"असारे मासमा धान रोपेझैँ खेतमा आउ हामी पिरती रोपौँ न"
"असारे मैनामा पानी पर्यो रुझाउने"
यस्ता धेरै जनमनमा लोकप्रिय गीत अनि नेपाली जीवनशैली सबैभन्दा व्यस्त मध्येको एउटा महिना हो अषाढ । कृषी अनि कृतीको पर्याय यो महिना एउटा प्रेरक महिना पनि हो । अषाढ संक्रान्तिबाट सूर्य पनि मिथुन राषिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मिथुन संक्रान्ति भनिन्छ । अनि के छ त ? गाँउघरमा मकै गोड्ने काम सकिने बेला भएन र ?
कतै कतै त कलिला दूधे मकै पोलेर खाने बेला नि भइसके होला ? 'वनकर' अर्थात् बाँदरहरुले मकै बारी गिजोलेर किसानहरूलार्इ अत्यन्तै दुःख दिन्छन्, यता मकैको रेखदेख उता धान रोप्ने र बिऊँ जोगाउन भ्यार्इ न भ्यार्इ, वास्तवमा अषाढ त किसानहरूकालागि फुर्सतले नभ्याउने हम्मे-हम्मे नै पर्ने महिना हो ।बादलहरुले आकाशमा एकछत्र राजगर्ने बेला भइसक्यो अनि यी बादलको वर्षाबाट जोगिन घरको छानो र बलेसी नचुहीने पारेर तयार बस्न जरुरी छ ।
तराइमा भने अबको केहि महिना स्थानीय जातीका सिमसारे माछाको महिना हो, खेत खलिहानमा जमेका पानीहरुमा हुर्कने पोठिया, चेंग्रा र गरर्इ, केवर्इ, कोतरा जस्ता माछाहरु तराइमा विशेषतः पाइने स्थानीय जातका माछाहरू लोकप्रिय छन् । नदी, नहर, पोखरी तथा बाँधहरूमा प्रसस्त मात्रामा यो बेला घोँघी, हरीयो घोँघा, गँगटा अनि ईल अर्थात साँप जस्तो देखिने बाममाछाहरू भेटिन्छन्, स्थानीयहरू त्यसलार्इ संकलन गरी घरघरको चुल्होमा फरक स्वाद भर्दछन् । यस महिना घुमराडी ओढेर, धानको बिऊँ रोप्दै अनि खेतको आलीमा परालको आगो सल्काएर माछा र गँगटाहरु पोलेर खाने चलन तराइमा अझै छ ।
त्यसो त पहाड तिर पनि रोपाईमा खेतधनीको घरबाट खेतालालाई पठाईएको बाक्लो पिठोको रोटी, भुटेको मकै, भटमास, तिलको छोप या गुन्द्रुकको अचार र अरिमठ्ठेको खोर्सानी छुस्स टोकेर खानुको आनन्द अभुतपूर्व रहन्छ । असारे पानीको हिलोमा धान रोप्दा या बाटामा हिँड्दा पनि हिलोले औँला खाने हुन्छ, यस महिनामा सरसफाई र आहार विहारको पनि विशेष महत्व हुन्छ । उता बारीमा फर्सी, भिण्डी, साग लगायत अन्य तरकारीहरु लहलहाउन थालेका होलान्, ए साँच्चै ! अषाढमा जुकाहरुको विशेष भय रहन्छ, विचार गरौँ है हरियो परियोबाट पाइला चाल्दा कतै जुकाहरु हाम्रो शरीरमा टाँसिने त हैनन ?
मिथुन संक्रान्तिबाट शुरु हुने अषाढ महिनामा केहि विशेष पर्वहरु पर्दछन् । अषाढको कृष्ण पक्षको अष्टमीमा पशुपतिनाथ मन्दिरमा त्रिशुल जात्रा गरिन्छ । त्यसैगरी अषाढ शुक्ल द्वितीयामा जगन्नाथ रथयात्रा निकालिन्छ । अषाढ शुक्ल दशमीबाट चार महिनासम्म चतुर्मास व्रत प्रारम्भ हुन्छ । ल अब यस वर्षको असारमा स्वागत छ, हामीसबैलाई । बर्षाको यो विशेष महिनामा बेलाबेला झ्यालबाट आउने बाछिटाले चिस्यान नल्याओस्, बलेसीका माटाहरु बगेर नजाउन, मानो रोपेर मुरी उब्जनी होस् ! जय होस् !!
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: