Saparu (GaiJatra)/Ropai Jatra | सापारु (गाईजात्रा) (काठमाडौँ बिदा)/रोपाईं जात्रा | २०८० भदौ १५ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Aug/Sep 2023
    २०८० भदौ
    १५
    शुक्रवार
    Sep 01, 2023
    भदौ कृष्ण द्वितीया
    सापारु (गाईजात्रा) (काठमाडौँ बिदा)/रोपाईं जात्रा ( Saparu (GaiJatra)/Ropai Jatra )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    सापारु (गाईजात्रा)(काठमाडौँ बिदा)/रोपाईं जात्रा





    काठमाडौँका नेवाः समुदायले आज सापारु अर्थात गाई जात्रा मनाउँदैछ । सापारू पर्वलाई नेपाली भाषामा गाई जात्रा भनिन्छ।"सा" को अर्थ गाई र "पारू" को अर्थ प्रतिपदा तिथि हो जुन तिथि मा यो चाड मनाइन्छ।

    गाई जात्राको पृष्ठभूमि

    गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाई को जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरु का अनुसार यस दिन काठमाडौँ उपत्यका वासीहरूले यम अर्थात् मृत्युका देवता यमराजलाई पूजा गर्ने गर्दछन् ।



    विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकी थिइन् । मृत्यु भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्थलाई राजाले कैयनपल्ट बुझाउन खोजे पनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।

    राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस वर्षभरिमा राज्यमा मृत्यू भएका नागरिकहरूका आफन्तलाई गाई सहित दरबार अगाडीबाट रानीले देख्ने गरि जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाडौँ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारिक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा विभिन्न ठट्टा, चटक र व्यङ्गहरू पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा बिसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन ।

    अर्कोतर्फ जात्रामा आएका व्यक्तिहरूले विभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी व्यक्तिहरुको आडम्बर र गरिबका पीडालाई साङ्केतिक रूपमा व्याख्या गर्ने सुरुवात गरेका थिए । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिका नकारात्मक पक्षहरूलाई व्यक्ति समाजमा कलात्मक ढङ्गले चिरफार गर्ने चाड पनि हो । त्यस समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्ग्यात्मक ढङ्गले जनताहरूले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए । गाईजात्रामा सुरुवात गरिएको यो व्यङ्गको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनीतिकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित व्यक्तिहरूलाई लक्ष्य बनाएर विसङ्गति, विकृति, कुरीति र आडम्बरलाई छेड हान्ने चलनका रुपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको व्यङ्गप्रति इख राख्न पाइँदैन । "हिन्दु धर्ममा गाई पवित्र जनावर हो। हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो।

    गाई जात्रामा के के गरिन्छ ?
    आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रही आएको छ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ । विभिन्न मुखुण्डो र रङ्गीचङ्गी पोसाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा बितेका आफन्तजनको तस्बिर सहित जात्रामा समावेश हुन्छन् । गाईजात्रा काठमाण्डौको प्रमुख चाड भएता पनि देशका अरू ठाउँ र सहरमा पनि गाई जात्राको मनाइँदै आइएको छ । हास्य कलाकारहरु आ-आफ्ना प्रहसन, व्यङ्ग्य र हाउभाउले हामीलाई हँसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा, रैती, कर्मचारी, सिपाही र चिया पसलेसम्मलाई पेच हान्ने चलन छ । एक किसिमले भोग्दै, देख्दै आइएका समाजका विकृति, घटना, परिघटनाको हास्यास्पद सारांश हो गाईजात्रा । काठमाडौँ लगायत देशैभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति र जमघट रहन्छ । पछिल्ला समयमा 'सिस्नु पानी नेपाल'ले गाईजात्रा विशेष कार्यक्रममा राजनैतिक व्यक्तित्वलाई डाँकेर आम नागरीकहरूको बिचमा उनीहरूकै सामु उनीहरूकै राम्रा र नराम्रा पक्षहरू सबले सुन्ने गरी, देख्ने गरी व्यङ्ग्यात्मक अभिनयसहितको वास्तविक चित्र कोर्ने गर्दछन् । यस्ता गाईजात्रा विशेष कार्यक्रमहरू १० देखि १५ दिनसम्म चल्दछन् । टिभी, रेडियो र पत्रपत्रिकासम्म यस अवधिभर गाईजात्रामय हुने गरेका छन् । यसपालाको गाईजात्रा सप्ताहमा पनि राजनैतिक नेतृत्वका असक्षमता, परनिर्भरता, लम्पट वाद लगायत भर्खरै भएका र आगामी चुनावका प्रसङ्गले महत्त्व पाउनेछन् । खाडी देखि अमेरिका, युरोप लगायत जापानसम्म, नेपालीहरू जहाँ जहाँ छन् त्यहाँ त्यहाँ गाईजात्रा विभिन्न स्वरूप र प्रारूपमा मनाइन्छ ।

    काठमाडाैँमा भने भदाै १५ गते शुक्रबार सुपारु अर्थात गाईजात्रा मनाइने भएको छ र सो दिन काठमाडाैँ महानगरपालिकामा सार्वजनिक बिदा हुनेछ ।

    रोपाइँ जात्रा

    के रोपाइँ जात्रा नयाँ जात्रा हो ?
    गाईजात्राको भोलिपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकाल बाट चलिआएको हो । उतिखेरको समृद्ध राज्यहरूमा कृषिलाई विशेष दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको सुरुवात गरेको मानिन्छ । विशेषतः चैत्य, बहाल र टोलका फलैँचाहरूमा आजका दिन स्थानीयहरू भेला भएर यस जात्रा मनाउने चलन छ ।

    रोपाइँ जात्राको पृष्ठभूमि
    कृषिप्रधान हाम्रो देशमा हरेक वर्ष मनसुनको व्यापक महत्त्व रहने गर्दछ। कतै पर्याप्त पानी पर्‍यो र कतै पानी नपरेर रोपाइँका चुनौतीहरू बढे, कतैका किसान दाजुभाइ दिदीबहिनी खुसी भए भने कतैका किसान दाजुभाइ दिदीबहिनीलाई रोपाइँ सोचेजस्तो रूपमा नहुँदा पिर, चिन्ता र मानसिक तनाव बढ्यो। तर, कतै ढिलो कतै चाँडो, कतै सजिलै त कतै थुप्रै कठिनाइहरू सामना गर्दै धान रोपाइँ भइरहेको छ। हाम्रो कृषिप्रधान देशको किसानहरूको सबै भन्दा ठुलो चाड रोपाइँ सकिएको उपलक्ष्यमा आजको दिन खुसीयाली स्वरूप देशका विभिन्न स्थानमा रोपाइँ जात्रा मनाइन्छ।

    काठमाडौँ बाहिरको रोपाइँ जात्रा
    तर फेरि रोपाई जात्रालाई काठमाडौँ केन्द्रमा मात्र राखेर ब्याख्या गर्दा अपुरो हुन्छ । कोसी किनार, कनकाई किनार देखि कर्णाली र महाकाली किनार सम्म विभिन्न तवरमा यस जात्रा मनाइन्छ । कर्णाली किनारमा यस जात्रालाई चोपाई भनिन्छ, कतिपय ठाउँमा रोपाई सेकपछिको अवसरलाई भुमेपाथी पनि भनिन्छ । रोपाई र दाउन अर्थात् वाली भित्राउँदा एकएकपटक भुमेपाथी मनाउने चलन छ ।

    नेवा: समुदायमा रोपाइँ जात्रा
    विशेष गरि नेवा: समुदायले मनाउन सुरु गरेको रोपाइँ जात्रा देशैभर सबैको उत्सव बनेको हो। नेपाल भाषामा रोपाइँ जात्रालाई "सिनाज्या जात्रा" भनिन्छ। देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक फरक ठाउँमा फरक फरक तरिकाले मनाइने पाइएको छ। कर्णाली अञ्चलमा भने यस जात्रालाई "चोपाइ" भनिन्छ। त्यहाँको स्थानीय भाषामा "चोपाइ" भनेको चोप्नु हो। आजको दिन सबै टोलका मानिसहरूले आआफ्नो गाउँ ठाउँमा विभिन्न बाजाहरू बजाउँदै धान रोपे जस्तै गरेर नृत्य गर्ने गरेका छन्। खेतालाहरू जम्मा भएर बाजा बजाएर रोपाइँका गीतहरू गाउँदै नाच्दै धान रोपेको खेतमा पुगेर रमाइलो गर्ने गर्दछन्। आजको दिन धान खेतको असली मालिकलाई खेत भित्र हिलोमा डुबाउनुपर्छ भन्ने मान्यता पनि धेरै ठाउँमा रहेको छ।

    यस कृषि प्रधान देशका सबै दाजुभाइ दिदीबहिनीलाई आजको दिनको विशेष शुभकामना। आजको दिनको हर्ष आउँदा वर्षहरूमा थप बढ्दै जाओस् ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.