अनमोल केसीको निक्कै नै प्रतिक्षित चलचित्र “कृ” अहिले सिनेमा घरमा प्रदर्शन भैरहेको छ, चलचित्रमा भएको अनमोलको भिन्न लुक्सले दर्शकमा चलचित्र कस्तो होला भनि कौतुहलता बढाएको अवश्य छ । सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गरेको यो चलचित्रले दर्शकहरुको चित्त बुझाउन सक्छ त ? जानौं चलचित्र कृ को समीक्षामा ।
प्लट
कृ अर्थात "बदला" "रिभेन्ज", कामेश्वोर चौरसियाले चलचित्रको एक दृश्यमा भन्छन् । कृ बदलाको कथा नै हो । लाहुरे अनमोल छुट्टीमा नेपाल फर्किएका छन् र उनको आमाले उनलाई बिवाह गर्ने प्रस्ताव राख्छिन् । बिवाह भन्नासाथ अनमोललार्इ आफुले गाँउमा छाडेर आएको बाल्यकालको साथि केसर अर्थात अदिति बुढाथोकीको याद आँउछ । उनि आफ्नो पुरानो साथिको खोजिमा गाँउ निस्किन्छन्, त्यसपछि के हुन्छ गाँउमा ? आखिर के हुन्छ केसरलाई र को सँग कसरि बदला लिन्छन अनमोलले ? यो सबै कुरा थाहा पाउन यहाँहरुले चलचित्र कृ हेर्नपर्ने हुन्छ ।
कथा पटकथा संवाद
निर्देशक सुरेन्द्र पौडेलको यो बदलाको कथालार्इ प्रदीप भारद्वाज र आशिष रेग्मीले लेखेका हुन् । प्रदीप भारद्वाज रोमान्टिक चलचित्र लेख्न माहिर छन्, तर कृ मा उनको लेखन फितलो पर्न गएको छ । कृ का रोमान्टिक दृश्यहरु निक्कै कमजोर छन् र फेक लाग्दछन्, अनमोल र अदितिको पहिलो नाटकीय भेट नै निक्कै कम्जोर लाग्दछ । त्यसबाहेक पहिलो हाफमा अदितिको मात्र दुइ दृश्य छ जसले अनमोल र उनि बीच को रोमान्स चित्त बुझ्दो हुनसकेको छैन । लेखकले अनमोललार्इ अदिति भन्दा बढी सरोज खनालसँग अल्मल्याएको हुदा पनि चलचित्रले पहिलो हाफमा लय पकड्नै सक्दैन ।अर्को तिर चलचित्रले बदलाको कथालार्इ अघि बढाईरहेको छ र ति दृश्यहरुपनि सुरुवातमा निक्कै कमजोर लाग्दछन् ।
चलचित्रको अन्तको एक घण्टाले लय पकडेको छ, तर त्यतिन्जेलसम्म दर्शक निक्कै बोर भैसकेका हुन्छन् ।
चलचित्रका प्राय सबै दृश्यहरु कहि कतै देखिसकेको लाग्दछ, संवादले धेरै हद सम्म सम्हाल्न सकिने दृश्यहरुमा नै संवाद फिक्का लाग्दछन् । फाटफुटका केहि संवाद छाडेर बाकि कुनै संवादले प्रभाव पार्दैन ।
कलाकार
अनमोल के सीको फ्यानहरुको लागि भने यो चलचित्र अव्वल सावित हुनसक्छ। उनको दुइ भिन्न लुक्समा “एन्ग्री म्यान” को अवतारलार्इ अवश्य रुचाइनेछ । नव कलाकार अदिति बुढाथोकीले कुनै प्रभाव छाडदिनन् , उनले थुप्रै मेहेनत गर्न जरूरी लाग्दछ । कामेश्वोर चौरसिया र सरोज खनालले आफ्नो उपस्थितिलार्इ खेर जान दिएका छैनन् । अनुप बिक्रम शाहीको काम ठिक छ ।
प्राविधिक पक्ष र सङ्गीत
पुरुषोत्तम प्रधानको छायांकन ठिक छ तर निर्देशक पौडेल आफ्नो चलचित्रको सम्पादनमा भने छरितो हुन सकेका छैनन् । सैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर धेरै दृश्यहरुमा लाउड लाग्दछ । चन्द्र पन्तको एक्सन दोश्रो हाफको एक्सन सिक्वेन्सहरुमा राम्रो छ ।
कृ को सङ्गीत चलचित्रको राम्रो पक्ष मध्य एक हो । अल्मोडा राना उप्रेतीको "एति एति पानि" र "उकालीमा" गीत सुन्दा मजा लाग्दछ । बिशेष पाण्डेको "जानी नजानी माया" पनि राम्रो गीत छ ।
निर्देशन
सुरेन्द्र पौडेलको निर्देशन केहि खास महसुस हुदैन, उनको चलचित्रका धेरै दृश्यहरु अपत्यारिलो लाग्छ । उनले अनमोल र अदितिको लभ स्टोरीलार्इ नाटकीय चित्रण दिएका छन् । चलचित्र अन्तसम्म आइपुग्दा दर्शकलार्इ कुनै इमोसनले छोएको हुदैन । पहिलो हाफमा ग्रिप बनाउन असफल निर्देशकको प्रयास केवल एउटा प्रयास मात्र भै सिमित भएको छ ।
समीकरण
निक्कै निक्कै नै कमजोर पहिलो हाफले गर्दा कृ को सुरुवात नै कमजोर भएको छ, तर दोश्रो हाफ धेरै हदसम्म लयमा छ जसले गर्दा हलबाट बाहिर निस्किदा दर्शकलार्इ थोरै सन्तोष अवश्य महसुस हुनेछ । सिंगल स्क्रिन दर्शकले सिट्ठी बजाउने ठाँउहरु चलचित्रमा छन् । तर धेरै अपेक्षा बोकेर गए कृ ले खिन्न बनाउनेछ । अनमोलको फ्यानहरुको लागि भने यो चलचित्र एक पटक हेरिन सक्ने चलचित्र बनेको छ ।
Liked by: