विषय प्रवेशः
‘अँध्यारो कोठा’ प्रसिद्ध साहित्यकार सरुभक्तज्यूले बालबालिकाहरूका लागि लेख्नुभएको बाल उपन्यास हो । परिचय पब्लिकेसनले यसलाई बजारमा ल्याएकाे हाे । ७४ पृष्ठको यस उपन्यासमा अमानवीय पात्र माकुरो, माउसुली, भँगेरा र भँगेरीको कथामार्फत जीवन र जगतको यथार्थता चित्रण गरिएको छ । जुन बालबालिकाका लागि मात्र नभई सबै वर्ग र उमेर समूहका लागि ज्ञानबर्द्धक रहेको छ ।
विषयवस्तुः
माकुरो र माउसुली दुबै अण्डाबाट निस्कने बित्तिकै आफू बाँच्नका लागि आफै सङ्घर्ष गर्न सक्षम हुन्छन् । अरु प्राणीको जस्तो आफ्ना बा आमाको कुनै ठेगान नभएका उनीहरूको लालन पालन कसैले गर्दैनन् । त्यसैले उनीहरूलाई प्रकृतीले नै बाँच्नका लागि आफै सङ्घर्ष गर्न सिकाएको हुन्छ । उनीहरूलाई परिवार, वंश, माया ममता भनेको के हो भन्ने अत्तोपत्तो हुँदैन । माकुरो र माउसुलीको बासस्थान एउटै घरको भित्तो भए तापनि उनीहरू एक अर्का देखि डराउथेँ पनि अनि रिसारिस पनि गर्दथे । डराउनाको कारण भने एक अर्काको सिकार भइने पो हो कि भन्ने थियो भने रिसाउनाको कारण चाँहि आफ्नो इलाकामा पसेर आफ्नो लागि भेटिएको सिकार अर्कोले पो खाइदिने हो कि भन्ने थियो । उनीहरू बिच बिशेषतः इलाका सम्बन्धी कुरामा विवाद भइ रहन्थ्यो । त्यही घरको भित्ताको खट्वालमा एक जोडी भँगेरा र भँगेरी आएर गुँड बनाए । शुरुमा माकुरा र माउसुली उनीहरूदेखि डराए तर भँगेरा र भँगेरीले उनीहरूलाई देखेकै थिएनन् । पछि देखेपछि पनि भँगेरा र भंगेरीले नडराउन भने तापनि उनीहरूले पत्याएनन् । भंँगेरा र भँगेरीले गुँड बनाई चार वटा फुल पनि पारिसकेका थिए । माकुरा र माउसुली दैनिक झगडा गरिरहन्थे । उनीहरूले माकुरा माउसुलीको दैनिक झगडा गर्ने बानी देखेर उनीहरूलाई धेरै सम्झाए पनि तर माकुरा र माउसुली सम्झन तयार भएनन् । भँगेरो पनि आफूले जानेको कुरा अरुलाई बुझाउन नसकेकोमा दुःखी भयो । भँगेराको बच्चा केही ठूला हुँदै थिए । उनीहरू पनि माकुरा र माउसुलीको झगडा देखेर र आफ्ना बा आमाले जति सम्झाउँदा पनि नसम्झिएको देखेर दिक्क भएका थिए । भँगेराले संसार धेरै ठूलो छ यति सानो इलाकामा मेरो र तेरो भनी झगडा नगर्न अनुरोध गर्छ तर भँगेराको केही सीप लाग्दैन । भँगेराले प्रश्न गर्छ कि विशाल आकाशमुनि बस्ने प्राणीहरूको मन किन साँघुरो भएको होला ? त्यसपछि पारिवारिक सल्लाहअनुसार भँगेराले आफ्नो गुँड, बासस्थान अनि समाज छोड्न पुग्छ ।
निष्कर्ष :
सरल भाषामा लेखिएको यो पुस्तक समसामयिक र निकै नै ज्ञानबर्द्धक रहेको छ । यस उपन्यासमा लेखिएका कतिपय भनाइ र तथ्यहरू मलाई निकै नै मन छुने खालका लागे । केही ती भनाइहरूलाई मैले तल प्रस्तुत गर्ने जमर्को गरेको छुः
-छिमेकीको इज्जत गर्न जान्नु पर्दछ ।
-आफूभन्दा निर्बलिया प्राणीलाई मारी खानु हुन्न ।
-कसैको बाँच्ने अधिकार खोस्नु हुन्न ।
-कसैले कसैलाई नखाने दिन कहिले आउला ?
-सकारात्मक परिवर्तनका लागि आशावादी हुनु पर्छ ।
-अहिंसा र बन्धुत्वकाे शिक्षा एक प्रभावकारी शिक्षा हाे ।
-एउटै थलाेमा बसाेबास गर्ने प्राणीलाइ छिमेकी भनिन्छ ।
-आफ्नो अस्तित्व जोगाउनका लागि आफू जस्तै छोराछोरी पाउनु र फेरि पनि तिनीहरूबाट सन्तान पैदा हुने परम्परा नै वंश हो ।
-आफ्नो अस्तित्व जोगाउन अरु सँग झगडा गर्नु कदापी हुँदै होइन । मायाँ, ममता, करुणा र क्षमा जस्ता कुराहरूले गर्दा प्राणीहरूको अस्तित्व स्वार्थमा हुँदैन बलिदानमा हुन्छ ।
-सन्तान भनेका शरिरका मात्र सन्तान हैनन् विचारका पनि सन्तान हुन् । त्यसैले असल समाज र देश निर्माणका लागि सबै बाबुआमाले आफ्ना सन्तानलाई राम्रा विचार सिकाउँदै जानुपर्दछ । पालना गर्नेले 'पनि राम्रा विचारहरूको पालना गर्नुपर्दछ ।
यस उपन्यासका बिच बिचमा आएका पात्रहरू लामखुट्टेले बाठोले भागेर ज्यान जोगाउँदो रहेछ भन्ने कुरा सिकाउँदछ भने कमिलाले समाजमा बसेपछि आफूमात्र बाँचेर हुँदैन अरुलाई पनि बाँच्न दिनुपर्दछ । समाजमा मिलेर बस्ने, बाँडीचुँडी खाने गर्नुपर्दछ भन्ने कुरा सिकाउँदछ । राम्री पुतलीले झगडा गर्दा झगडा गर्ने दुवैको दोष बराबरी हुन्छ भनी सम्झाउँदा उनीहरू भने त्यही पुतलीलाई कसरी खान सकिन्छ भनी दाउ हेरिरहेका थिए । पुतलीले याे कुरा थाहा पाएर भागिहाल्याे ।
सुशान्त पोखरेल
कक्षाः ५ ‘याङ्ग्रा’
डियरवाक सिफल स्कुल
Liked by: