राष्ट्रिय परिचयपत्र भएकाले अब लाइसन्स बोकिरहन नपर्ने व्यवस्था?

राष्ट्रिय परिचयपत्र भएकाले अब लाइसन्स बोकिरहन नपर्ने व्यवस्था?

bbc.com . १५ दिन अघि

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र यातायात व्यवस्था कार्यालयले राष्ट्रिय परिचयपत्रमै सवारी चालक अनुमतिपत्रको विवरण समावेश गर्न प्राविधिक कार्य भइरहेको बताएका छन्।

सवारी चालक अनुमपतिपत्रहरूको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम सकिएपछि सवारी चालक अनुमतिपत्र नै बोकिरहनुपर्ने बाध्यता नहुने अधिकारीहरूको दाबी छ। तर यातायात ऐनमा सवारी चालक परिचयपत्रको छुट्टै व्यवस्था भएका कारण लाइसन्सको छपाइको काम भने नरोकिने यातायात व्यवस्था कार्यालयले जनाएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको राष्ट्रिय परिचयपत्र शाखाका निर्देशक मुकेशकुमार केशरीले आगामी एक महिनाभित्रै देशभरिबाट जारी भएका सवारी चालक अनुमतिपत्रहरूको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम सक्ने गरी काम भइरहेको बताए।

जन्म दर्ता गराउँदा नै अब राष्ट्रिय परिचय नम्बर, किन यस्तो गरिदैँछ

ई-पासपोर्टका लागि अनिवार्य बनाइएको यो परिचयपत्र लिन के गर्नुपर्छ, नागरिकताभन्दा कसरी फरक छ?

“राष्ट्रिय परिचयपत्र देखाइसकेपछि प्रहरीले त्यसमा भएको कोड स्क्यान गरेर त्यसमा सवारी चालक अनुमतिपत्रको सूचना पनि हेर्न सक्छन् र त्यही आधारमा जरिबाना पनि गर्न सक्छन्,” उनले भने।

“राष्ट्रिय परिचयपत्रको अवधारणा नै राज्यको एकमात्र परिचयपत्र बोक्ने हो। त्यो भए अरू बोक्न पर्दैन भन्ने अवधारणा अनुसार काम भइरहेको छ।”

अब पेन्सन र सामाजिक सुरक्षाका लागि पनि अनिवार्य

राहदानी बनाउने बाहेकका काममा प्रयोगमा नआएको राष्ट्रिय परिचयपत्रलाई अब पेन्सन र सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

अहिले करिब एक खर्ब नौ अर्ब रकम सामाजिक सुरक्षा भत्तामा खर्च हुँदै आएको छ। तर सरकारी सेवाबाट अवकाश पाएर पेन्सन लिइरहेका कतिपय व्यक्तिहरूले पनि सामाजिक सुरक्षा भत्ता लिइरहेको र त्यसलाई रोक्न नसकिएको गुनासो हुने गरेको छ।

“राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने हो भने सामाजिक सुरक्षा भत्तामा मानिसहरूले दोहोरो बुझिरहेको एक अर्ब बच्ने हाम्रो अनुमान छ,” केशरी भन्छन्।

राष्ट्रिय परिचयपत्र: तपाईँको सूचना कति सुरक्षित?

कपालको रङ्ग विवादको केन्द्रमा

यसको कार्यान्वयन पहिलो चरणमा आगामी आर्थिक वर्षबाट २८ जिल्लामा सुरु गर्ने तयारी रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ।

“राजपत्रमा सूचना प्रकाशित गरेर यसको कार्यान्वयन गर्नेबारे छलफल भइरहेको छ,” केशरीले भने।

सामाजिक सुरक्षा भत्ताको नवीकरण साउन १ गते गर्ने प्रचलन छ।

छापिएका छैनन् १ करोड बढी राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार नेपालमा हालसम्म १ करोड ४८ लाख जना नागरिकले राष्ट्रिय परिचयपत्र दर्ता गरिसकेका छन्। तर राष्ट्रिय परिचयपत्रको छपाइ भने ३६ लाख मात्रै हुँदा अझै एक करोड १२ लाख मानिसहरूको परिचयपत्र बनिसकेको छैन। बनेका पनि अधिकांशले यस्तो परिचयपत्र अनिवार्य नभएका कारण सरकारी निकायबाट आफ्नो परिचयपत्र लिएका छैनन्।

अहिले दैनिक १८ हजार प्रति राष्ट्रिय परिचयपत्र छपाइ हुने गरेको र अब परिचयपत्र लिन लामो समय पर्खनु नपर्ने विभागको दाबी छ।

सरकारले परिचयपत्र दर्ता गर्दा दिइने राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा सरकारी सेवा लिन सकिने सुविधा दिँदै आएको छ। परिचयपत्र दर्ता गर्ने क्रममा राखिएको बायोमेट्रिकको विवरण विद्युतीय प्रणालीमा राखिएका कारण त्यसबाटै सरकारी निकायहरूले व्यक्तिको जानकारी लिनसक्ने व्यवस्था मिलाइएको अधिकारीहरू बताउँछन्।

अहिले नयाँ राहदानी बनाउन र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ। राहदानी विभागले परिचयपत्रको त्यही विवरणका आधारमा राहदानी रुजु गर्दै आएको छ।

असी हजार जनताको हातमा राष्ट्रिय परिचयपत्र, गोपनीयताको चिन्ता उस्तै

ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, कहाँबाट कसरी लिने

यसअघि धेरै निकायमा परिचयपत्र अनिवार्य नभएका कारण मानिसहरूले चासो नलिएको विभागका अधिकारीहरू स्वीकार गर्छन्।

“परिचयपत्रको उपयोगिता अहिलेसम्म नदेखिएको कारणले धेरै जनाले लिन आइरहनुभएको छैन। हामीले अब केही समयभित्रै राजपत्रमा सूचना प्रकाशन गरेर परिचयपत्र बोकेपछि नागरिकता नै बोक्न नपर्ने भनिरहेका छौँ,” केशरी भन्छन्।

सिम कार्ड लिन, ब्याङ्क खाता खोल्न र अन्य कामका लागि पनि राष्ट्रिय परिचयपत्र भए पुग्ने व्यवस्था गर्न लागिएको विभागको दाबी छ। प्यान कार्ड र स्वास्थ्य बीमा प्रणालीलाई पनि यो कार्डमा एकीकरण गरिसकिएको र छिट्टै मतदाता परिचयपत्रलाई पनि यसमै समेट्न तयारी भइरहेको  विभागले जनाएको छ।

अनिवार्य गर्दा पर्ने अप्ठ्यारो

राष्ट्रिय परिचयपत्रमा दर्ता हुन बाँकी मानिसहरूको सङ्ख्या अझै धेरै रहेको र छापिएकामध्ये पनि अधिकांशले यस्तो परिचयपत्र नलिएका कारण यसको प्रयोग अनिवार्य गर्दा मानिसहरूलाई वृद्धभत्ता, एकल महिला भत्ता, अपाङ्गता भएका व्यक्तिहरूलाई दिइने भत्ता लगायतका सामाजिक सुरक्षा सुविधा लिन झन्झट हुनसक्ने कतिपयको बुझाइ छ।

ललितपुरको क्योन्जोसोम गाउँपालिका-२ का वडाध्यक्ष रोहन घलान तामाङ यस्तो परिचयपत्र अनिवार्य गर्दा पर्ने अप्ठ्यारोबारे हालैमात्र आफूहरूले कार्यपालिका बैठकमा छलफल गरेको बताउँछन्।

“हाम्रो वडामा पनि परिचयपत्रको टोली आएर विवरण लिए पनि परिचयपत्र आइसकेको छैन। कतिपय बूढाबूढीको अझै बनाउन बाँकी छ उनीहरूलाई यो बनाउन समस्या हुने हो कि जस्तो देखिन्छ,” उनले भने।

“यसले सामाजिक सुरक्षा भत्ताको दुरुपयोग रोक्न चाहिँ सहयोग नै हुन्छ होला।”

स्मार्ट लाइसेन्स: यही गतिमा पास भएकाहरूको लाइसेन्स वितरण गर्न 'वर्षदिन लाग्ने'

के नेपालमा स्मार्ट लाइसेन्सको विकल्प खोजिएको हो?

विभागका निर्देशक केशरी कार्ड बनाउन बाँकी रहेका मानिसहरूलाई सकेसम्म छिटो यसमा समेट्न विभागले घुम्ती टोली पनि परिचालन गरिरहेको बताउँछन्।

“नेपालमा राष्ट्रिय परिचयपत्र भइसकेपछि अहिले सबै सुविधा पाउनुहुन्छ। कार्ड नभएका मानिसहरूलाई पनि वडा वडाबाट पनि कार्ड वितरणका लागि टोली खटाउँछौँ,” केशरीले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.