आफ्नो पहिलो चलचित्र “छड्के” निर्देशन गरेको लामो अन्तराल पछी निर्देशक निगम श्रेष्ठले आफ्नो दोश्रो चलचित्र “लाल पुर्जा” निर्देशन गरेका छन् । “लाल पुर्जा” नाम सुन्ने बित्तिकै सबै चलचित्र प्रेमीहरुको मनमा "मह जोडी"को पुरानो तर यादमा ताजा बसेको नाटक शृंखला आउने गर्दछ । के निगम श्रेष्ठको सौगात मल्ल र बिपिन कार्की अभिनीत यो चलचित्रले पुरानो लाल पुर्जाको स्तरलार्इ भेटाउन सक्छ त ? जानौं चलचित्र लाल पुर्जाको समीक्षामा ।
प्लट
लालपुर्जा दुइ दाजु भाइ (सौगात मल्ल र बिपिन कार्की) बीच भएको बाउको जग्गाको अंश बण्डा बीचको तालमेल नमिल्दा उत्पन्न भएको बिबादको कथा हो । गाँउका मुखिया हरिहर शर्मा, सधै झगडा गरिरहने यी दुइ दाजु भाइलार्इ मिलाउने प्रयास गर्दैछन् । के कस्तो उपाय लगाउछन् त मुखियाले ? के पछी यी दाजु भाइको सम्बन्ध सुध्रिन्छ ? यो सबै जान्न यहाँहरुले चलचित्र "लाल पुर्जा" हेर्नपर्ने हुन्छ ।
कथा पटकथा संवाद
बिक्रम सिंह थारु र निगम श्रेष्ठको कथा पृथक छ, राम बाबु गुरुङ निर्देशित पुरानो डुंगा जस्तै यो पनि दुइ दाजु भाइकै विबादको कथा हो । तर, मितेरी गाँउ , सौगातको प्रेम कथा , मुखियाको पात्रले यो कथालार्इ रोचक बनाएको छ । सुजित बिडारीको पटकथामा थोरै समस्या अवश्य छ, चलचित्रको सुरुवातको बिस मिनेटले दर्शकको ध्यान तान्न सकेको छैन । त्यसपछि भने बल्ल चलचित्रले लय पकड़छ र अन्त्यमा क्लाइमेक्स उल्लेखनीय छ । "पर्पल गाँउ" काल्पनिक भएपनि यँहाका बासिन्दाहरु मौलिक लाग्दछन् । चलचित्र हास्य दृश्यहरु निक्कै फितलो छ, पात्रहरुको दमदार प्रस्तुति बावजुद दर्शकहरु मन खोलेर हास्न भने सक्दैनन् ।
संवादको कुरा गर्न पर्दा, चलचित्रको मुख्य कमजोरी नै संवादहरु हुन पुगेका छन्, संवादहरु सटिक नहुदा यसले दर्शकको मुड बिगार्छ । रमाइलो र प्रभावशाली संवादहरुको कमि प्रसश्तै महसुस हुन्छ ।
कलाकार
सौगात मल्ल फाट्टफुट्टका केहि दृश्यहरुमा अलि धेरै नै लाउड लाग्दछन्, आफ्नो पात्र भन्दा पनि लाउड । त्यसबाहेक फेरी एकपटक फरक गेटअपमा उनले राम्रो काम गरेका छन् । बिपिन कार्कीको काम अव्वल छ, उनको अभिनयमा भने त्यो सन्तुलन महसुस हुन्छ । उनले आफ्नो प्रस्तुतिबाट दर्शकको मन जीत्नेछन् । मेनुका प्रधान र कामेश्वोर चौरसिया जस्ता अव्वल कलाकारहरुलार्इ निर्देशक निगम श्रेष्ठले आफ्नो चलचित्रमा त्यति स्थान दिन सकेका छैनन् । पर्दामा रहदा पनि कामेश्वोर चौरसियाको कमि दर्शकलाई महसुस हुन्छ । हरिहर शर्माले आफ्नो पात्रलार्इ न्याय गरेका छन् भने मिरुना मगरको काम राम्रो छ । खासमा चलचित्रले मिरुनाको इन्ट्री पछी लय समात्न थाल्दछ ।
प्राविधिक पक्ष र सङ्गीत
नरेन्द्र मैनालीको छायांकन उत्कृष्ट छ, उनले निर्देशक निगमको साथमा मिलेर अव्वल दर्जाको फ्रेमिंग गरेका छन् । लामो समयपछी यो स्तरको छायांकन देख्न पाउदा दर्शक उत्साहित हुनेछन् । लोकेश बज्राचार्यको सम्पादन ठिक छ , केहि दृश्यहरु नभएको भए फरक पर्दैन थियो होला जस्तो अनुभव हुन्छ, खासमा सुरुकै २० मिनेटमा त्यस्ता दृश्यहरु छोट्याउन सकिनेथियो । टाईम ल्याप्स ट्रान्जिसन भएतापनि चन्द्रमाको मोन्टाज अत्यधिक राखिएको छ । ज्यासन कुँवरको ब्याकग्राउण्ड स्कोर चलचित्रको अर्को मजबुत पक्ष हो । छायांकन जस्तै स्तरीय ब्याकग्राउण्ड म्युजिकले दर्शकलार्इ राम्रो महसुस गराउनेछ । साजन थापा मगरको कला निर्देशन पनि तारिफयोग्य छ ।
सङ्गीतको कुरा गर्न पर्दा नाइट ब्याण्डको मितेरी एन्थम उत्कृष्ट छ, चलचित्रमा अर्को पनि एउटा गीत छ र त्यो गीत पनि ठिक छ ।
निर्देशन
लामो समयपछी चलचित्र निर्देशन गरेका निगम श्रेष्ठले आफ्नो कथा दर्शकमाझ मजाले पुर्याएका छन्, काल्पनिक मितेरी गाँउमा भरपुर मौलिकता भर्न उनि सफल छन् । क्लाइमेक्समा उनको काम प्रशंशनिय छ । तर चलचित्रको सुरुवात थोरै कम्जोर भने पक्कै छ । उनले धेरै हदसम्म चलचित्रलार्इ न्याय गरेका छन् ।
समीकरण
समग्रमा लाल पुर्जा चलचित्र हेरिसकेपछि यँहाहरुको मन खिन्न भने हुदैन । फिक्का सुरुवात र संवाद सम्पादन नभएको हुदा समय समयमा दर्शकको मुड थोरै खिन्न हुन्छ । चलचित्रको कथा, बिपिन कार्की , छायांकन र ब्याकग्राउण्ड म्युजिकले चलचित्रलार्इ एक पटक हेर्न सकिने चलचित्र अवश्य बनाएको छ ।
Liked by: