अभिनेता बिपिन कार्कीले ‘गोपी’ आफ्नै कथा रहेको बताएका छन् । बिहीबार पत्रकारसँगको साक्षात्कारमा उनले गोपीमा आफूले निर्वाह गरेको चरित्र र आफ्नो पृष्ठभूमि उस्तै रहेकाले फिल्म गरिरहँदा अभिनय नभई पुरानो समय बाँचेको अनुभव भएको बताएका हुन् । ‘मैले घाँस काटेको छु । खोले खुवाएको छु । स्कुल जाँदा दूधको ट्यामी बोकेर डेरीसम्म पुराएको छु । यो फिल्ममा पनि यी सबै गतिविधी पटकथामै समेटिएका थिए । त्यसैले यो फिल्ममा काम गरिरहँदा अभिनय गरेको हैन, पुराना दिनको पुनरावृत्ति गरिरहेको अनुभूति भएको थियो,’ अभिनेता कार्कीले भने ।
अभिनेता कार्कीले फिल्मको स्क्रिृप्ट पढेको भोलिपल्ट नै आफूले फिल्म खेल्ने सहमति दिएको स्मरण गर्दै फिल्म सन्देशमुलक र मनोरञ्जक भएको बताए । ‘ स्क्रिृप्ट एक बसाइमा पढेर सकेको यो पहिलो फिल्म हो । सितिमिति मैले फिल्म गर्नलाई चाँडै निर्णय लिँदिन तर यो फिल्म गर्नलाई मैले एक दिनभन्दा बढी समय लिइँन,’उनले भने, ‘ कथा त यसको मौलिक छँदैछ, प्रस्तुति पनि उत्तिकै रुचिकर छ । फिल्मले रमाइला गराउँदा गराउँदै गम्भीर सन्देश पनि दिन्छ ।’
फिल्मले गाई पाल्ने युवाको संघर्षलाई फिल्मको विषय बनाएको छ । निर्देशक दीपेन्द्र लामाले फिल्मको माध्यमबाट देशमै केही गरिरहेका र गर्न चाहाने युवाको साहसलाई सम्बोधन गर्न चाहेको बताए । उनले भने, ,‘गाईसँगको मानवीय संवेदना, दैनिकी, गाई पालन व्यावसाय, त्यो सँग सम्बन्धित अनेक पात्रका उतारचढाव र मानवीय भावलाई प्रस्तुत गरिएको छ ।’
फिल्मले कृषकको मर्का, उसको घरपरिवारभित्रको संघर्ष, व्यावसायिक क्षेत्रसँग जोडिएका अनेक पक्षमात्र होइन प्रेम र जीवनको उतारचढावको पनि व्याख्या गर्नेछ । लेखक सामीप्यराज तिमल्सेनाले गाईलाई माध्यम बनाएर देश अर्थात् मातृभूमिको सेवालाई कथा भन्ने माध्यम बनाएको बताए ।
‘देशमा पलायनको मनोविज्ञान हावी छ । जोकोही पनि देश छाड्दामात्र सुखी हुने मनोविज्ञानमा छन् । फिल्म यस्तै मनोविज्ञानको विरुद्धमा हो । देश छाड्नुअघि हामीले देशमै केही गर्ने प्रयास गर्यौं कि गरेनौं, फिल्मले छेड्न खोजेको बहस हो यो,’ उनले भने, ‘तर यसो भनेर हामीले आदर्शवादी फिल्म बनाएका छैनौं । जे आउँछ, फिल्मको भाषामा आउँछ ।’
कार्यकारी निर्माता श्रीधर पौडेलले फिल्मको कथा आफ्नो जीवन दर्शन नजिक रहेकाले पनि लगानीका लागि तयार भएको बताए । उनले भने, ‘चाहेको भए म जतिबेला पनि विदेश जान सक्थें । तर, यहीं केही गर्न सकिन्छ भनेर त्यो विकल्पमा मैले सोचेको पनि छैन । फिल्मको मुख्य चरित्र पनि त्यस्तै छ । हरहालमा देशमै बसेर केही गर्न चाहाने । यो दर्शनमा बाँचेका लाखौंले फिल्मले आफ्नो विषय उठाएको पाउनु हुनेछ ।’ माघ १८ मा रिलिज हुने फिल्ममा बिपिनसँगै वर्षा राउत, सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का आदि कलाकारको अभिनय रहेको छ ।
Liked by: