गुराँस त्यसैगरी फुलेको छ
जसरी तिम्रो माया फुलिरहन्छ
आमा तिम्रो माया
हिमाल जस्तो टल्किरहेछ !
पृथ्वीको त्यो गोलार्द्धमा तिमी छौ
यता म छु यो मरुभूमिमा
घाम एउटै हो
बिहान उस्तै
दिन उस्तै, रात उस्तै !
जब सम्झना हुन्छ
छातीभित्रका
उकुस मुकुस भावना
तब सम्झन्छु
तिमीलाई !
आँसी खुर्पेटो ढिकी कोदालो
मेलापात बुहार्तन
डोको नाम्लो
सबै छिचोलेर
खपिनसक्ने ममता वर्षाउथ्यौ
कति विशाल छाती तिम्रो
अविरल बगिरहने तिम्रो माया
मन फाटेको बेला
च्याप्प समातेर
चुप्प म्वाई खाएको सम्झन्छु
त्यही सम्झनाले उर्जा मिल्छ
ढुकढुकी तेज हुन्छ
त्यसैत्यसै मन न्यानो हुन्छ !
अहो, यो अद्भूत संसारमा
तिमीजस्तै अरु कोही छैनन्
आमा तिमीले मलाई जन्मायौ
र आफूलाई म भित्र पायौ
मलाई जन्माउने तिमी
मैले जन्माएका मेरा सन्ततीसँग
धर्ति र आकाश भएको बेला
तिमीले आफ्ना उत्साह भरिएको
हाँसोले हाँस्न सिकाउँछ
बाँच्ने उत्साह थपिन्छ !
तिम्रो रगतले बने
नौ महिना प्रसवको सामिप्यताले
हाम्रो नाता यति गाढा छ
आमा शब्द नै यति महान लाग्छ
आमा पुकार्नुको आनन्दानुभूति
आमा हुन पाउनुको अनुभूतिले
मन त्यसै त्यसै पुलकित हुन्छ !
आमाको सम्झनामै
मन आल्हादित बन्छ
त्यसैले त आमाको ममत्व
आमाको अस्तित्व ख़ास छ ।
म आमा नभएको भए
सायदै आमाको ममत्व
यति धेरै कसरी बुझ्थे होला
आमा तिमी भएर नै म भएँ
मेरो शरीरमा तिम्रो रगत
प्रत्येक धडकनमा तिम्रो माया
प्रत्येक स्वरमा तिम्रै आवाज
प्रत्येक हेराइमा तिम्रै दृष्टि
हरेक पाइलामा तिम्रै शक्ति
हरेक कार्यमा तिम्रै योगदान
सागरझैँ गहिरो तिम्रो माया
अविरल पाइरहुँ !
तिम्रै ममत्वको छहारी
तिम्रो आशीर्वाद फूल
तिम्रो काखको स्वर्ग
महसूस गरिरहुँ !
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: