२०६२ र ०६३ सालको आन्दोलनपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा नेपालले वैशाख ११ गते १७औँ लोकतन्त्र दिवस मनाइरहँदा हकिकतै लोकतन्त्रको गरिमा र त्यसप्रतिको विश्वासमा प्रश्न चिह्न खडा भएको पो हो कि भन्ने लाग्न थालेको त छैन ?
यस प्रश्न आज हामी सबैलाई राख्दै यस दिन बिशेष आलेख सुरु गर्न चाहे ।
राता झन्डा र परिवर्तनको नारा लागेको वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रूपमा स्मरण गर्छन् । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्त्वपूर्ण भूमिका रहेको छ । जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा आज १&औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
लोकतन्त्र भनेको के हो ?
जनताको प्रत्यक्ष शासन हुने व्यवस्थालाई नै लोकतन्त्र भनिन्छ । लोकतन्त्रमा जनतामा नै शक्ति केन्द्रित हुन्छ । जनताले छानेका नेतृत्वले नै शासन गर्ने गर्दछन् ।
नेपालमा लोकतन्त्र दिवसको पृष्ठभूमि
राजसंस्थाको पारिवारिक र जहानियाँ प्रत्यक्ष शासन अन्त्य र लोकतान्त्रिक गणतन्त्रको संस्थागत भएको दिन देशभर भव्यताका साथ मनाइँदै छ । २०६२ र ६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन पश्चात् वैशाख ११ गते निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो । त्यति बेला सशस्त्र युद्धरत तत्कालीन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरू बिच सम्पन्न १२ बुँदे सहमति पश्चात् १९ दिने ऐतिहासिक जनआन्दोलन भएको थियो ।
२०६३ जेठ ४ गते बसेको पुनः स्थापित संसद् बैठकले राजदरबार को अधिकार कटौती गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गर्यो । २०६३ मङ्सिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आयो ।
यसैको आधारमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत् अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गरेको थियो ।
जनआन्दोलनको सफलतासँगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो । आजैका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद् पुनः स्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भनी शासन सत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यही वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो ।
नेपालको पहिलो लोकतान्त्रिक संविधान
६२ अनि ६३ को आन्दोलनलाई नेपाली राजनीतिकै नयाँ मोड र अत्यन्त महत्त्वपूर्ण घडीका रूपमा लिइन्छ । देशलाई समृद्धिको बाटोमा हिँडाउन संविधानसभाको यात्रा यही आन्दोलनबाट सुरु भएको थियो । यसको फलस्वरूप सबै नेपालीको आकाङ्क्षा पूरा गर्न २०७२ असोज ३ गते "नेपालको संविधान(२०७२)" जारी हुन सफल भयो ।
प्रमुख सात राजनीतिक दलको शान्तिपूर्ण सडक सङ्घर्ष र तत्कालीन माओवादीको सशस्त्र सङ्घर्ष र बलिदानको कारणले नेपालका झन्डै २५० वर्षदेखि शासन गर्दै आएको राजतन्त्र अन्त्य भयो । शासन व्यवस्थाको परिवर्तन सँगै तत्कालीन राजा ज्ञानेन्द्र नागरिकको रूपमा रहन तयार भए
नेपाली जनताले आफ्नो राष्ट्रप्रमुख आफैँ छान्न पाउने गणतान्त्रिक व्यवस्था अवलम्बन गरेका छन् । दोस्रो जनआन्दोलनले सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता नेपालको मौलिक विशेषतासहितको प्रणालीलाई स्थापित गरेको छ ।
राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको छ । पिछडिएका र सिमात्तकृत वर्ग, क्षेत्र, तह तथा तप्कालाई राज्यको मूल प्रवाहमा ल्याउने कसरत जारी छ ।
जनआन्दोलनको म्यान्डेट अनुरूप नै सङ्घीय शासन प्रणाली आत्मसात् गरिएको छ । सात प्रदेश र अधिकार सम्पन्न ७५३ स्थानीय तहमार्फत जनताले गाउँमै सिंहदरबारबाट पाउने सेवा तथा सुविधा पाएका छन् । नयाँ प्रणाली अवलम्बन गर्दा आएका असजिला र कमजोरीलाई क्रमशः सुधार गरेर लैजाने दिशामा सरकार लागिपरेको छ ।
के नेपालमा हामी मध्य जो कोहीले पनि राष्ट्रपति हुने सम्भावना बोकेका छौँ ?
वर्षौसम्म राजसंस्था पद्धतिमा देशको मुख्य शासक राजा रहने व्यवस्था थियो । ४६ सालपछि संवैधानिक राजतन्त्रको स्थापना भएता पनि राजसंस्थाको वर्चस्व विभिन्न प्रकारमा शासन पद्धतिमा रहिनै रहेको थियो । देशको शासन पद्धतिमा मुख्य पदमा रहनकालागी राज परिवारमै जन्मिन पर्ने क्रमको अन्त्य गर्दै आज स्वतन्त्र लोकतान्त्रिक नेपालमा हामी मध्य जो कोहीले पनि राष्ट्रपति हुने सम्भावना बोकेका छौ । आजको मितिमा सङ्घीय गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपति, नेपाली जनताकै छोरी महामहिम राष्ट्रपति पदासीन हुनुहुन्छ । आजको दिन महामहिम राष्ट्रपतीले राष्ट्र र राष्ट्रवासीको नाममा सन्देश दिने चलन छ ।
नेपालमा लोकतन्त्र दिवस कसरी मनाइन्छ ?
नेपालमा लोकतन्त्र दिवसको अवसरमा चोक चौताराहरूमा दीप प्रज्वलन, नगर तथा टोल सरसफाइ, प्रभात फेरी र प्रवचन, जनआन्दोलनका शहीदहरूको सम्झना र घाइते तथा उनीहरूका परिवारलाई सम्मान गरिँदै आएको छ । आज मानवअधिकार र लोकतन्त्रका पक्षमा क्रियाशील दर्जनौँ सङ्घसंस्थाहरूले खबरदारी सभाहरू आयोजना गर्ने गरेका छन् । उनीहरूले ऐतिहासिक आन्दोलन पश्चात् गठन भएको संविधानसभाले जारी गरेको नेपालको संविधान(२०७२) को प्रभावकारी कार्यान्वयनका लागि सरकार समक्ष माग गर्ने गरेका छन् ।
मच्छिन्द्रनाथ रथयात्रा प्रारम्भ
यस वर्षको मत्स्यनाथ जात्राको श्रीगणेश भएको छ, आज बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने यस उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथिसम्म करिब २ महिनासम्म मनाइन्छ । सहकालका देवता मछिन्द्रनाथ, जस्लाई मत्स्यनाथ, गुरु करुणामय अनि नेवाः भाषामा बुंगद्यः का रुपमा पनि पुकारा गरिन्छ । विगतको १६०० भन्दा धेरै वर्षदेखि यो प्राचिन जात्रा उत्तिकै उत्साह, भक्ति अनि पवित्रताका साथ मनाइदै आएको छ ।
मच्छिन्द्रनाथ को हुन् ?
प्राचिन बुङ्गमती गाँउ मच्छिन्द्रनाथको जन्मथलो मानिन्छ, मच्छिन्द्रनाथ एकजना सिद्धपुरुष हुनुहुन्छ जस्ले प्रकृतिका हरेक अवयवहरुमाथि नियन्त्रण गर्न सक्नुहुन्छ । सहकालका यि देवतालाई तसर्थ उपत्यकावासीहरुले वर्षाका देवका रुपमा हजारौंवर्ष देखि पूज्दै आएका छन् । बाग्मती सभ्यतामा मत्स्यनारायणका अनेक रुप छन्, हिन्दुहरु यिनलाई करुणामयी गुरुका रुपमा पूज्दछन् भनें बौद्धमार्गिहरु यिनलाई पञ्चबुद्धमध्य चौंथो स्वरुप पद्धपाणीका रुपमा पूज्दछन् ।
आज के के गरिन्छ ?
आजका दिन म्हेपी डाँडोको माटोले बनेंको करुणामयीको मूर्तिमा कलशमा रहेको देवताको आत्मालाई प्रतिस्थापन गरिन्छ । आज स्नान गराएर पवित्र करुणामयीको धरोहरलाई अक्षयतृतियाका दिन गौदान सहित शान्तीस्वस्ती गरिन्छ । यसपछि ललितपुर र काठमाण्डौका बिभिन्न ठाँउहरुमा २ महिनासम्म अवलोकेश्वरको रथलाई परिक्रमा गराइन्छ, अन्तत असार शुक्ल चौथिमा जावलाखेलमा भोटो देखाएर यस रथयात्राको औपचारीक अन्त्य गरिन्छ र प्रतिमालाई लगेर प्राचिन बुङ्गमती गाँउमा राखिने चलन छ ।
योगी मत्स्यनारायणलाई गोरखनाथका गुरु भनेर पनि चिनिन्छ, गो अर्थात पृथ्वी र रख अर्थात रक्षा तसर्थ गोरखनाथ पृथ्वीका रक्षार्थ तैनाथ एक अमर योगी हुन् जस्लाई दिक्षा योगी मत्स्यनारायणले दिनुभएको हो । गोरखनाथ मत्स्यनारायणका पुत्र पनि हुनुहुन्छ, कुनै दिन अर्को आलेखमा यि पितापूत्रको मानस समबन्धको ब्याख्या गर्नेछु । नेपाली राजपरिवारको निकटतम समबन्ध परापूर्वकालदेखि नै योगी गोरखनाथसंग रहेको पाइन्छ, गोरखनाथका बिशिष्ट अर्चना र पूजा राजपरिवारका सदस्यहरुले समयसमयमा गरिआएको पाइन्छ ।
हजारौंवर्षदेखि योगी मत्स्यनारायणको कृपा विश्वमा रहेको छ, मत्स्यनारायण र गोरखनाथ योगीहरुका कृपा अनेकन रुपमा विश्वमा वर्षिनेछ, हाम्रो विश्वास छ ।
आजवाट मच्छिन्द्रनाथको रथयात्रा आरम्भ भएको छ ।
वर्षाको कमी नहोस्, अन्नका दाना दानामा पुष्ट सामथ्र्य रहोस्, विश्वको कल्याण होस्, प्राणिमा प्राण होस् ।
आद्यगुरु शंकराचार्य जयन्ती
शङ्कराचार्य को हुनुहुन्छ ?
शङ्कराचार्य भगवान् शिवका अवतार हुनुहुन्छ । संक्षेपमा भन्दा पृथ्वीमा जन्म भएका आजका सबैभन्दा सिद्ध पुरुषहरूको सूचीमा जगतगुरु शङ्कराचार्यको नाम अग्रणी स्थानमा आउँछ । उहाँ केरलाको कालाडीमा जन्मनुभएको थियो। र वहाँको गुरुको नाम गोविन्द पद हो ।
करिब १५०० वर्षअघि उहाँको जन्म भएको बेला भारतमा हिन्दु धर्म लोप हुँदै गएको थियो र बौद्ध धर्मले तीव्र गतिमा आकार लिइरहेको थियो । उहाँकै कारणले हिन्दु धर्मले फेरि आफ्नो वैभव प्राप्त गर्यो र जगतगुरु शङ्कराचार्यको मार्गदर्शन अनुरूप नै सनातन दर्शनमा बौद्ध दर्शनलाई पनि समावेश गर्दै एउटा समावेशी दर्शनको सुरुवात भयो ।
वहाँले अद्वैत दर्शनको प्रचार गर्दै भारतीय उपमहाद्वीप भरि यात्रा गर्नुभएको थियो । वहाँका अनुसार सबै कुरा परम वा ब्रह्मको विस्तार थियो। जस्तै, निर्वाणशटकम्मा उहाँ भन्नुहुन्छ
"मनोबुद्ध्याहमकार चित्तनिरहम् न च श्रोत्र जिह्वे न च घराना नेत्रे "
जगतगुरु शङ्कराचार्य को योगदान
धर्म रक्षा अनि समयसापेक्ष धर्मको वैज्ञानिकीकरणका लागि शङ्कराचार्यको युगान्तकारी देन छ ।भारत वर्षका आधुनिक धर्म संस्थापक शङ्कराचार्यबाट प्रतिपादित अद्वैत दर्शन, सूत्र र सिद्धान्तहरू अझै पनि धर्मशास्त्रहरूमा कालजयी वचन बनेका छन् ।
वहाँकै प्रयत्नबाट वैदिक सनातन हिन्दु धर्मको संरक्षण भई हिन्दु नवचेतनाको रक्तसञ्चार गरिएको थियो । शङ्कराचार्य अद्वैत वेदान्तका संस्थापक हुनुहुन्छ र श्री शङ्कराचार्यले नेपालसहित सम्पूर्ण हिमवत्खण्डमा महत्त्वपूर्ण भ्रमण गरेको पौराणिक प्रमाणहरू छन् ।
भारत केरलाको कलाडीमा जन्मिएका शङ्कराचार्य केवल ३२ वर्षसम्म मात्र बाँचेको पाइन्छ । यसबिचमा हजारौँ वर्षमा गर्न नभ्याइने कार्य शङ्कराचार्यबाट भएको पाइन्छ । शङ्कराचार्यले केवल ८ वर्षको उमेरमा गुरुको खोजीमा हजारौँ किलोमिटर पर नर्मदा खोलाको किनारसम्म यात्रा गरेको र गोबिन्दपादा गुरुसँग दीक्षा लिएको पाइन्छ ।
नर्मदा तटको ४ वर्षको बसाइँमा शङ्कराचार्यले वैदिक ज्ञान र साधनामा उच्चतम बिन्दु हासिल गरेको बताइन्छ । भारत वर्षका ४ कुनामा ४ वटा मठहरू स्थापना गरेर सनातन धर्मको संस्थागत रक्षार्थ शङ्कराचार्यले गरेको संरचना अझै कायम छ ।
भारत वर्षको लम्बाइ र चौडाइ हुने गरी शङ्कराचार्यले सबैजसो भू–भागमा गएर दीक्षा दिने र त्यहाँ भएका अन्य विद्धानसँग शास्त्रार्थ गर्ने बताइन्छ । यस क्रममा अन्य धर्म या दर्शनमा गएकाहरूलाई पनि सनातन धर्ममा फर्काउने पावन कार्य शङ्कराचार्यले नै गरेको इतिहास छ ।
शङ्कराचार्य एउटा असल कवि पनि हुनुहुन्छ । सौन्दर्य लहरी, शिवानन्द लहरी, निर्भाना शल्कम लगायत थुप्रै भक्तिपूर्ण कविताहरू शङ्कराचार्यका देन हुन् । वैदिक सनातन दर्शनले अब अर्को शङ्कराचार्य चाहेको छ, ज्ञानको अनन्त श्रोत शङ्कराचार्य अमर रहुन् ।
शङ्कराचार्यको जन्म सम्बन्धी कथा
धार्मिक मान्यता अनुसार शङ्कराचार्यलाई आदी देव भगवान् शिव शङ्करका अवतार मानिन्छ । एक पौराणिक श्रुति अनुसार, शङ्कराचार्यका पिता शिव गुरुको विवाह विशिष्टा देवीसँग भएको थियो । तर उनीहरूका सन्तान भएका थिएनन् । शिव गुरुले सन्तान प्राप्तिको इच्छा पूरा गर्न श्रद्धापूर्वक भगवान् शिवको तपस्यामा लीन भए ।
उक्त तपस्याका प्रभावले भोले शङ्करले शिव गुरुलाई सपनामा दर्शन दिए । भगवान् शङ्करले वरदान माग भने, शिव गुरुले दीर्घायु र सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे । तर भगवान् शिवले सर्वज्ञ व्यक्ति दिर्घायू नहुने र दिर्घायू व्यक्ति सर्वज्ञ नहुने भएकाले कुनै एक मात्र माग्न भने ।
शिव गुरुले सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे । शिवजीले पनि सर्वज्ञ पुत्र प्राप्ति हुने वरदान दिँदै उक्त पुत्रका रूपमा स्वयं आफ्नो जन्म हुने बताइदिए । यसरी शिव गुरुका परिवारमा विशिष्टादेवीले पुत्रका रूपमा शङ्करलाई जन्म दिइन् ।
तिनै शिवको अवतारका रूपमा जन्मिएका कारण वहाँलाई शङ्कराचार्य भनिएको थियो । शङ्कराचार्य सामान्य बालक थिएनन् । उनले ७ वर्षकै उमेरमा वेदको पूर्ण अध्ययन गरेका थिए भने १२ वर्षमा सर्व शास्त्र पढेका थिए । यसै कारण उनी आदि गुरु शङ्कराचार्यका नामबाट प्रसिद्ध भए ।
प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन महान् हिन्दु दार्शनिक एवं धर्मगुरु शङ्कराचार्यको जन्म जयन्ती मनाइन्छ ।
शङ्कराचार्यको जन्म ईश पूर्व ७८८ मा भएको थियो भने मृत्यु ९२० मा भएको थियो । शङ्कराचार्य जयन्तीका अवसरमा मठहरूमा पूजाआजा गरिन्छ ।
वैदिक विद्वानहरूले वेद पदहरू वाचन गर्छन् । शोभा यात्रा निकालिन्छन् । साथै वैदिक सनातन हिन्दु धर्मको उत्थानका लागि छलफल र प्रवचनहरू आयोजना गरिन्छन् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: