात्मिक सङ्गठन (वाई.एस.एस./एस.आर.एफ.) १०० वर्ष भन्दा अघि विश्वप्रसिद्ध आध्यात्मिक गुरु श्री श्री परमहंस योगानन्दजीद्वारा स्थापना गरिएको संस्था हो र उहाँ सबभन्दा बढी बिक्री हुने आध्यात्मिक ग्रन्थ "अटोबायोग्राफी अफ अ योगी", का लेखक हुनुहुन्छ।
Liked by: