वीर, जून र विक्रम बच्चैदेखिकै स्कूल क्लासका दौंतरी हुन् तर विक्रम बच्चैमा गाउँबाट टाढा जान्छ, जून बिक्रमकी प्रेमिका हुन र वीरले विक्रम गाउँ फर्किएर आउने वाचा गरेकाले जूनको ख्याल एउटा नासोका रुपमा गरिरहेको हुन्छ । यसै क्रममा उनिहरुबिच प्रेम हुन्छ तर जूनलाई वीरले साथीसंग गरको वाचाका कारण जूनप्रति उसको प्रेमको अनुभूति उजागर गर्न सकेको हुँदैन ।
जनै पूर्णिमा र गाईजात्रा लगत्तै आउने शनिवारले गर्दा यो हप्ता कामकाजी मान्छेहरुलाई निकै फुर्सतिलो बनाएको हुनुपर्छ र यसै कुरालाई मध्यनजर राखेर हुनसक्छ चाडवाडको विच अर्थात् गत बुधबार दुइवटा दमदार चलचित्रहरु एकैफेर रिलिजभएका छन्, 'चपली हाइट-२' र 'वीर विक्रम' । दयाहाङ्ग राई , नाजिर हुसैन, अर्पण थापा र अनुप विक्रम शाहीको मुख्य अभिनय रहेको चलचित्र 'वीर विक्रम'मा नायिका दिया पुनको अभिनय रहेको छ ।
'चपली हाइट-२' संग जुधेको यो चलचित्रको पनि समिक्षा हाम्रो पात्रोमार्फत तपाइसमक्ष प्रस्तुत गर्दैछाैं, दुवै चलचित्र हेर्ने या कुनै एउटा हेर्ने र चाडवाडको रौनक थप बढाउने यो तपाइको निजी विचार, आउनुहोस शुरु गरौं चलचित्र हेरेपछिको मन्त्थनतर्फ ।
प्लट
एउटा ग्रामिण र गाडी कुदाउने सडक सम्म नपुगेको गाँउको कथा हो यो र कथाकै क्रममा गाउँमा वाटो पुग्छ र मान्छेहरुको जनजीवन अलि सहज र व्यवसायीक गतिविधतर्फत केहि परिवर्तन हुन्छ । एउटा अनपढ खच्चर गोठाला जो बाटो नपुग्दा गाउँको एकमात्र सामान ढुवानीकर्ता र माध्यम हुन्छ उसको मित्रता अनि प्रेमको कथाबिचको सेरोफेरो हो यो चलचित्र ।
वीर खच्चरबाट सामान ढुवानी गर्ने वचनको पक्का मान्छे हो जसले जून अर्थात नायिका जो गाउँकै विद्यालयकी शिक्षिका हुन उनलाई प्रेम गर्दछ ।
वीर, जून र विक्रम बच्चैदेखिकै स्कूल क्लासका दौंतरी हुन् तर विक्रम बच्चैमा गाउँबाट टाढा जान्छ, जून बिक्रमकी प्रेमिका हुन र वीरले विक्रम गाउँ फर्किएर आउने वाचा गरेकाले जूनको ख्याल एउटा नासोका रुपमा गरिरहेको हुन्छ । यसै क्रममा उनिहरुबिच प्रेम हुन्छ तर जूनलाई वीरले साथीसंग गरको वाचाका कारण जूनप्रति उसको प्रेमको अनुभूति उजागर गर्न सकेको हुँदैन । गाउँमा एउटा अर्का काजी (अर्पण थापा)ले पनि जूनलाई उत्तिकै माया गर्दछन्, यसै क्रममा एउटा अञ्जान ब्यक्तिका झै गाउँमा विक्रमको फिर्ति सवारी हुनपुग्दछ, जूनलाई लिएर फर्किनेगरी... त्यसपछिका कथाकालागी चलचित्र हेर्नैपर्ने हुन्छ ।
कथा, पटकथा र संवाद
चलचित्रका कथा, पटकथा अनि संवाद ठिकै छन् । ग्रामिण परिवेशको शिवालय गाउँको कथामा आउने हरेक संवादहरु सुहाउँदा छन् । अलिकती ग्रामिण चाडबाड, रितिरिवाज अनि रहनसहन भन्दा पनि कथाको धारमै बढी चलचित्र केन्द्रित भएकाले पनि घरि घरि सांस्कृतीक झझल्कोहरुको कमी कथामा पाउन सकिन्छ । थोरै रोदीघर, तिहार या अन्य पर्वहरुको ग्रामिण तरिकाले मनाएको दृश्य र कथाहरु भएको भए अझ राम्रो हुनेथियो । नायिकाको संवाद उच्चारण त्यति प्रष्ट नभएतापनि दयाहाङ्ग लगायतका अन्य कलाकारहरुको अभुतवूर्व संवाद र अभिनयले चलचित्रलाई एउटा राम्रो उचाँई दिएकै छ । गाउँको खोलामाथिको तुइनलाई गाँसेर बनाइएको यो चलचित्रका कथा र परिघटनाहरु वास्तवमै लोभलाग्दा छन्, अर्को हिसाबमा भन्नुपर्दा तुइनबाट पूलसम्मको परिवर्तन नै हो, विरविक्रमको कथा ।
तर विचमा आउने अन्य केही परिघटनाहरु जस्तै बिरामी आमाको एक्लै र एक्कासी तुइनबाट लडेर मृत्यू हुनु, विक्रमको नयाँ अवतारमा गाउँ प्रवेश, विचमा कुनै चिठ्ठी-खबर वेगैर उसको यो सञ्चारको यूगमा भएको असुहाउँदो गुप्तवास आदि चलचित्रका अनुत्तरित प्रश्नहरु हुन् । विक्रमको खच्चरको हूलमा डिस होम बाेकेर ल्याउँदै गरिइएको देखाइन्छ तर एक पटक पनि उसले छोडि गएको गाउँको उसका दाैंतरीहरूबिच कुनै सञ्चार भएको देखिदैन, चलचित्रमा, "कथा अाज भन्दा करिब २५ वर्ष अघि को हो" अथवा यस्तै केही जानकारी सम्प्रेषण गरेको भए हुने ।
स्कूले साथीहरुका रुपमा देखाइएका दिया अर्थात चलचित्रकी हिरोइन ब्याचलर पास गरेर शिक्षिका बन्छिन, होटलमा भाँडा माँझ्ने विक्रम शहर गएर मोटरसाइकलमा फर्किन्छ तर सोही क्लासका वीर भने खँच्चर जोत्ने अनपढ कसरी भए भन्ने कुरामा चलचित्र मौन छ । पहिलो हाफ अनि बिशेष गरि चलचित्रको शुरुवात एकदमै दमदार छ र पछि कथा छिप्पीदै जाँदा चलचित्रले त्यो दम गुमाएको जस्तो लाग्न सक्छ तथापि अन्त्यसम्म चलचित्र हेर्नलायक नै छ ।
प्राविधिक पक्ष
प्राविधिक पक्षमा चलचित्र अब्बलनै छ तथापि हिमाल, पहाडका गाउँले मनोरम दृश्यलाई भने रौनकतापूर्वक क्यामरामा कैद गर्नभने चुकेको छ चलचित्र । यसमा संगीत अब्बल छ, जुहारी जस्तो लाग्ने एउटा ग्रामिण स्वादको गीतलाई त अहिलेसम्मकै मिठो भाका र सुहाउँदो छायाङ्कन भन्दा फरक नपर्ला । कला निर्देशन पनि अब्बल छ तथापि दयाहाङ्गलाई पात्र सुहाँउदो उमेरको अभिनेताका रुपमा प्रस्तुत गर्न चलचित्र चिप्लिएको छ, अर्थात उनि घरि घरि चाहिनेभन्दा धेरैनै बुढा देखिएका छन्, अरु कुरामा चलचित्र ठिकठाक छ ।
निर्देशन
हँसिया पछि देखिएक मिलन चाम्सले पक्कैपनि हँसिया जस्तो अपराधको विषयमा बनाएको चलचित्रभन्दा यो प्रेम र सम्बन्धको विषयको चलचित्रमा धेरै न्याय गरेका छन् तथापि कथा र परिघटनाहरुको माला उन्ने कुरामा निर्देशन पक्ष पटक पटक चिप्लिएको छ, उत्कृष्ट प्लट र संभावनात्मक परिवेश भएतापनि त्यस्लाई निर्देशन पक्षले क्यास गर्न सकेको छैन । विक्रमको शहरको वास अनि त्यसको वेखबर वसाई पछिको पूर्नआगमन, वीरको दोधारे शून्यता र काजीको आशक्ति घरिघरि न्यायोचित लाग्दैन । तथापि सिगंल थिएटरका दर्शक अनि विशेष गरि दयाहाङ्ग, अर्पण अनि अनुपका फ्यानलाई चलचित्र धेरै राम्रो लाग्नेछ र वास्तवमै छ पनि । कलाकारको नाम र अभिनय विर्षिने हो भने चलचित्र 'वीर विक्रम'मा दम छैन ।
संक्षेपमा
चलचित्रको समिकरण ठिकठाक छ, अर्पण थापाको अभिनय अझ विशेष समिकरणात्मक र दर्शकलाई तान्ने खालको छ । दयाहाङ्ग र दियाको समिकरण पनि मिलेको छ । ताराप्रकाश लिम्बुको संगीतले फिल दिन्छ र परिघटनाहरु चित्त बुझ्ने खालकै छन् । गाउँको यथार्त कथा र ग्रामिण विषयवस्तुहरूमा रमाउने मान्छे हुनुहुन्छ भने 'वीर विक्रम' एउटा अाैसत् राम्रो चलचित्र हो ।
हामी कूल ५ मा ३.५ अकं प्रदान गर्दछौ ।
---
हाम्रो पात्रोको साप्ताहिक अंक 'चलचित्र समिक्षा' कालागि मन्दिप गाैतमको सहयोगमा सुयोग ढकालले तयार पार्नुभएको ।
Liked by: