निभेको छ आस्थाको दियो
आज फेरी एक पटक
उहि पुराना यादहरुले
बारम्बार सताइरहेका छन् ।
हिजो पत्थरमा ठोकिएर
चकनाचुर भएको दिल
आज एउटा नयाँ आकृती बनेको छ।
फेरी सुनसान खुशीहरु लिएर
मेरो मनको ढोका अगाडी
कोहि मुस्कुराइरहेझै लाग्छ।
उ त्यो हिमाल झैँ गरेर
बनावटी हासो छोडेर गरेको छ
एक अपरिचित दिल
मन भरी बेदनाका भारी लिएर
एक नजर यता फर्काउदै
म सोचिरहेको छु
खै कहाँ भयो परिवर्तन ?
उस्तै देख्छु मेरो भाईको सालिक
आमाको मलिन अनुहार
आसुको ताल
रक्तिम धरातल
बांजा खेत
रित्ता काख
पुछिएको सिंउदो
वैलिएका मखमली माला
फुटेको भाग्य
फर्केर कहिल्यै न आउने खुशी
के यहि हो परिवर्तन ?
हर बिहानीले मलाई प्रश्न गर्छ
कहाँ हराए खुशी ?
शान्ती दिदिलाई सोध्छन् गोधुली
कहाँ हराए मसंग लुकामारी खेल्ने
अमन चयन हरु?
म निरुत्तर ऐना अगाडी
नियालेर आफ्नै प्रतिबिम्ब
सोचिरहेको छु
आहो कत्ती भयानक परिवर्तन
मेरो आकृति ।
Liked by: