दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘घामपानी’को तामाङ सेलो गीत बिहीबार रिलिज गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘आपालाई मेरो’ बोलको गीतमा चन्द्रकुमार दोङको संगीत र फुलकुमार बम्जनको शब्द सुन्न पाइन्छ । गीतलाई सञ्जीव वाइबा, फूलकुमार बम्जन र जितु लोप्चनले गाएका हुन् ।
गीतको छायांकन सिन्धुलीको निबुवाटार गाउँमा गरिएको हो । प्रेम लोप्चनको कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीबाहेक प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले र अरुणा कार्कीको अभिनय हेर्न पाइन्छ । दयाले केकीलाई तामाङ संस्कृति अनुसार घर भित्र्याएको सन्दर्भ गीतले खुलाउँछ ।
‘घामपानी’ फिल्ममा तामाङ सेलो गीत पस्किन पाउँदा खुसी लागेको र गीतमा दुई संस्कृतिको फ्युजनका रुपमा डम्फु र सहनाई बाजाको मिश्रण सुन्न पाइने निर्देशक लामाले बताए । संगीतकार दोङका अनुसार नेपाली भाषाको फिल्मका लागि सेलो कम्पोज गर्न पाउँदा खुसी लागेको सुनाए । फिल्मका लागि अरु सेलोभन्दा बढी मिहेनत गरिएको उनको दावी छ ।
वैशाख १ गते रिलिज हुने ‘घामपानी’मा तामाङ युवक र बाहुन युवतीबीचको अन्तरजातीय प्रेमकथा प्रस्तुत गरिएको छ । फिल्मको माग अनुसार नै तामाङ सेलो समेटिएको निर्देशक लामाले अवगत गराए । गीतले फिल्मको प्रमोसनमा फाइदा पुग्ने पनि उनको आशा छ ।
Liked by: